बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै – Nepal Press

बार्सिलोनाको निर्णयबाट मेस्सी स्तब्ध ! अझै स्पष्टता खोज्दै

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी स्पेनिस क्लव बार्सिलोनाबाट मुक्त भएको खबरले विश्वव्यापी फुटबल जगतमा गतिलै तरंग ल्याएको छ । बार्सिलोनाको निर्णय मेस्सीकै लागि पनि अप्रत्याशित रहेको अर्जेन्टिनाका केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बार्सिलोनाले हिजो एक विज्ञप्तिमार्फत मेस्सीसँग नयाँ सम्झौता हुन नसक्ने घोषणा गरेको थियो । यसअघि मेस्सी र क्लव दुवै पक्ष जुलाई १ मा सकिएको सम्झौता नवीकरण गर्न तयार रहेको समाचारहरू आएका थिए । हिजो उनीहरूबीच सम्झौता हुने भनिएकोमा एकाएक क्लवको विज्ञप्ति आएपछि विश्वभरका मेस्सीका समर्थकहरू आश्चर्यमा परेका छन् ।

अर्जेन्टिनाबाट प्रकाशित हुने मुन्डो डिपोर्टिभोले क्लवको निर्णयबाट मेस्सी स्वयम् पनि विष्मयमा परेको उल्लेख गरेको छ । यद्यपि उनले अहिले कुनै सार्वजनिक वक्तव्य जारी नगर्ने समाचारमा जनाइएको छ । मेस्सीले बार्सिलोनाबाट अझै स्पष्टता चाहेका छन् ।

‘बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आज गर्ने पत्रकार सम्मेलनमा सबै विषय प्रष्ट्याउने मेस्सीको आशा छ,’ समाचारमा भनिएको छ, ‘उनी क्लवसँग संयुक्त वक्तव्य जारी गरेर आफ्ना समर्थकहरूलाई गुडबाइ भन्न चाहन्छन् ।’

मेस्सी गत बुधबारमात्र आफ्नो भ्याकेसन सकेर बार्सिलोनामा फर्किएका थिए । उनी क्लवसँग नयाँ पाँच वर्षे करार गर्नेमा ढुक्क थिए । दुई पक्षबीच केही मसिना कुराहरूमात्र सल्टाउन बाँकी रहेको बताइएको थियो । तर, परिस्थितिमा एकाएक उलटफेर भयो ।
समाचारमा आए अनुसार ला-लिगाको नियमले मेस्सी र बार्सिलोनाबीचको नयाँ करार रोकेको हो ।

अब कहाँ ?

बार्सिलोनाबाट अलग भएसँगै अन्य क्लवहरुले मेस्सीलाई आँखा लगाउन थालिसकेका छन् । हिजोसम्म उनले बार्सिलोना छोड्ने कसैको कल्पना नभएकाले क्लवहरूले कुनै पहल गरेका थिएनन् । तर, बार्सिलोनाका विज्ञप्ति आएसँगै चहलपहल शुरू भएको छ ।

मेस्सीलाई पहिलेदेखि आँखा लगाइरहेको एउटा क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) हो । बार्सिलोनाको निर्णय सार्वजनिक भएसँगै उसले मेस्सीसँग सम्पर्क गरिसकेको ट्रान्सफर गुरु फाब्रिजीओ रोमानोले दावी गरेका छन् ।

पीएसजीमा मेस्सीका अर्जेन्टिनी टिममेटहरू लियन्ड्रो पारेडस् र एन्जेल डिमारियाका साथै ब्राजिलका नेयमार पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *