निगमको कानून शाखामा कर्मचारीको तालाबन्दी, प्रमाण नष्ट गर्न खोजेको आशंका – Nepal Press

निगमको कानून शाखामा कर्मचारीको तालाबन्दी, प्रमाण नष्ट गर्न खोजेको आशंका

काठमाडौं । नेपाल वायु सेवा निगमको काम ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी युनियनहरुले अदालतमा पेस गर्ने प्रमाण नष्ट पार्ने उद्देश्यले निगमको कानून शाखामा तालाबन्दी गरेका छन् ।

प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा तालाबन्दी गरेर निगमलाई ठप्प पारेका कर्मचारीहरूले शुक्रबार कानून शाखाका प्रमुख अशोक सिग्देलसहितका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन् ।

निगमका आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष ऋषिकेश पन्थीले कानून शाखामा तालाबन्दी गरेको र आइतवार कर्पोरेट तथा मानव स्रोत शाखामा ताला लगाइने बताए । निगमका प्रबन्धक निर्देशकले बाहिरबाट कानून व्यवसायी राखेर मुद्दा लड्ने भएपछि कानून शाखामा तालाबन्दी गरेको बताए ।

सर्वोच्च अदालतले साउन १० गते अन्तरिम आदेशमार्फत निगमलाई कम्पनीमा लैजाने निर्णय तत्काल कार्यन्वयन नगर्न भन्दै त्यस सम्बन्धी आवश्यक कागजातहरू मागेको थियो । सरकारले निगमलाई पव्लिक लिमिटेडमा लैजाने सम्बन्धी प्रतिवेदनहरु र आवश्यक प्रमाण अदालतमा पेश गर्न नसकोस् भनेर कर्मचारीहरुले तालाबन्दी गरेको बताइएको छ ।

निगम स्रोतले भन्यो, ‘प्रमाण नष्ट गर्ने उद्देश्यले हुलहुज्जतको शैलीमा कानून शाखामा तालाबन्दी गरिएको छ । निगमले कागजात पेश गरेमा मुद्दा हारिने भएकाले पनि हुन सक्छ । उनीहरुले आफैं ताला लगाएर प्रमाण नष्ट गर्न खोजेका हुन् ।’

तर, कार्यवाहक अध्यक्ष पन्थीले भने प्रमाण नष्ट गर्ने उद्देश्यले तालाबन्दी नगरिएको बताए । निगमकै कानून व्यवसायी हुँदा-हुँदै बाहिरका व्यक्तिलाई लिएर मुद्दा लड्न खोजेपछि ताला लगाइएको उनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर