मेरो खास करिअर अब सुरु भयो, फेयरवेलको इच्छा छैन – Nepal Press

मेरो खास करिअर अब सुरु भयो, फेयरवेलको इच्छा छैन

रिजर्भ स्वभावका पारस खड्का हम्मेसी आफ्नो निजी जीवनबारे खुल्दैनन् । क्रिकेटका बारेमा जति पनि गफिन तयार हुने उनी जब व्यक्तिगत प्रश्न आउँछ, मौन बनिदिन्छन् ।

हिजो अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर समर्थकहरुलाई खिन्न बनाएका पारस आज पत्रकारमाझ पेश भए  । आजको सवालजवाफ भने उनको निजी जीवनमा केन्द्रित रह्यो । खासगरी आफ्ना भावि योजनाहरुबारे पारस खुलेर प्रस्तुत भए ।

खेलाडीका रुपमा १७ वर्षसम्म क्रिकेटमा योगदान दिएका पारस अब व्यवस्थापनमा उक्लिने मनस्थितिमा छन् । उनले आफ्नो यो मनस्थितिलाई आज पत्रकारमाझ स्पष्टसँग राखे । साथै, अन्य केही योजनाहरु पनि सुनाए ।

प्रस्तुत छ, नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारससँग पत्रकारको सवाल-जवाफः

अहिले एकाएक क्रिकेटबाट सन्न्यास लिनुको कारणबारे बताइदिनुस न ?

मैले दुई बर्ष अगाडी कप्तानी छोड्ने बेलामा पनि अब क्रिकेट खेल्नेकी नखेल्ने भनेर मनमा आएको थियो । दश बर्षसम्म नेपाली राष्ट्रिय क्रिकेट टोली मेरो नेतृत्वमा रहयो । त्यसैले टोलीलाई केही सहयोग हुन्छ भनेर दुई बर्ष टोलीमा बसेँ ।

मैले धेरै सोचेर यो निर्णय लिएको हुँ । त्यत्तिकै सुतेर उठ्दा ‘ल, क्रिकेट नखेलौँ अब’ भनेर हैन । मलाई क्रिकेटले सबै कुरा दिएको छ । पहिचान, माया, शुभचिन्तकहरु र आशिर्वाद पाएको छु । यो सबै कुरा हुँदाहुँदै मैले यो सही समय हो भनेर नखेल्ने निर्णय लिएको हुँ ।

अहिले युवा टोली छ । ओडिआईको म्याद दुई बर्ष बाँकी छ । यो दुई वर्षको समय टोलीलाई तयार पार्न एकदम उपयुक्त समय हो । र, मेरो भुमिका भनेको एकदमै फरक तरिकाले हुन सक्छ अब । क्रिकेट खेलाडीहरुसँग राम्रो सम्वन्ध छ । अहिले पनि उनीहरुलाई चाहिने सहयोग, प्रशिक्षण म जुनसुकै बेला पनि दिन सक्छु । त्यो बाहेक, म क्रिकेटबाट टाढिएको हैन र टाढिने पनि छैन । मेरो भूमिका मात्रै फरक हुने छ ।

लामो समय क्रिकेट खेल्नुभयो, अहिले यस्तो निर्णय लिँदा दिमागमा के आउँदो रैछ ? परिवारसँग सल्लाह गर्नुभयो कि ?

म परिवार, क्रिकेट टिमको साथिभाई सबैको साथ र सहयोगबिना यहाँ आइपुग्दिन थिएँ । यो सबै कुरा हुँदाहुँदै पनि क्रिकेटलाई चाहिँ मैले आफ्नो निर्णय भनेर छुट्याएको छु । अरु सबै कुरा म साथिभाई, परिवारले भनेको मानुँला, तर क्रिकेट चाहिँ आफ्नै हिसाबले अगाडी बढाउँदै आएँ । मैले आफ्नै व्यक्तिगत हिसाबले यो निर्णय गरेको हुँ ।

मेरो श्रीमती, जसको मेरो पुरै क्रिकेट यात्रामा महत्वपूर्ण भुमिका छ, उनको र एक-दुई जना नजिकको साथिहरुको सल्लाह लिएको छु । परिवारसँग पनि कुरा त गरेँ, तर मैले उहाँहरुलाई सुचना मात्रै दिएँ । यो सोधिनँ कि अब क्रिकेट खेलौं या नखेलौँ । तर आफुलाई चाहिँ २४-४८ घण्टासम्म दिमागमा आउँदो रैछ, के गर्ने कसो गर्ने भनेर ।

मान्छेमा के छ भने पारस खड्का नै क्यानमा आउनुपर्छ, पारस खड्काले नै यो गर्नुपर्छ त्यो गर्नुपर्छ । तर, पारस खड्काले गर्दा मात्र यो टिम र क्रिकेट यहाँ आइपुगेको होइन । मलगायत अघि र पछिका खेलाडी, सरोकारवाला सबैको उत्तिकै भूमिका छ । आगामी दिनमा मेरो अनुभव र ज्ञानलाई एकै ठाउँमा ल्याएर नेपालका लागि केही गर्नुपर्छ भने म त्यसका लागि तयार छु ।

क्रिकेटबाट सन्न्यास लिएपछि तपाईंका आगामी योजनाहरु के छन् ?

मैले क्रिकेट छोड्दा कुनै प्लान बेगर यसरी नै छोड्छु भनेको थिएँ । तपाईहरुको मायाले गर्दा नै आज म यहाँ आएर आफ्नो कुरा राख्दैछु । मेरो उमेर अहिले ३३ हो । मैले धेरै अनुभव र ज्ञान हसिल गरेको छु । मैले साथी, क्याप्टेन र खेलाडी सबै भएर खेलेको छु । यसैले अब त्यत्रो पिर लिनु पर्दैन ।

अब के त अगाडि भन्ने कुरा हो । म आगामी दिनका लागि एक्साइटेड छु । पहिल्यैदेखि राम्रोभन्दा राम्रो गर्न सकुँ भन्ने नै हो । अहिले अन्तराष्ट्रिय क्रिकेट यात्रा सकिएको छ । आगामी दिनमा पनि बाटो सजिलो भने छैन । तर, अहिलेसम्म जसरी मलाई यतिले माया गर्नुभएको छ, आगामी दिनमा पनि गर्दिनु हुनेछ भन्ने अशा लिएको छु । साथै नेपालको क्रिकेटलाई सबैले सहयोग गर्नु नै हुनेछ भन्ने मलाई लागेको छ ।

अहिलेको खेलाडीसँग एक्स्पोजर बढी छ । र, ट्यालेन्ट पनि बढी नै छ । हामीले उनीहरुलाई मिलाएर ‘पुस’ गर्ने हो भने रिजल्ट राम्रो निकाल्न सक्छौं । मेरो लागि चाहिँ राम्रो सिस्टम भइदिएको भए हुन्थ्यो ।

मेरो सपना हो नेपालले टेस्ट स्टाटस पाओस् । तर, यो मेरो सपना मात्र भएर हुँदैन । यसमा पूरा मेहनत चाहिन्छ । यसमा टिमको ‘पर्फमेन्स’ भएर मात्र पुग्दैन, हाम्रो स्ट्रक्चर पनि सम्हाल्नु पर्छ । भोली गएर मेरो भूमिका धेरै हुन सक्छ । त्यो भूमिकामा म आफै बाँध्न कोशिस गर्नेछु । मेरो पर्फमेन्सभन्दा टिमको पर्पमेन्सलाई हेनु पर्छ ।

तपाईले बारम्बार क्यानमा आउने भन्नुभएको छ, तपाई किन क्यानमा आउन चाहनु हुन्छ ?

म २००९ मा टिमको क्याप्टेन भएँ । त्यसको एक-डेढ वर्षपछि मलाई पोजिसनको महत्व अनुभव भयो । यो पोजिसनमा के-के गर्न सकिन्छ भन्ने आफूलाई पनि आइडिया भयो । मलाई लाग्यो कि हुनसक्छ भोली क्रिकेट संघको भूमिकामा आउन सकियो भने केही गर्न सकिन्छ । म क्रिकेट खेलाडी भएकाले आगामी दिनमा के गर्ने भन्दा क्रिकेट व्यवस्थापनमा योगदान गर्न सक्छु ।
भोली म गएर क्रिकेट संघको पदाधिकारी हुँला, तर म मात्र भएर पुग्दैन । अहिलेको क्रिकेट स्टेकहोल्डर को-को हुनुहुन्छ उहाँहरुले पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने छ । यो बाटो कठिन पनि र सजिलो पनि छ । सबैजना आएर क्रिकेटलाई अघि बढाउने भनेर राम्रो ‘स्ट्राटेजी’ बनाउने हो भने मलाई लाग्छ धेरै कुरा अझै गर्न सकिन्छ । सबै मैले भनेका कुरा हुनुपर्छ भन्ने पनि छैन । वादविवाद हुनसक्छ । कति कुरा फेल हुन सक्छन् । कति कुरा सही हुन सक्छन् । तर, व्यवस्थापनले सपोर्ट गर्ने हो क्रिकेट अझ राम्रो हुनेछ ।

क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको क्षण कत्तिको गाह्रो भयो ?

गाह्रो त हुन्छ नै । मलाई याद छ हामी विहानै खेलिरहेका थियौं । म कहिल्यै पनि जित्दा ग्राउण्डमा कुदेको थिइँन । तर, त्यस दिन कुदेँ । मेरो त खेल जीवन त्यो प्रतियोगिताबाट सकिदै थियो । त्यसैले गाह्रो त हुन्छ नै ।

मेरो सबैभन्दा ठूलो उपलब्धी नै सबैको माया पाउनु हो । यो विश्वासलाई म खेर जान दिन्न । हाम्रो देशमा पनि अहिले खेल मन पराउने जमात ठूलो भइसकेको छ र, स्पोट्र्स मिडिया पनि छ । हाम्रो देशका विभिन्न खेललाई ग्रुमिङ गर्ने हो र मिडियाले कभरेज गर्ने हो भने देशको खेल पनि निकै माथि पुग्नेछ ।

खेलबाट पनि हामीले देशलाई चिनाउन सक्छौं । क्रिकेट जहिल्यै पनि राम्रो होस भनेर लडिरहने छु । ठ्याक्क दुई वर्षपछि क्यानको चुनाव छ । अन्तर्राष्ट्रिय क्रिकेट छोडेको दुई वर्ष पुगेपछि चुनाव लड्न पाइन्छ ।

पूर्वखेलाडीलाई विश्वभरि नै अवसर नै छन् अहिले । कोचिङका अवसर छन् । कमेन्ट्री पनि गर्न सकियो । व्यवस्थापनमा आउन सकियो । राम्रो खेलाडी भयो भने राम्रो व्यवस्थापक हुन्छ भन्ने चाहिँ छैन । राम्रो काम गर्नु प¥यो । मेरो इच्छा भनेको नेपालमा चारैतिर क्रिकेट फैलियोस भन्ने हो । हाम्रो स्कुल, कलेजदेखि प्रदेशलगायतका जुन–जुन तहहरु छन्, त्यसमा क्रिकेट रेगुलर र व्यापक तरिकाले हुनुपर्छ । यसका लागि क्यानमा आएर हुनसक्छ वा क्यान बाहिर बसेर हुन्छ, यसैलाई राम्रो गर्नु पर्यो ।

क्रिकेटमा केही गर्छु भनेर अघि बढ्ने हो भने मलाई लाग्छ राम्रो गर्न सकिन्छ । यदि मलाई कसैले जिम्मेवारी दिन्छ भने म राम्रोसँग काम गर्न सक्छु । मसँग निकै इमोसन र मिहिनेत छ ।

राष्ट्रिय क्रिकेट छोडेपछि तपाईंले सबैभन्दा बढी के मिस गर्नुहुन्छ ?

क्रिकेट टिमभित्रको वातावारण, एकआपसमा भएको रमाइलो मिस गर्नेछु । सबैले हाम्रो बाहिरको परफरमेन्स मात्र हेर्नुहुन्छ । तर, त्योभन्दा पनि भित्र धेरै रमाइलो हुने गर्छ । त्यहाँ यति धेरै सम्झनाहरु छन् ।

ट्राई सिरिजमा म घाइते भएँ तर नेपालले राम्ररी खेल्यो । यो ब्राण्डको क्रिकेट पनि खेल्न सक्ने रहेछौं जस्तो लाग्यो । मसँग धेरै सम्झनाहरु छन् ।

तपाईंले सन्न्यास घोषणा भएपछि क्रिकेट संघसँग केही कुराकानी भयो ?

मैले क्यानको सोसल मिडिया पोष्ट देखेँ । मैले क्रिकेट संघलाई नराम्रो देखाएर क्रिकेट छोडेको होइन । यो मेरो व्याक्तिगत निणर्य हो । भोली म क्रिकेट व्यवस्थापनमा आएँ भने सबैसँग मिलेर काम गर्नुपर्छ । मैले संघलाई इमेल लेखेर जानकारी गराइदिए । मलाई अध्यक्षले फोन गरेर पुनर्विचार गर्नुहुन्छ कि भन्नु भएको थियो ।

योभन्दा अघि मैले क्याप्टेन छोड्दा पनि पुनर्विचार गर्ने प्रस्ताव राख्नु भएको थियो । तर, म आफू कुनै पनि निर्णय गर्नुअघि धेरै नै सोचविचार गर्ने किसिमको मानिस भएका कारण मेरो निर्णय फिर्ता लिइनँ । अहिले पनि मैले गलत गरेँ वा सही भन्ने कुरा समयले बताउँला ।

तपाईंसँग दुई वर्ष खाली समय छ, त्यसलाई कसरी सदुपयोग गर्नुहुन्छ ?

म त अहिले सानो तरिकाले स्टार्ट गर्दैछु । एक–दुई महिनामा क्रिकेट एकेडेमी लन्च गर्न लागेको छु । अबको ३–४ वर्षमा अधिराज्यभरि नै यसलाई लिएर जाने योजना छ । सात प्रदेश छन् । यतिधेरै जिल्ला छन् । ठाउँ-ठाउँमा गएर क्यानको प्रतिनिधिहरुसँग कुराकानी गरेर स्कुल लेभल क्रिकेट प्रतियोगिताहरु आयोजना गर्ने विषयमा पहल गर्नेछु । अहिलेको लागि अरु धेरै ठूलो सोच छैन । एकेडेमीलाई राम्रो तरिकाले सञ्चालन गरुँ भन्ने हो ।

भोलीको दिनमा पारस खड्कालाई राजनीतिमा दैख्ने सम्भावना चाहिँ कति छ ?

(मुस्काउँदै) मलाई क्रिकेटरका रुपमा, क्याप्टेका रुपमा, पोजिसनमा पुगेपछि कति कुरा गर्न सकिन्छ भन्ने भित्र फिल भएको हो । आगामी दिनमा अवसर आउँछ भने ह्वाइ नट ? तर त्यो अवसर त्यतिबला लिन्छु जब क्रिकेट व्यवस्थापनलाई एउटा ठाउँमा पुर्याउन सकेँ भने ।

क्रिकेट बाहेकको राजनीतिक लाइनमा सही अवसर आयो भने सोच्न सक्छु । म कुनै संस्था, पार्टीसँग जोडिएर नेपाललाई कुनै तरिकाले ‘भ्यालु एड’ गर्न सक्छु भने म तयार छु । तर अहिलेका लागि मेरो प्राथमिकता क्रिकेट नै हो ।

क्यानमा पनि राजनीतिक लविङ हुने गरेको छ । तपाईं क्यानमा आउनका लागि कस्तो रणनीति अपनाउनुहुन्छ ?

देशैभरि त्यस्तै राजनीति छ, क्यानमा मात्रै होइन । मैले त्यति लामो रणनीति सोचेको छैन । राजनीतिले हरेक क्षेत्रलाई प्रत्यक्ष–अप्रत्यक्ष छुन्छ । राजनीतिको राम्रो र नराम्रो पक्षलाई कसरी लिने भन्ने हो । सही राजनीतिले कुनै संघ–संस्था वा व्यक्तिलाई सपोर्ट गर्छ भने स्वागत गर्नुपर्छ ।

तपाईहरुले धेरै पहिले ‘नयाँ क्यान’को बहस सुरु गर्नुभएको थियो । निलम्बनपछि क्यानमा परिवर्तनको अपेक्षा थियो, तर पूरा भएन । म व्यवस्थापनमा जान्छु भनिरहँदा आफूले बनाउन चाहेको व्यवस्थापनको अलिकति चित्र प्रस्तुत गरिदिनुस न ?

सबैभन्दा सरल तरिकाले वर्णन गर्दा जिल्ला, प्रदेश र केन्द्रमा संघ छ । जिल्लाबाटै क्रिकेटको सुरुवात गर्नुपर्छ । सबैजना केन्द्रले के गर्छ, कति फन्ड आउँछ, कसरी विभाजन हुन्छ भन्ने सोचले क्रिकेट संघ चलिरहेको हो । सात प्रदेशको हिसाबले प्रदेश र जिल्ला क्रिकेट संघलाई बलियो बनाउनुपर्छ । त्यो गर्ने हो भने धेरै कुरा आफैं समाधान हुन्छ । पुरै उलटफेर गर्नुपर्ने देख्दिनँ । भएका मान्छेलाई जिम्मेवार बनाउनुपरो । कामका आधारमा मूल्यांकन हुनुपर्यो । कुनै जिल्लाले राम्रो क्रिकेट प्रतियोगिता गर्छ भने उसलाई बढी फन्ड दिउँ । भएको सिस्टमलाई एक्टिभ गराउने हो भने अहिलेकै रिसोर्स पनि काफी हुन्छ । तर, एक दिन र दुई दिनको प्रयासले हुन्न । अठाेट चाहियो ।

तपाईंलाई अब घरेलु क्रिकेटमा कति देख्न पाइएला ?
डोमेस्टिक क्रिकेट खेल्न मन अझै छ । १० वर्षमा डोमेस्टिक क्रिकेटको परिभाषा नै चेन्ज भइसक्यो । लिगहरु खेल्ने अवसर धेरै छन् । म हेर्छु । मलाई लाग्छ अझै केही घरेलु क्रिकेट खेल्न सक्छु । त्यति ठूलो दायित्व नहोला । खेलिसकेपछि सिरियस त भइहाल्छ । कहिलेदेखि भन्न सक्दिनँ । तर, आगामी दिनमा खेल्छु होला जस्तो लाग्छ ।

ज्ञानेन्द्र मल्लले एउटा अन्तरवार्तामा भन्नुभएको थियो, पारस खड्का बाहिर रिजर्भ भए पनि एकदम रमाइलो गर्नुपर्ने स्वभावको हुनुहुन्छ । एकपटक त खेलाडीहरुले कम्बल ओढाएर कुटेका छौं । त्यो घटना सम्झिदिनुस न ?

हामी फाइनल जितेपछि सेलिब्रेट गर्छौं । त्यो मलेसियामा भएको डिभिजन ३ को फाइनलमा थियो । फाइनल जितेपछि राति १–२ बजेसम्म सेलिब्रेट गरिएको थियो । क्रिकेटरहरुले प्लान बनाएका रहेछन् । स्पिकरको ब्याट्री सकियो भनेर म रुममा गएँ । एकजना भित्रै रहेछ, सागर कि को हो । म भित्र जानासाथ खोइ कसले कम्बल ओढाएर कुटेको हो हँसिमजाक तरिकाले । एक दुई लात खाएको थिएँ ।

यस्ता रमाइला अनुभवहरुलाई किताबको रुपमा प्रकाशित गर्दै हुनुहुन्छ भन्ने चर्चा छ नि ?
छैन, छैन । आजसम्म छैन । इच्छा चाहिँ छ । जुन अनुभवहरु छन्, कति कुराहरु सेयर गर्न, भन्न नसकेको कुराहरु किताबमा लेख्न पाउँछु होला । जब हुन्छ, यहाँहरुलाई खबर गर्छु नै ।

क्रिकेट खेलेर कति पैसा कमाउनुभयो ?

मैले कति कमाएँ भन्दा पनि अवसरहरु अब धेरै छन । ब्रान्ड इन्डोर्समेन्टभन्दा पनि लिगहरुको आकर्षण नेपालप्रति छ । तर, लास्ट २ वर्षमा कोरोनाले गर्दा धेरै क्रिकेट भएको छैन । आगामी वर्षमा लिगहरुमा मौका आउँछ । त्यसमा आफूलाई स्थापित गर्ने हो भने राम्रो हुन सक्छ ।

त्यो सबै कुन बेला हुन्छ भने जब नेपालले जित्छ । कुनै खेलाडीले जितायो भने त्यो संसारको आँखामा पर्ने हो । त्यसैले नेपालले जितिराखोस ।

जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मिहिनेत गर्दै जाँदा धेरै मौकाहरु आयो । राम्रै छ मेरो लागि । तर, मैले मात्र केही पैसा कमाएर नेपालको क्रिकेट सफल भयो भन्न मिल्दैन । मभन्दा सन्दिप लामिछानेले नेम, फेम कमाउनुभएको छ । सबैका लागि अपर्चुनिटी छ । त्यो बाटोमा सबै खेलाडी लागुन् ।

टिम नेपाललाई केही भन्न चाहनुहुन्छ ?
भन्नुपर्ने केही छैन । मलाई आशा छ कि उहाँहरुले नेपाली क्रिकेटलाई योभन्दा माथिल्लो स्थानमा पुर्याउन सक्नुहुन्छ । मलाई विश्वास छ । मेरो चाहिँ हिजोबाट प्यासन सकियो । आजबाट करिअर स्टार्ट भयो । प्यासनले यहाँसम्म ल्यायो मलाई । खेल्दाखेल्दै करिअर बन्यो । आजबाट खास करिअरको सुरुवात गर्नेछु । त्यो करिअर क्रिकेटमा छ ।

तपाईंलाई अनु्शासित र कठोर व्यक्तिको रुपमा लिने गरिन्थ्यो, पछिल्लो समयमा बढी इमोसनल बन्नुभएको हो ?

होइन म (कठोर) छैन । म सबैभन्दा सरल व्यक्तित्व मान्छु आफूलाई । खेलाडीलाई सौध्नुभए हुन्छ । रिजर्भ छु । ०.०१ प्रतिशतले पनि कडा व्यक्तित्वको मान्छे भन्दैन मलाई । सही र गलत छुट्याउने कुरामा कहिलेकाहीँ कडारुपले प्रस्तुत हुन्छु होला ।

कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै गर्दा शानदार फेयरवेलको अपेक्षा गरेको हुन्छ । तपाईंलाई त्यस्तो लोभ छैन ?

मेरो च्वाइस यो थियो, यो मैले गरिसकँे । अरु धेरै खेलाडी छन् जो यस्तो फेयरवेलको हकदार छन् । जस्तो शक्ति गौचन । उहाँको धेरै ठूलो योगदान छ । महबुबको बारेमा हालै पढेँ । उहाँको चाहना पनि छ सम्मानका साथ बिदाइ होस भन्ने ।
जसले देशको लागि यति धेरै गर्नुभएको छ, उहाँहरुको लागि संघले, सरकारले फेयरवेल म्याचहरु गरिदिनुपर्छ । कसरी गर्ने भन्ने विभिन्न तरिका हुन सक्छ । मेरो चाहिँ यही तरिका थियो । यसमा दुख छैन । मैले कमाएको भनेको माया, इज्जत र विश्वास हो । त्यो जीवनभर कायम राख्न कोशीस गर्छु ।

फेयरवेलभन्दा पनि लेट्स सेलिब्रेट क्रिकेटिङ जर्नी । आगामी दिनमा धेरे मौका आउनेछन् । म नेपाली क्रिकेटँसग जोडिने नै छु । देयर इज नो फेयरवेल फर मी ।

करिअरको सबैभन्दा खुशी र दुखको क्षण ?
हरेकचोटि जित्दा खुशी भइन्छ । वल्र्ड कपमा क्वालिफाइ हुँदा र ओडिआइ स्टाटस पाउँदा सबैभन्दा बढी खुशी भएको थिएँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर