भूमि आयोग खारेजविरुद्ध सुर्खेतका सुकुम्बासी संगठित, आन्दोलन गर्ने चेतावनी – Nepal Press

भूमि आयोग खारेजविरुद्ध सुर्खेतका सुकुम्बासी संगठित, आन्दोलन गर्ने चेतावनी

सुर्खेत । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सुर्खेतमा सुकुम्बासीहरूले ५०१ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

वीरेन्द्रनगर-२ कोलडाँडामा पुस्तौंदेखि बस्दै आएका सुकुम्बासीहरूले लालपुर्जा पाउने अन्तिम तयारी भइरहेको समयमा सरकारले भूमि आयोग विघटन नै गर्नु गलत भएको बताउँदै दबाबका लागि समिति बनाएका हुन् ।

संघर्ष समितिका संयोजकमा मोहन सुनार छन् । समितिले भोलि वडा कार्यालयमा भूमि आयोगले सिफारिस गरे अनुसारको लालपुर्जा पाउँ भन्दै ज्ञापन पत्र पेस गर्ने तयारी पनि गरेको छ । ‘भूमि आयोगले हाम्रा समस्या समधानका लागि अन्तिम तयारी गरिसकेको थियो । केही महिनामा नै हामीले लालपुर्जा पाउने अवस्था आइसकेको थियो, ’ संयोजक सुनारले भने, ‘तर सरकारले आयोगका अहिलेसम्मका काम नै कामै नलाग्ने गरी खारेज गरेका कारण अब हामीले राज्यबाट कहिले लालपूर्जा पाउने भन्ने प्रश्न उब्जिएको छ । हामीलाई अरु भन्दा पनि लालपूर्जा चाहिएको छ । राज्यले हाम्रो माग सुनुवाइ गर्नुको साटो उल्टो हामीलाई तनाव दिने काम गरेको छ । यसको विरुद्धमा हामी आवाज उठाउँछौं ।’

सुकुम्वासी, भूमिहिनका माग पूरा गराउन आफूहरू आन्दोलन गर्न बाध्य भएको भन्दै संयोजक सुनारले भने, ‘अहिले हामीले वडा स्तरबाट आन्दोलन शुरू गरेका छौं । भोलिका दिनमा राज्यले हाम्रो माग सम्वोधन नगरेको खण्डमा यो आन्दोलनलाई जिल्लाभरि विस्तार गर्ने योजना बनाएका छौं । आधा लाख भूमिहिनका माग प्रति सरकार गैरजिम्मेवार बन्न पाइदैन ।’ सरकारले भूमिहीनका मागलाई बेवास्ता गर्दै चरम राजनीति गरेको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर