थुनुवा मृत्यु प्रकरण : डीएसपीसहित २ प्रहरीमाथि कारवाही, सहमतिपछि परिवार शव बुझ्न तयार – Nepal Press

थुनुवा मृत्यु प्रकरण : डीएसपीसहित २ प्रहरीमाथि कारवाही, सहमतिपछि परिवार शव बुझ्न तयार

जनकपुरधाम । धनुषा प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाका विषयमा पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको छ ।

अधिकारकर्मीको रोहबरमा मृतक पल्टु रबिदासको परिवार र प्रमुख जिल्ला अधिकारीबीच घटनाको चार दिनपछि आज सहमति भएको हो । राहतका लागि संघ र प्रदेश सरकारलाई सिफारिस पठाउने र उच्चस्तरीय छानविन समिति गठनका लागि सहमति बनेको धनुषाका सीडीओ बन्धुप्रसाद बास्तोलाले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार मृतकको घर भएको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष बिन्देश्वर यादवले पीडित परिवारका एकजनालाई जागिर दिने प्रतिबद्धता जनाएका छन् । सहमतिपछि परिवारले रबिदासको शव बुझ्न सहमत भएका छन् ।

आजै प्रतितिनिधसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रदेश सरकारले ५ लाख रूपैया राहत दिन सहमत भएपछि पीडित परिवार शव बुझ्न तयार भएको बताएका थिए । तर, प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने त्यस्तो कुनै सम्झौता नभएको बताएका छन् ।

यता, प्रदेश प्रहरी कार्यालय जनकपुरले पनि घटनाको छानविन गरिरहेको छ । जिल्लाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रलाई प्रदेशमा तानिएको र घटनाका बखत गार्ड बसेका प्रहरीलाई निलम्बिन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले बताए । उनका अनुसार छानविन प्रभावित नहोस् भनेर डीएसपीलाई तानेको र सेन्ट्री बसेका प्रहरीलाई तत्कालका लागि निलम्बन गरिएको हो ।

कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका रबिदास साउन १५ गते बिहान हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । अदालतले २ लाख धरौटी माग गरेको र बुझाउन नसकेपछि उनी आत्महत्या गरेको प्रहरीको दावी छ ।

तर, पीडित परिवारले कुटपिट तथा अंगभंग मुद्दा दर्ता गराउने दलालहरूले प्रहरीलाई मिलाएर यातना दिन लगाएको आरोप लगाएको लगाएका छन् । घटनाको छानविन र क्षतिपूर्ति माग्दै लक्ष्मीनियाँबासी र अधिकारकर्मी निरन्तर आन्दोलन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर