भिडियो भाइरल भएपछि वडाअध्यक्ष नेपाली पक्राउ, परिवारले दिएनन् जाहेरी – Nepal Press

भिडियो भाइरल भएपछि वडाअध्यक्ष नेपाली पक्राउ, परिवारले दिएनन् जाहेरी

सुर्खेत । एक युवकलाई सार्वजनिक स्थानमा कुटपिट गरेको भन्दै जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय जाजरकोटले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ ।

साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको समयमा वडाध्यक्ष नेपालीकै भतिजा पर्ने सर्पे दमाईले मदिरा सेवन गरी होहल्ला गरेका थिए । वडाध्यक्ष नेपालीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तर, नियन्त्रणमा लिने क्रममा बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो पनि पढ्नुहोस् :

मदिराले मातेका सर्पेलाई वडाध्यक्षले यसरी लिए नियन्त्रणमा (भिडियो)

भिडियो भाइरल भएसँगै वडाध्यक्ष नेपालीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक षडानन्द अधिकारीले नेपाल प्रेससँग भने, ‘भिडियो बाहिरिएसँगै हामीले स्थलगत निरीक्षण पनि गरेका थियौं । सर्पे नेपालीले मापसे गरेको, होहल्ला गरेको र गालीगलौज पनि गरेका रहेछन् । तर अध्यक्ष नेपालीले उनलाई प्रहरीको जिम्मा लगाउनुको साटो आफैले हातपात गरेको, डोरीले बाँधेको देखियो । मदिरा सेवन गरेर कसैले होहल्ला गरेपनि वडा अध्यक्ष नेपालीले आफैं कारवाही गर्ने अधिकार छैन । उहाँले कानून हातमा लिने प्रयास गर्नुभयो ।’

सार्वजनिक स्थानमा त्यस्तो हर्कत गर्न नहुने अधिकारीको भनाइ छ । यद्यपि अहिलेसम्म सर्पेको परिवारले जाहेरी नदिएको उनले बताए ।

‘पीडित परिवार उहाँकै आफन्त रहेछन् । उहाँहरूले जाहेरी दिन मान्नु भएको छैन । उहाँहरुलाई आज सदरमुकाममा बोलाएका छौं । उहाँहरुलाई हामी काउन्सिलिङ गर्छौं । यदि उहाँहरुले जाहेरी दिन मान्नुभएन भने पनि कानूनी प्रक्रिया हामी अगाडी बढाउँछौं,’ अधिकारीले भने ।

सामाजिक सञ्जालमा आएको भिडियोलाई नै आधार मानेर प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *