भारतप्रति नारायणकाजीको आक्रोश- नेपाली जनता आफैं प्रतिवादमा उत्रिन नपरोस् – Nepal Press

भारतप्रति नारायणकाजीको आक्रोश- नेपाली जनता आफैं प्रतिवादमा उत्रिन नपरोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले महाकालीमा एसएसबीले तुइन काटिदिँदा नेपाली बेपत्ता भएको विषयमा भारतले सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दे श्रेष्ठले तुइन काटिदा जयसिंह धामी बेपत्ता भएको घटना भारतीयको हेपाहा र मिचाहा व्यवहारको उदाहरण भएको बताए। ‘म यसप्रकारको अमानवीय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछु,’ उनले भने, ‘यसका निम्ति भारतले नेपाल र नेपाली जनतासँग अविलम्व सार्वजनिक क्षमा याचना गर्न माग गर्दछु । दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारवाही गर्न अनुरोध गर्न चाहन्छु । र, अबका दिनमा यसप्रकारका हेपाहा, उत्पिडन व्यवहार अन्त्य गर्न, नदोहोर्‍याउन माग गर्न चाहन्छु ।’

श्रेष्ठले थपे, ‘नेपाली जनतामा यसप्रकारको अमानवीय, क्रुर घटनाबाट जुन पीडा पैदा भएको छ । त्यसले देश भक्तिको बाँध, मानवताविरोधी कामकोविरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैं प्रतिवादमा आउने स्थितिमा कुनै पनि हालतमा उपयुक्त हुँदैन ।’

भारतसँग असल सम्बन्ध काय गर्न नेपालले चाहेको तर भौगोलिक अखण्डताविरुद्धको काम सहन गर्न नसकिने श्रेष्ठको भनाइ छ। ‘हामी भारतसँग असल सम्बन्ध कायम गर्न चाहान्छौं,’ उनको चेतावनी छ, ‘तर, नेपाल कुनै पनि हालतमा आफ्नो भौगोलिक अण्डता, राष्ट्रिय स्वाभिमान विरुद्धको काम सहन गर्ने छैन् । त्यसका निम्ति जे गर्नुपर्ने हो त्यो सबै गर्न नेपाली देशभक्त जनता संकल्पित छन् । ’

उनले यस सम्बन्धमा नेपाल सरकारले छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा समस्याको समाधान गर्ने नीति सहि भए पनि छानबिन समितिको रिपोर्ट छिटो भन्दा छिटो ल्याएर दोषीमाथि कडा कारबाही र राहातका लागि पहल चाल्नुपर्ने समेत माग गरे । श्रेष्ठको आग्रह छ, ‘म नेपाल सरकारको म गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, छानविन समितिको रिपोर्ट छिटो ल्याएर छिटोभन्दा छिटो भारत सरकारसँग आफ्नो तर्फबाट गम्भीर विरोध र आपत्ति प्रकट गर्ने र दोषीमाथि कारबाहीको माग गर्ने, पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न तत्काल कदम चालोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर