रुपन्देहीमा बसेर केन्द्रीय नेतृत्व हाँक्नेहरू – Nepal Press

रुपन्देहीमा बसेर केन्द्रीय नेतृत्व हाँक्नेहरू

रुपन्देही । राजनीतिमा मात्रै होइन सामाजिक तथा अन्य सेवामूलक संस्थाको केन्द्रीय नेतृत्वमा रुपन्देहीका धेरै नागरिक छन् । पछिल्लो समय करिब एक दर्जन संघसंस्थाको नेतृत्वमा रुपन्देहीका नागरिक छन् ।

अहिले रुपन्देहीबाट नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्षमा डा. बुद्ध थापा छन् । ‘देशभरका प्राध्यापकहरुको संगठनको नेतृत्व सहज थिएन तर जिम्मेवारी पाएपछि गर्न सकिँदोरहेछ’ थापाले भने ।

मानवअधिकार तथा शान्ति समाजको अध्यक्षमा रुपन्देहीका गोविन्द खनाल निर्वाचित भएका छन् । ‘केन्द्रीय सदस्यदेखि पदाधिकारीका धेरै पदमा रहेर काम गरेको अनुभवले अध्यक्षको जिम्मेवारी पाए जस्तो लाग्छ’, खनालले भने ।

राष्ट्रिय दलित पत्रकार महासंघको अध्यक्षमा रुपन्देहीका विनोद पहाडीले नेतृत्व गरेका छन् । संविधानसभा सदस्य बनेर अनुभव संगालेका उनी अहिले संगठन विस्तारका लागि अधिकांश जिल्लामा पुगेका छन् । ‘मोफसलबाट केन्द्रीय नेतृत्वमा रहँदा साधनस्रोतको अभाव, काठमाडौंमा स्थायी बसोबास नहुँदा नेटवर्कको समस्या र भ्यालीबाहिर बस्नेलाई केन्द्रमा बस्नेले सहजरुपमा नलिने समस्याले कार्यसम्पादनमा चुनौती आउँछन्’, पहाडी भन्छन् ।

कम्प्युुटर एशोसियसन (क्यान महासंघ)को केन्द्रीय अध्यक्षमा रुपन्देहीका नवराज कुँवरले नेतृत्व गरेका छन् । लामो समय प्राध्यापन, मिडिया व्यवस्थापन र पत्रकारितामा अनुभव संगालेका कुँवर क्यानको नेतृत्वमा पुगेपछि देशभरका अधिकांश जिल्ला पुगेका छन् । ‘रुपन्देही कार्यक्षेत्र भए पनि जिम्मेवारी पाएपछि केन्द्रीय नेतृत्व सहज ढंगले पूरा गर्न सकिँदो रहेछ’, कुँवर भन्छन् ।

निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा वसन्तराज खनाल, वित्तीय माइक्रो फाइनान्स एशोसियसन अफ नेपालको नेतृत्वमा जगत पोखरेल, होटल व्यवसायी महासंघको अध्यक्षमा हिराध्वज शाह, पब्लिक क्याम्पस संघको अध्यक्षमा गोपाल पाण्डे, राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा श्याम पाठक, अटो मेकानिकलहरुको संगठन नाटुको अध्यक्षमा जीवन अधिकारीले राष्ट्रिय अध्यक्षको जिम्मेवारी संहालेका छन् । उनीहरु सबै रुपन्देहीका हुन् । यीमध्ये केहीले भर्खरै जिम्मेवारी सम्हालेका छन् भने केहीले यो जिम्मेवारी सम्हालेको केही वर्ष पूरा भएको छ ।

रुपन्देहीबाट पहिले पनि केहीले केन्द्रीय नेतृत्व सम्पादन गरेर आफ्नो पहिचान बनाएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिको अध्यक्षमा रुपन्देहीका बालकृष्ण चापागाईँले नेतृत्व गरेर आफ्नो पहिचान बनाए ।

‘काठमाडौंमा बस्नेले बाहिर बसेकालाई नगन्ने, नसमेट्ने सोच छँदैछ तर जिम्मेवारी पाए बाहिरबाट पनि काम गर्न सकिने रहेछ’, चापागाई भन्छन् ।

त्यसैगरी सामुदायिक रेडियो प्रशारक संघ अकोरावको अध्यक्षमा मोहन चापागाईले पनि रुपन्देहीबाट नेतृत्व पूरा गरिसकेका छन् । पत्रकार महासंघको जिल्ला नेतृत्वसँगै केन्द्रीय सदस्य भइसकेका उनले आफ्नो कार्यकाल गणनीय बनाएका छन् ।

त्यसैगरी रुपन्देहीबाट औषधि व्यवसायी महासंघको अध्यक्षमा बाबुराम भट्टराई, नेपाल जेसीजको अध्यक्षमा अनुपमान सैजु, जगत पोखरेल, चलचित्र उद्योग संघमा प्रदीप उदय, नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघको अध्यक्ष अर्जुन रानाभाटले सफल नेतृत्व गरिसकेका छन् ।

‘देशभरका साथीहरुसँग नेटवर्कमा रहेर जिम्मेवारी पूरा गर्न पाउनु ठूलो अवसर हो, काठमाडौं बाहिरकाले के गर्न सक्लान् र ? भन्नेहरुलाई काम गरेर देखाउने हो’, शान्ति समाजका अध्यक्ष गोविन्द खनालले भने ।

देश संघीय संरचनामा गइसकेपछि हरेक संस्थाले संरचनागत विकास गर्नुपर्ने र सबै भूगोलमा रहेकालाई नेतृत्वको विकास गराउनुपर्ने भएपनि काठमाडौमै बसेर नेता हुनुपर्छ भन्ने गलत संस्कारलाई तोड्नुपर्ने नेपाल दलित पत्रकार महासंघका अध्यक्ष विनोद पहाडी बताउँछन् ।

त्यसो त क्यान महासंघको अध्यक्ष भएपछि रुपन्देहीमा स्थायी बसोबास गर्ने नवराज कुँवरले काठमाण्डौंको बसाई बढाउनुपरेको छ । राष्ट्रिय सञ्जालमा रहेपछि बढी समन्वय गर्नुपर्ने, दैनिक सरकार तथा अन्य सरोकारवालासँग बहस छलफल बढाउनुपर्ने र धेरै संस्थाहरुका प्रधान कार्यालय पहिलेदेखि नै काठमाडौंमा रहेकाले यो बाध्यता भएको हो ।

बुटवलमा व्यवसायमा जमेका जगत पोखरेल माइक्रो फाइनान्समा लागेर राष्ट्रिय सञ्जालको नेतृत्वमा पुगेपछि धेरै समय उतै बस्न थालेका छन् ।


प्रतिक्रिया

One thought on “रुपन्देहीमा बसेर केन्द्रीय नेतृत्व हाँक्नेहरू

  1. नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महॉसंघ को संस्थापक केन्द्रीय अध्य़क्ष कृष्ण प्रसाद पान्डे, र पुर्व अध्यक्ष हरि प्रसाद अर्याल र बर्तमान मनहरी बस्याल पनि केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
    त्यसै गरि फोटोग्राफर संघ को महेन्द्र उपाध्याय हुनुहुन्छ ।समाबेश गरेको भए राम्रो हुने ।

Leave a Reply to दिवाकर घिमिरे Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर