ठेक्का भएको १० वर्षसम्म बनेन पुल, भजनीवासीलाई डुंगाकै भर – Nepal Press

ठेक्का भएको १० वर्षसम्म बनेन पुल, भजनीवासीलाई डुंगाकै भर

कैलाली । राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकअन्तर्गत कैलालीको कान्द्रा नदीमा ठेक्का भएको १० वर्ष सम्म पनि पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुनाले कैलालीको दक्षिणी क्षेत्रका नागरिकको कष्टकर दैनिकीमा सुधार आउन सकेको छैन ।

कान्द्रा नदीमा ३० महिनामा पुल बनाउने भन्दै लामा, साल्पा-शेर्पा र बिरुवा जेभीले २०६८ जेठ ३१ गते ठेक्का पाएको थियो । डिजाइन नमिलेको भन्दै सुरुआती ३० महिना त काम नै भएन ।

पहिलो पटकको सम्झौता अनुसार २०७० मंसिर ३० गते सम्म पुल तयार हुनुपर्ने थियो । तर त्यसपछि पनि पटक पटक समय थप गर्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

२०७२ मा डिजाइन परिवर्तन गरेर पुसबाट पुनः ३० महिनाको समय पाएको कम्पनीले त्यो समय सीमा भित्र पनि काम सम्पन्न गर्न सकेन ।

दोस्रो पटक थप गरिएको समय २०७५ असार २५ गते सकिएको हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर पदमबहादुर मडैले जानकारी दिए । उनले सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनमा टेकेर थप एक वर्ष समयसीमा दिइएको जानकारी दिए ।

‘त्यो बेलासम्म सम्पन्न नगरे कारबाही हुने थियो,’ उनले भने ‘नवौं संशोधनमा थप एक वर्ष समय दिने उल्लेख भएपछि थपिएको हो ।’

त्यो बेलासम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको थियो । सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनमा अनुसार समय पाएको कम्पनीले २०७७ फागुन १ गते सम्म पुल तयार गर्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीले यो अवधीमा पनि निर्माण सम्पन्न हुन सकेन ।

ठेकेदारले कोरोना महामारीका कारण पुल निर्माण गर्न नसकिएको बताएपछि पुनः ६ महिना थप गरिएको छ । अन्तिम पल्ट थप दिइएको समयसीमा यहि साउन मसान्तमा सकिँदैछ ।

हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मडैका अनुसार हाल पुल निर्माणको काम ७१ प्रतिशत मात्रै सम्पन्न भएको छ । काम अझै २९ प्रतिशत बाँकी छ । निर्माण कम्पनीले फेरि ६ महिना समय माग गरेको उनले बताए ।

‘दोस्रो लहरको कोरोनाका कारण काम प्रभावित भएको भन्दै पुनः ६ महिना समय माग गरिएको छ,’ उनले भने ‘यो अन्तिम समय हो । यो समयमा काम सम्पन्न नभए जरीवाना तिरेर पनि काम पूरा गर्नुपर्छ । नत्र कालोसूचीमा राखिन्छ ।’

गाउँलेलाई डुंगाको भर

कुल चार करोड ४३ रुपैयाँमा ठेक्का पाएको निर्माण कम्पनीले म्याद थप गर्दै जाने र निर्माणमा चासो नदेखाउँदा भजनी नगरपालिका–३, ४, ५ र ८ का वासिन्दाले आवतजावतमा सास्ती भोगिरहनुपरेको छ ।

पक्की पुलमा सुरक्षित ढंगले यात्रा गर्ने यहाँका नागरिकको रहर एक दशकसम्म पनि पूरा भएको छैन । नदीमा पक्की पुल नहुँदा डुंगामा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय आरती चौधरीले बताइन् ।

‘पुल नहुँदा सबैभन्दा बढी वर्षामा दुःख झेल्नुपरेको छ,’ उनले भनिन्, ‘ यो बेला हामी ज्यानको बाजी लगाएर डुंगामा वारपार गर्छौं ।’

हिउँदमा काठे पुलहरू प्रयोग हुँदै आएका यी स्थानमा वर्षामा ती पुल पनि बगाइदिने गरेको छ ।

‘पुल नभएका हामीलाई नदी तर्न निकै समस्या छ । सबैलाई अप्ठ्यारो छ । नदी तर्न डुंगा तर्नुपर्ने समस्या छ,’ स्थानीय सीताराम चौधरीले भने, ‘बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या छ । कहिलेकाहीँ राति पनि हिँड्नुपर्ने हुन्छ । राति कसरी डुंगा चढ्नु रु निकै दुःख छ ।’

ठेकेदार र हुलाकी कार्यालयको लापरबाहीले पुल निर्माण हुन नसकेको भजनी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीको आरोप छ । वडा कार्यालयबाट आफूहरूले पुल निर्माणका लागी समन्वय गर्दा पनि हालसम्म निर्माणको काम अधुरै रहेको उनले बताए ।

निर्माण कम्पनी नै कालोसूचीमा

एक दशक पहिले लामा, साल्पा-शेर्पा र बिरुवा जेभीले कन्द्रा पुलको ठेक्का पाएका थिए । उनीहरुले ठेक्का पाएपछि पुल निर्माणको काम भने विकास झाले गर्दै आएका थिए ।

उनले २०६७ साल सम्म उक्त पुल निर्माणको काम गरिरहेका गरे । निर्माणमा प्रगति नभएपछि ठेक्का पाएका मध्ये बिरुवा जेभीले त्यसयता काम गर्दै आइरहेको छ । अन्य दुई निर्माण कम्पनीमध्ये लामा कालोसूचीमा परिसकेको छ भने साल्पा–शेर्पा खरिद बिक्री भइसकेको छ ।

डोल्पा-१ बाट प्रतिनिधिसभामा निर्वाचित एमालेका सांसद धनबहादुर बुढाले साल्पा-शेर्पालाई हिमाली निर्माण सेवा बनाएका हुन् । उनी केपी ओली नेतृत्वको सरकारमा पर्यटन राज्यमन्त्रीसमेत बनेका थिए ।

दुबै साझेदार निर्माण कम्पनीले हात झिकेपछि बिरुवा जेभीले आफै काम थालेको हो ।

‘हामीले निकै ताकेता गरेपछि निर्माणको ठेक्का पाएकाबाटै निर्माण कार्य भइरहेको छ,’ हुलाकी सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर मडैले भने, ‘अहिले पनि हामीले चासो दिइरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर