अनलाइन सेवा उद्घाटन गराउन यातायात कार्यालय नै बन्द गराइएपछि सेवाग्राही मर्कामा – Nepal Press

अनलाइन सेवा उद्घाटन गराउन यातायात कार्यालय नै बन्द गराइएपछि सेवाग्राही मर्कामा

सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले आज सवारी दर्ताको विद्युतीय प्रणालीको उद्घाटन गर्यो । तर, उद्घाटन कार्यक्रमको बहानामा १ बजेदेखि नै कार्यालय बन्द गराइएपछि सेवाग्राही मर्कामा परेका छन् ।

कार्यालयले सूचना निकालेर सबै सेवा बन्द गराएको हो । फलस्वरुप कार्यालयमा विभिन्न काम लिएर आएका सेवाग्राही रित्तो हात फर्केका थिए ।

‘म रुट परमिट लिन दिउँसो साढे १२ बजे पुगेको थिएँ । तर त्यहाँका कर्मचारीले आज अनलाइन उद्घाटन गर्ने भनेर काम बन्द भएको बताए,’ वीनपा ९ लाटीकोइली सुर्खेतका नविन शाहीले नेपालप्रेसलाई भने, ‘म कार्यालय प्रमुख आनन्द चपाईकहाँ पनि पुगेँ । उहाँले पनि कार्यालय बन्द भएको जानकारी दिएपछि म फर्केँ ।’

जाजरकोटको भेरी नगरपालिका ७ का कमल विश्वकर्माले व्लुबुक नविकरण गर्न पाएनन् ।

यातायात व्यवस्था कार्यालयको गेटमै भेटिएका विकले भने, ‘आजै घर फर्कने योजना थियो, अब आज यतै होटलमा बास बस्नुपर्ने भयो ।’

अनलाइन उद्घाटनको बहानामा काम रोकिएकोमा उनको असन्तुष्टि छ ।

विकले भने, ‘विहान वा बेलुका उद्घाटन गरे पनि हुन्थ्यो । तर दिउँसो टाढाबाट आएका सेवाग्राहीलाई सेवा नदिएर फर्काउनु दुख हो ।’

आज सेवा लिन आएका तीस जनाभन्दा बढी सेवाग्राही घर फर्केको एक कर्मचारी बताउँछन् ।

‘हामीले विहान वा बेलुका समय मिलाएर कार्यक्रम गरौं भनेर भनेका थियौं तर प्रमुखले मान्नु भएन,’ नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले भने, ‘सेवाग्राहीलाई सास्ती नदिऔं भनेको हो, तर उहाँहरुले दिउसै कार्यक्रम गर्ने भनेर सूचनासमेत निकाल्नु भयो ।’

कार्यालय प्रमुख आनन्द चपाईले नयाँ प्रणालीको उद्घाटन गर्नका लागि आज एक बजेदेखि कार्यालय बन्द गरिएको बताए ।

‘एक जना कार्यालयमा आउनुभएको थियो, कतै तपाईंले त पठाउनु भएको होइन ? तपाईंकै जस्तो प्रश्न गर्दै हुनुहुन्थ्यो ?’ नेपालप्रेस प्रतिनिधिसँग चपार्इंले भने, ‘आज उद्घाटन भएको छ । भोली विहान १० बजेदेखि सबै काम सुचारु हुन्छ ।’ उनले सेवाग्राहीलाई परेको समस्याप्रति सूचना नै टाँस गरेर माफी मागिसकेको बताए ।

कार्यक्रमको उद्घाटन भौतिक विकास एवम् शहरी विकासमन्त्री अम्मरबहादुर थापाले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर