‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्न निषेध हो ? – Nepal Press
ब्लग

‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्न निषेध हो ?

गर्न नसकिने र हुँदै नभएका आकाश–जमिनका गफ चुटेर जनतालाई रनभुल्लमा पार्ने नेपाली राजनीतिको बाह्रमासे रोगै हो । केपी ओली सरकारले नै यो कुरालाई पुष्टि गरिसकेको छ ।

केपी समूह मात्र होइन, आफ्नो सस्तो लोकप्रियताका लागि भए–नभएका कथा उनेर प्रचार गरेर नथाक्ने र अरुको दुष्प्रचार गर्ने प्रवृत्तिले राजनीति ग्रसित छ । एकाथरी जमात समाज र राष्ट्रका लागि ‘यीनै पो हुन् कि क्या हो’ भन्ने भ्रम छर्न एक हदसम्म सफल पनि छन् । अर्काथरी साँच्चै गर्नेहरु भने गरेका कामको पनि प्रचार नपाएर केही पनि नगरे जस्तो पात्रका रुपमा प्रचारित भइरहेका छन् । अर्थात् उनीहरु छायाँमा परेका छन् ।

अवसर पाएका बेला देश, जनता, लोकतन्त्र र जनजिविकाको सवालमा उभिने नेता को हुन्, को होइनन् ? भन्नेमा ठूलै भ्रम पनि छ । सामान्य रुपमा सत्य चिज के हो भन्ने जानकारी नहुँदा आम जनमानस रनभुल्लमा छ । हुन त भ्रमको खेती गर्नेहरु हिरो हुने तर वास्तवमै काम गरेकाहरु गुमनाममा पारिने संसारकै रीत हो ।

सूचना र प्रविधिमा आएको क्रान्तिका कारण विश्व नै एउटा ग्राम भइसकेको आजको दुनियाँमा झन् को भन्दा को बढी ? भन्ने होड नै चलेको छ । तर भए गरेका कामको यथोचित प्रचार नभएर वास्तविक पात्र ओझेलमा परिरहेको छ । एक हिसाबले यस्ता सत्पात्रमाथि न्याय भइरहेको छैन । कामको यथोचित प्रचार नहुँदा ‘गर्ने भन्ने हनुमान, पगरी गुथ्ने ढेडु’ को अवस्था छ ।

आजको नयाँ जमानामा सामाजिक संजालको विकासले सिटिजन पत्रकारिताको समेत विकास भएको छ । मूलधारका राष्ट्रिय मिडियाभन्दा सामाजिक संजालमार्फत् आममानिसहरु सूचना र संचारको पहुंचमा सजिलै जोडिन पाएका छन् ।

अनलाइन माध्यमलाई छिटो र सजिलो सूचना प्राप्तिको मुख्य माध्यमका रुपमा लिइन्छ । फेसबुक, ट्वीटरमार्फत् मिडियाको पेजबाट तथा भाइबर, ह्वाट्सएप मार्फत् पनि पाठकको पहुँचमा पुर्याउन सकिने भएका कारण सहज पनि भएको छ । यो ज्यादै सकारात्मक पक्ष हो । सँगसँगै पुष्टि नभएका झुट विवरणहरुको माध्यमवाट आमजनसमूहलाई ‘कुसुचित’ गर्ने काम पनि सामाजिक संजाल मार्फत् नै भइरहेको छ । सामाजिक संजालको प्रयोग सबैले एकैढंगले गर्छन् भन्ने पनि होइन ।

निजी र सार्वजनिक रुपमा सामाजिक संजालको प्रयोग भइरहेको देखिन्छ । आफ्नो व्यक्तिगत जीवनका विभिन्न सामग्रीहरु सामाजिक संजालमा पोष्ट गरेर परिचितहरुसँग निरन्तर सम्पर्कमा रहने माध्यमका रुपमा सामाजिक संजालको प्रयोग गर्ने त सामान्य कुरा नै भयो । सार्वजनिक जीवन, सामाजिक, राजनीतिक तथा समसामयिक बिषयमा बहस या सूचना प्रवाहका लागि सामाजिक संजालको प्रयोगले क्रान्तिकारी छलाङ नै मारेको छ ।

पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बिषयमा पनि सामाजिक सञ्जालमा आएका सामग्रीलाई लिएर फेसबुक र ट्वीटरमा विभिन्न ढंगले सकरात्मक र नकारात्मक दुवै खालका टिकाटिप्पणी चलेका छन् ।

विगतका कामकारबाही, गतिविधिको विषयलाई लिएर खिसीटिउरी भए । विगतमा गरेका राम्रा कामहरुको सामाजिक संजालमार्फत प्रचारप्रसार गर्ने प्रयास शुरुभएको मात्र के थियो, अरिङ्गालकै गतिमा एकैसाथ झम्टिने काममा मिडियाहरु पनि प्रयोग भएका छन् ।

यस्तै काम कुनै विदेशीले गर्दा प्रशंसा गर्ने हाम्रा मिडिया आफ्नै प्रधानमन्त्रीले विगतका गरेका कामलाई सार्वजनिक गर्दा र कसैले उहाँको यो काम मन पर्छ भन्दा प्रपोगाण्डको रुपमा नियतवश टिप्पणी भइरहेको छ ।

प्रधानमन्त्रीका बिषयमा ‘के तपाइलाई थाहा छ ?’ र ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…’ भन्ने दुई डिजिटल सामग्री सार्वजनिक भएका छन् । शीर्षकमा देउवाका महत्वपूर्ण घोषणा, भनाइ र विगतका कामकारवाहीको सूचना आम जनमानसमा प्रेषित गरिएको छ ।

जहाँ यसअघि चार पटकसम्म प्रधानमन्त्रीको हैसियतमा देउवाले गरेका राम्रा काम के थिए ? आम जनमानसले देउवाको विगतलाई कसरी सम्झेका छन् ? ती विषयवस्तुलाई आमजनताकै शब्दमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

जसको उद्देश्य देउवाको सार्वजनिक जीवनसँगै उनले गरेका कामबारे सर्वसाधारणलाई जानकारी होस् भन्ने नै होला । यी सामग्री हेर्दा देउवाविरुद्ध प्रचारित भ्रम निवारणका लागि पवित्र उद्देश्य राखेर नै यो काम शुरु भएको आभास हुन्छ । सँगसँगै असंख्य व्यक्तिले सामाजिक संजालमा राम्रो मानेर प्रतिकृया जनाइरहेका छन् ।

तर पाँचपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिको विगतका पाटाहरुलाई थाहा दिलाएर सुसूचित गर्ने कामको पनि किन यो हदसम्मको निम्छरो विरोध चलिरहेको छ ? प्रधानमन्त्रीको विगत नागरिकले थाहा पाउनै नहुने हो र ?

विरोधका लागि विरोध र गालीका लागि गाली गर्ने हो भने त यसको उपचार छैन ।

हुन त देउवा राजनीतिमा स्थापित भएको देखिनसहनेहरु कांग्रेसभित्रै छन् । राम्रा काम भए भने राति निद्रा पर्ने औषधि खानुपर्ने जमात पार्टीभित्रै पनि बाक्लै छ । राम्रा पक्षको उजागर हुँदा चैनको निद्रा नपर्नेलाई सम्झाइबुझाइ गरेर पनि पार लाग्ने कुरा छैन । देउवाको पुनरोदयमा आफ्नो भविष्य असुरक्षित देख्ने स्वार्थी समूह नतिलमिलाएको होला भन्ठान्न पनि सकिँदैन । यसको उपाय पनि केही देखिँदैन । बाह्रमासे खटिरासरी बेला न कुबेला चिलाइरहने तत्व हुन् यी । यस्ता तत्वको पिछा गरेर या खण्डन गरेर हुनेवाला पनि केही छैन । फेरि स्यालहुईयाँमा बहकिएर भाका मिलाउने र आफू फोकटको टट्टु बनेको थाहा नपाउने अर्को जमातको पनि यहाँ कमी छैन ।

सामाजिक संजालमा प्रधानमन्त्रीले विगतमा गरेकै कुरालाई प्रचारै गर्न नहुने कारण के ? आम नागरिकले भनेका कुरा सामाजिक संजालमा राख्दा किन टाउको दुखाई ? कोही नागरिकले शेरबहादुर देउवालाई किन मन पराउन नपाउने ? अहिले सार्वजनिक भएको भिडियो र अन्य सामग्री कुनै प्रपोगाण्डा होइन, यो वास्तविकता हो । गलत भए फ्याक्ट चेक गरे भैहाल्यो नि !

फेरि आकाशै खसेझैं गरी स्याल हुइँया मच्चाउनेहरुलाई यतिसम्म मात्र भन्न सकिन्छ – कठै विचरा !

हुनलाई सतहमा हेर्दा सामाजिक सञ्जालको टिकाटिप्पणी जस्तो देखिए पनि गहिरिएर हेर्दा अन्तर्यमा यो विरोधको पछाडि एउटा मात्र कारण देखिन्छ
देउवालाई विभिन्न आरोप लगाएर पटक–पटक अवसर पाउँदा पनि कामै गर्न नसकेको भन्ने मिथक स्थापित गर्ने र जनमानसमा भ्रम फिंजाउने तत्वहरु अहिले फेरि सक्रिय भएको देखिन्छ ।

देउवाको देवत्वकरण गर्ने कुरा यहाँ भएकै होइन, तर उहाँले गरेका कामहरु जनतालाई सम्झाउने काम भने भएको हो । इतिहासका कतिपय तथ्यहरुलाई जस्ताको तस्तै राख्ने सकारात्मक प्रयास मात्र भएको छ । अनि देउवालाई अक्षम सावित गर्न भइरहेका दुस्प्रचारलाई रोक्न यस्ता प्रयासले साँच्चै सकारात्मक सन्देश दिने नै उद्देश्य देखिन्छ ।

पार्टीभित्रकै केही नेताहरु देउवाको व्यवस्थित सचिवालय र मिडिया टिम भएको हेर्न नचाहने छन् । केही नेताहरुलाई देउवाले विगतमा गरेका कामहरु फेरि आउन थाले भने आफ्नो राजनीतिक भविष्य नदेख्ने पनि छन् । अहिलेको डिजिटल दुनियाँमा प्रचारप्रसार गर्ने शैली यस्तै नै हो। आक्रमक, प्रभावकारी र व्यावसायिक रुपमा मिडिया टिमले काम गरेपछि त्यसलाई निस्तेज पार्न सक्रिय पार्टीभित्र र बाहिरको प्रभावमा मिडिया पर्नु हुँदैन । कसैले कसैलाई राम्रो भन्छ भने त्यसको विरोध गर्न मिडियालाई पनि सुहाउँदैन ।

यो प्रसङग चल्दै गर्दा इतिहासको एउटा प्रसंग उल्लेख गर्नु सान्दर्भिक नै होला । जब २०५९ सालमा जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम भनेर पदमुक्त गरे । जननिर्वाचित प्रधानमन्त्रीलाई राजाले यसरी बर्खास्त गर्नेमा वीपीपछि देउवा थिए । यो घटनाको सामान्य सत्य बुझ्दै नबुझी शेरबहादुर देउवालाई प्रजातन्त्र दरवारमा बुझायो भन्ने भ्रम र अफवाहको ठूलै खेती चल्यो । भित्र र बाहिरबाट यी सब चिज भए ।

जतिबेला देश तत्कालीन माओवादीको सशस्त्र विद्रोहका कारण व्याकुल थियो । संसद विघटन भइ नयाँ चुनावको मिति तोकिइसकेको अवस्था थियो । तर सबै राजनीतिक दल हिंसा र अशान्तिबीच चुनाव हुन सक्दैन भन्नेमा एकमत थिए । यहीं बेला सर्वदलीय बैठकले चुनाव सार्नुपर्ने निर्णय गरेर प्रधानमन्त्रीलाई चुनाव सार्न आग्रह गर्यो । नेपाली कांग्रेसवाट शुशील कोइराला र गोविन्दराज जोशी सर्वदलीय बैठकमा उपस्थित भए र कुनै पनि हालतमा चुनाव हुन नसक्ने भएकाले चुनाव सार्नुपर्ने भन्दै गिरिजाबाबु र त्यतिखेरको कांग्रेस संस्थापनको दूतको रुपमा कुरा राखे ।

त्यसपछि सर्वदलीय बैठकको निष्कर्षका आधारमा चुनाव हुन नसक्ने भन्दै देउवाले राजा समक्ष सार्नुपर्ने प्रस्ताव गरे । त्यसपछि ‘देउवाले लोकतन्त्र दरवारमा बुझायो’ भन्ने मिथक स्थापित गर्न पार्टीभित्रकै एउटा समूह ज्यान छाडेर लाग्यो । जबकि देउवालाई वित्थैमा बदनाम गराउने खेल भयो । देउवालाई घानमा हालेर पानीमाथिको ओभानो देखिने तिकडमहरु चले । र, आज पनि निरन्तर चलिरहेकै छ ।

के यी र यस्ता भ्रम निवारण गरेर देउवालाई न्याय दिनु जरुरी छैन ? देउवाले सबै विगारेको भनेर प्रायोजित रुपमा थोपरिएका मिथ्या आरोप आजिवन बोकेर हिंडिरहनुपर्ने हो ? यस्ता लाञ्छनाको वस्तुनिष्ट जवाफ, भ्रम र वास्तविकताको रहस्योद्घाटन अनि इतिहासप्रति न्याय त जरुर आवश्यक छ । सामाजिक सञ्जालमा दिन खोजिएको सन्देश यति मात्रै हो ।

नेपाली समाजमा अहिले यस्तो नकरात्मकता फैलाइएको छ कि, कसैको राम्रो वा भलो त देख्नै नसक्ने एउटा सानो जमात छ । जसले हाम्रा नेताहरु, समाजका राम्रा मान्छेहरुको राम्रो काम आएको देख्नै सक्दैनन् । तर देउवाले नपाली समाजमा केही सकरात्मक पनि भैरहेको छ भन्ने सन्देश डिजिटल माध्यामबाट दिन खोज्नु भएको छ, त्यो निकै सकरात्मक पहल हो । कसैको नियोजित विरोधमा तर्सिनुपर्ने कुनै कारण छैन।


प्रतिक्रिया

2 thoughts on “‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्न निषेध हो ?

  1. माधव नेपाललाई
    शेरबहादु देउवा मन पर्छ किनभने
    ओलीभन्दा देउवा गतिला, कम्युनिस्टभन्दा कांग्रेस संस्कारी’ रे!

  2. श्रीपेचबिनाकाे राजकुमार भन्ने जस्ता शब्दले बिच्याएकाे हुनु पर्छ । कमैया उन्मुलन,सामाजिक सुरक्षा ऐन ल्याउने जस्ता कुरा त राखेर प्रचार गर्दा त डाहा गर्ने ठाउँ हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *