भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी – Nepal Press

भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदैछ ।

आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रवार नै दर्ता गराएका थिए ।

यसैबीच खतिवडाकै इजलासमा लुम्बिनीका जसपाले पदमुक्त गराएका तीन प्रदेशसभा सदस्यहरुको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको छ ।

एमाले नेतृत्वको सरकारमा सहभागी भएका विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले कारवाही गरी पदमुक्त गराएको छ ।

उनीहरू आफूहरूमाथिको कारवाही गैरकानूनी भएको भन्दै अन्तरिम आदेश माग्दै अदालत गएका थिए । यसअघि दुईपटक स्थगित भएको मुद्दामा आज सुनुवाइ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर