तुइनबाट खसेका धामीको ड्रोनबाट खाेजी गरिने – Nepal Press

तुइनबाट खसेका धामीको ड्रोनबाट खाेजी गरिने

दार्चुला। महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई  खाेज्न सुरक्षा निकायले ड्रोनकाे प्रयाेग गर्ने भएकाे छ । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखे पनि अहिलेसम्म शव नभेटिएपछि ड्रोनको प्रयाेग गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको हाे ।

सुरक्षाकर्मीले व्यास गाउँपालिका दुई मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले नेपाल प्रेसलाई जानकारी दिईन । सरकारले गठन गरेको छानबिन समितिले एकपटक ड्रोन क्यामरामार्फत शव खोजी गर्ने जनाएको छानविन समितिको सदस्य समेत रहेकी भट्टले बताइन् ।

छानविन समितिको छानविन पनि जारी

साउन १९ गते खलङ्गा पुगेको सरकारी उच्चस्तरीय छानबिन समितिले पनि छानविनलाई निरन्तरता दिइरहेको छ । समितिका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोनमार्फत धामीको शव खोजी गर्ने तयारी भइरहेको नेपाल प्रेससँग बताए । सशस्त्र प्रहरीले आफुसँग भएका सबै प्रविधि र सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम जारी राखे पनि अहिलेसम्म शब नभेटिएको सशस्त्र प्रहरी बल नम्बर ४४ नम्बर गणले जनाएको छ ।

छानविन समितिका संयोजक गौतमले ड्रोन क्यामरा लिएर सुरक्षाकर्मीको टोली दार्चुला पुगिसकेको बताए । उनले नेपाल प्रेससँग भने, ‘हामीले सूचना संकलन गर्ने कामसँगै नदीमा बेपत्ता धामीको शव खोजी पनि जारी राखेका छौ ।’ उनका अनुसार समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ ।

साउन १७ गते सरकारले गठन गरेको उच्च स्तरीय छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसिमा दिएको छ । गृह मन्त्रालयका सहसचिव गौतम संयोजक रहेको छानबिन समितिमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेशका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।

एक साताअघि दार्जुला पुगेको छानविन समितिले नेपाल र भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरिसकेको जनाएको छ । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको समितिका संयोजक गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर