टुक्रदैँ नागरिक उड्डयन प्राधिकरण, सेवा र नियामक निकाय फरक–फरक हुने – Nepal Press

टुक्रदैँ नागरिक उड्डयन प्राधिकरण, सेवा र नियामक निकाय फरक–फरक हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सेवा र नियामक निकाय गरी दुई संस्थामा विभाजन प्रक्रिया अघि बढेको छ ।

राष्ट्रसभाबाट सोमबार प्राधिकरणलाई ‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ दुई विधेयक पारित भएसँगै प्राधिकरण विभाजन हुने कानूनी प्रक्रिया अघि बढेको हो ।

अब उक्त विधेयक प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाबाट पारित भएपछि क्यान दुईफ्याक हुनेछ । त्यसपछि प्राधिकरण नियामक र सेवाप्रदायक निकाय गरी दुई अलग–अलग निकायमा बाँडिनेछन् । अहिले प्राधिकरणले अन्तर्राष्ट्रिय नियमविपरीत एउटै निकायबाट सेवा र नियामक निकायको काम गर्दै आएको छ ।

राष्ट्रियसभाबाट विधेयक पारित भएसँगै प्राधिकरणले दुईवटा नियामक निकाय सञ्चालनका लागि चाहिने कानूनको जोहो गर्न लागेको बताउँछन् प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री । ‘ऐन मस्यौदाको अन्तिम तयारीमा पुगेको छ । अब प्रतिनिधिसभाले पारित गर्नसाथ हामी दू्रत गतिमा दुई संस्था बनाउने काममा अघि बढ्नेछौं,’ उनले भने । यसैगरी, दुईवटा संस्था भएपछि नयाँ कार्यालय राख्नका लागि क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भवन पनि निर्माण गरिरहेको छ ।

प्राधिकरणलाई दुईफ्याक बनाउने प्रयास गरिएको ११ वर्ष भयो । कहिले कर्मचारीको विरोध त कहिले संसदभित्रको अवरोधले प्राधिकरण टुक्रिन सकेको छैन ।

यसअघि प्राधिकरणलाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने गरी सन् २०१० मा विधेयकको मस्यौदा तयार गरिएको थियो । सन् २०१५ देखि यो विधयेक संसदभित्र अलपत्र थियो । ५ वर्षदेखि अलपत्र परेको विधेयक मस्यौदा गत वर्षमात्र संसदमा टेबल गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले २०७६ फागुन ११ मा विधेयक राष्ट्रियसभामा दर्ता गराएका थिए ।

नेपालले नागरिक उड्डयन प्राधिकरण सेवा र नियामक निकाय दुवैको जिम्मा दिन नहुनेमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को पनि दवाव छ । आइकाओले नेपालको उड्डयन क्षेत्रको अनुगमन गर्दा सेवा दिने र नियामक निकाय एउटै हुनु नहुनेमा जोड दिंदै आएको छ ।

ईयूले यसै विषयलाई पनि इस्यू बनाएको क्यानको भनाइ छ । युरोपेली संघ (ईयू) ले नेपालको उड्डयन क्षेत्रलाई २०१३ देखि नै कालोसूचीमा राख्दै आएको छ ।

क्यानलाई फुटाउने बनाइने भनिएसँगै कर्मचारीले यसको विरोध गर्दै आएका छन् । विशेषगरी तल्लो तहका कर्मचारी असन्तुष्ट छन् । अहिले पनि उनीहरु क्यानलाई मथिल्ला तप्काका केही कर्मचारीको स्वार्थका कारण दुईफ्याक बनाउन लागेको आरोप लगाउने गरेका छन् ।
अहिले क्यानमा १ हजार २२५ जना कर्मचारी छन् । प्रवक्ता क्षेत्रीका अनुसार क्यान दुईफ्याक बनेमा नियामनतर्फ १२५ जना र सेवातर्फ अन्य कर्मचारी बाँडफाँट हुनेछन् ।

प्रवक्ता क्षेत्रीका अनुसार अब बन्ने क्यानको दुईवटा संस्थामा विधेयकमा नै नाम छुट्याइएको छ । अब ‘नेपाल हवाई सेवा प्राधिकरण (एएसएएन) र ‘नेपाली नागरिक उड्डयन प्राधिकरण (सीएए नेपाल) सेवा प्रदायकको नियामनकारी निकाय हुनेछ ।

सेवाअन्तर्गत विमानस्थल निर्माण, स्तरोन्नति, ग्राउण्ड ह्यान्डलिङ, जहाज उडान तालिका स्वीकृत र उडान अनुमति, जहाज व्यवस्थापन र संचालन, हेलिप्याडसम्बन्धी मापदण्डलगायतका काम गर्नेछ ।

यसैगरी, नियामनकारी निकायअन्र्तगत सेवा प्रदायक संस्थाले कामको नियमन गर्नेछ । यसैगरी, वायुसेवा संचालन प्रमाणपत्रदेखि प्याराग्लाइडिङ, बेलुन, माइक्रोलाइट, अल्ट्रालाइटलगायत सञ्चालनको प्रमाणपत्र दिने काम गर्नेछ ।

सेवा र नियमनको जिम्मेवारी फरक–फरक संस्थाले पाएपछि नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट हट्ने विश्वास छ, प्रवक्ता क्षेत्रीको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर