प्रधानमन्त्रीको किचन क्याबिनेटमै किचलो – Nepal Press

प्रधानमन्त्रीको किचन क्याबिनेटमै किचलो

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ३ साता बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाको ‘किचेन क्याबिनेट’ मै किचलो बढेको छ ।

गठबन्धनमा न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट र पार्टीभित्र महाधिवेशन र भागबण्डाको तनावमा रहेका प्रधानमन्त्री देउवालाई आफ्नै निकटस्थहरूको ‘किचलो’ समेत मिलाउनुपर्ने झमेला आइलागेको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय समेत गठन गर्न सकेका छैनन् । देउवाको सचिवालयमा बस्न चाहनेहरूको सूचीमात्रै होइन स्वार्थसमेत बाझिन थालेको छ । सचिवालय गठन गरिनसक्दै निकटस्थहरूको विवादले बालुवाटारलाई तनाव दिएको छ । देउवा प्रधानमन्त्री भएसँगै सामाजिक सञ्जालमा उनको सक्रियता बढेको थियो ।

फेसबुक, ट्वीटर, इन्स्टाग्राम र भाइबरमा सक्रियता बढाएका देउवालाई सामाजिक सञ्जाललाई टाउको दुखाइको विषय बनेको छ । देउवाको अघोषित सचिवालयबाट ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने’ शीर्षकका भिडियो सार्वजनिक भएसँगै देउवाको ‘किचन क्याबिनेट’ मा किचलो शुरू भएको हो ।

देउवाको सचिवालयले उनको गुणगान गाउँदै बनाएको भिडियो सन्देश कांग्रेसवृत्तमा हाँसो र विवादको विषय बनेको समाचार सबैभन्दा पहिले नेपाल प्रेसले लेखेको थियो । त्यसयता थप २ भिडियो सार्वजनिक भए । जसमध्ये एकमा ललितपुरकी बेबी राजभण्डारीले देउवाकै पहलमा नेपालमा ‘महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको’ बताएकी छिन् । अर्को भिडियोमा माइती नेपालकी संस्थापक एवं वागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाले ‘देउवा चौबिसै घण्टा खटिने र सबैलाई रिझाउने’ स्वभाव मनपर्ने बताएकी छिन् ।

यी भिडियोबारे सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसैबीचमा देउवाका विश्वासपात्र मानिने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले नै प्रधानमन्त्रीको सचिवालयप्रति सार्वजनिकरूपमा कटाक्ष गरेका छन् । महामन्त्री खड्काले त प्रधानमन्त्रीको सचिवालयको कामलाई ‘गाईजात्रा’ भनी टिप्पणी गरेका छन् । ‘शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत शुरू गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, खड्काले फेसबुकमा लेखेका छन् ।

खड्का स्वयं सरकार सञ्चालमा सहयोग गर्न गठित सर्वदलीय कार्यदलका संयोजक हुन् । दिनहुँ बालुवाटार पुग्ने खड्काले सामाजिक सञ्जालमै प्रधानमन्त्रीको सचिवालयको कामको आलोचना गर्नुलाई कांग्रेसवृत्त ‘असमान्य घटना’ का रूपमा लिइएको छ । त्यस्तै प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले राम्रो काम गरे जनता वा पार्टी आफैले भिडियो बनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएका छन् । देउवाको ‘किचन क्याबिनेट’ कै दुई मुख्य नेताको आलोचना बालुवाटारभित्रै बढ्दो विवादको उदाहरण मात्रै हो ।

‘अरुले गरेको भए जे भने पनि हुन्थ्यो तर पार्टीको महामन्त्री र प्रवक्ताले नै प्रधानमन्त्रीको सचिवालयको कामबारे आलोचना गर्नु भनेको गम्भीर विषय हो । यो विषय बालुवाटारभित्रै सल्टिनुपर्ने थियो तर सार्वजनिक भएकाले विवाद चर्कै छ भन्ने बुझ्नुपर्छ’, देउवानिकट एक नेताले भने । ती नेताका अनुसार देउवा पक्षमा विगतदेखि नै ‘उपगुट’ हरूको द्वन्द्व भएपनि सत्तामा पुगेसँगै छताछुल्ल हुन थालेको हो । महामन्त्री र प्रवक्ताको टिप्पणीबारे पनि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अधिकांशले आफ्ना सभापति र प्रधानमन्त्रीलाई भेटेरै सुझाव दिनुको साटो किन सार्वजनिक गरियो ? भनेर प्रश्नसमेत गरेका छन् ।

प्रधानमन्त्रीको अघोषित सचिवालयमा सक्रिय रहेकाहरू भने केही व्यक्तिले अनावश्यक विवाद झिक्न खोजेको बताउँछन् । ‘हामी प्रधानमन्त्रीसँग सल्लाह गरेरै काम गरिरहेका छौ । कतिपयलाई प्रधानमन्त्रीको काम हामीले गरेको नै चित्त बुझेको छैन । त्यसैले हामीलाई गलत देखाउन दुष्प्रचार भइरहेको छ’, बालुवाटारमा सक्रियमध्येका एकले भने ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको गुट विगतमा झै ‘एकतावद्ध’ छैन । संस्थापन समूहमै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा.प्रकाशशरण महत लगायतको आ-आफ्नै उपगुट सक्रिय छन् । पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाणले समेत बालुवाटारको कामकारवाहीमा प्रत्यक्ष सरोकार राखेका छन् ।

‘अहिले बालुवाटारमा कसले प्रभाव जमाउने भन्ने लडाइँ छ । सबैलाई मैले नै शेरबहादुरलाई बनाएको भन्ने छ । प्रधानमन्त्रीले नै हस्तक्षेप नगर्ने हो भने बालुवाटारमा वितण्डा हुनसक्छ’, देउवा समूहकै एक नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर