आरक्षणसम्बन्धी सर्वोच्चको व्याख्या प्रगतिशील रहेको जनमोर्चाको ठहर, कार्यान्वयन गर्न माग – Nepal Press

आरक्षणसम्बन्धी सर्वोच्चको व्याख्या प्रगतिशील रहेको जनमोर्चाको ठहर, कार्यान्वयन गर्न माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले हालै सर्वोच्च अदालतले आरक्षणसम्बन्धी मुद्दामा गरेको फैसलालाई स्वागत गरेको छ । फैसलाको कार्यान्वयन गर्न पार्टीले सरकारसँग मागसमेत गरेको छ ।

सर्वोच्चले आरक्षण जातीय आधारमा नभइ वर्गीय आधारमा हुनुपर्ने फैसला सुनाएको थियो । उक्त फैसलाको स्वागत र विरोध गर्ने क्रम जारी रहँदा जनमोर्चा समर्थनमा उत्रिएको हो ।

‘सर्वोच्च अदालतले आरक्षणसम्बन्धमा सकारात्मक र प्रगतिशील प्रकारले व्याख्या गरेको छ र त्यसअनुसार कार्यान्वयन गर्न पनि उत्प्रेषणसहितको आदेश गरेको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिन्छौं र तीनलाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौं,’ पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्पष्ट र सही कानूनको अभावमा अहिले पनि आरक्षणको सुविधाप्राप्त जाति, क्षेत्र वा समुदायहरुका उच्च र सम्पन्न तप्काहरूले नै पटक-पटक फाइदा उठाउने गरेको विज्ञप्तिमा उल्लेख छ । तिनका निम्नवर्गीय वा लक्षित समुदायहरूलाई यो आरक्षण सुविधाबाट कुनै खास फाइदा नपुगेको जनमोर्चाले बताएको छ ।

‘त्यो स्थितिमा त्यसप्रकारको आरक्षण सुविधाहरू प्रदान गर्दा ‘मानव विकास सुचकाङ्क’ को आधारमा आरक्षण दिनुपर्ने सर्वोच्च अदालतले गरेको व्याख्या सही छ, विश्वका धेरै देशहरुले यही तरिका अपनाएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

जनमोर्चाले दलित, जनजाति, लैंगिक वा अन्य कतिपय पिछडिएका जाति, जनसमुदाय र क्षेत्रहरुका बारेमा संविधानमा गरिएको आरक्षणको व्यवस्थालाई कायम राख्नुपर्ने उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर