माधव नेपाल उच्चस्तरीय सत्ता संयन्त्रको संयोजक कि एमालेको दोस्रो अध्यक्ष ? – Nepal Press

माधव नेपाल उच्चस्तरीय सत्ता संयन्त्रको संयोजक कि एमालेको दोस्रो अध्यक्ष ?

काठमाडौं । सत्तारुढ गठबन्धनका निर्णायक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बन्न प्रस्ताव गरिएको छ ।

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा गर्न गठित सात सदस्यीय कार्यदलले समेत सरकार सन्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सुझाव दिएको बेला त्यसको प्रमुखमा माधव नेपालको नाम प्रस्ताव भएको हो ।

प्रधानमन्त्री शेरवहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाललाई आफ्ना सांसद सरकारमा पठाउन र उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्न आग्रह गरेका हुन् ।

माधव पक्षीय केन्द्रीय कमिटी बैठक जारी रहेका बेला उनले आफू निकट नेताहरुलाई पनि यसबारे जानकारी गराएका छन् । तर पार्टी एकताको प्रयास वारपार नहुन्जेल सरकारमा सहभागी हुने र संयन्त्रको नेतृत्व गर्नेबारे निर्णय लिन नसक्ने नेपालले जवाफ दिएका छन् ।

प्रचण्ड र माधव नेपालबीचका पटक पटकका छलफलमा पनि यीनै विषयमा कुराकानी भएकाले उनलाई पर्खेरै मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । शनिवार वा आइतवारसम्म माधव नेपालले निर्णय दिने बताइएको छ ।

विहीवार आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा वरिष्ठ नेता नेपालले केपी ओलीले एमालेमा स्पेस नदिने बताएका थिए । उनले आफूहरुले लडेर जोगाएको संसद बचाउनुपर्ने र सत्तारुढ गठबन्धन कायमै राख्ने दायित्व समेत रहेको भन्दै उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्ने संकेत दिएका थिए ।

नेपाललाई स्थायी कमिटी सदस्यहरुले सत्ता गठबन्धन छाडेर एमाले एकतामा उभिन दबाब दिएकाले उनले केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । केन्द्रीय सदस्य र सांसदहरुको ठूलो पंक्ति सरकारमा जानुपर्ने र केपी ओलीलाई अध्यक्ष मानेर एकता गर्न नसकिने पक्षमा छ ।

तर नेपाल निकट केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने सरकारमा जाने सम्भावना नरहेको बताए । उनले एमाले एकताको विकल्प नरहेकाले नेतादेखि तलसम्मका कार्यकर्ताको राजनीतिक जीवनको सुरक्षा हुने गरी पार्टी एकताबद्ध गर्नुपर्ने लाइनमै माधव नेपाल रहेको दावी गरे ।

त्यो भनेको बराबरी अधिकारसहितको अध्यक्ष माधव नेपाललाई बनाउनुपर्ने बटमलाइन हो । विधानमा दुई अध्यक्ष नभए पनि विधान महाधिवेशनबाट अन्तरिम व्यस्था गर्न सकिने र पहिलो दोस्रो भन्न नहुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

माधव नेपाल समूहका देशभरका नेता कार्यकर्ताको राजनीतिक सुरक्षाका लागि बराबरी अधिकारसहितको अध्यक्ष मागिएको उनले बताए । तर अध्यक्ष ओलीले नेपाललाई आफू बराबरको अधिकारसहित अध्यक्ष मानेर एकता गर्ने सम्भावना नरहेको विश्लेषण नेपाल पक्षको छ ।

ओलीले अघिल्लो केन्द्रीय कमिटी बैठकमा पार्टी एक हुन्छ भने माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका थिए । यसबीचमा विघटित कार्यदलका नेताहरुले पनि दोस्रो अध्यक्ष बनाएर एमाले एकता जोगाउने प्रयास गरिरहे पनि सफल भएको छैन ।

अध्यक्ष ओली र माधव नेपाललाई भेटाएर पावर शेयरिङमा दुई नेताबीच सहमति जुटाउने प्रयास समेत सफल नभएको बैठकमा भीम रावलले बताएका थिए ।


प्रतिक्रिया

One thought on “माधव नेपाल उच्चस्तरीय सत्ता संयन्त्रको संयोजक कि एमालेको दोस्रो अध्यक्ष ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर