नेपाली क्रिकेटमा ‘पारस युग’ को समापन – Nepal Press

नेपाली क्रिकेटमा ‘पारस युग’ को समापन

काठमाडौं । नेपाली क्रिकेटका लागि पारस खड्का एक खेलाडी मात्र होइनन्, एक ‘आइकन’समेत हुन् । अब उनलाई नेपाली राष्ट्रिय टिमको जर्सीमा देख्न पाइने छैन ।

समस्त नेपाली क्रिकेट समर्थकलाई स्तब्ध तुल्याउँदै पारसले आज अन्तर्राष्ट्रिय अनायास क्रिकेटबाट सन्न्यासको घोषणा गरे । उनलाई सन्न्यास लिन उमेरको दबाब थिएन । हाल ३३ वर्षमा हिँडिरहेका पारस अझै ४-५ वर्ष नेपालका लागि खेल्न सक्थे । उनले कमजोर फर्मका कारण सन्न्यास लिएका पनि होइनन् । कोरोनाले क्रिकेट प्रभावित हुँदा लामो समयदेखि उनले राष्ट्रिय टिमबाट खेलेका नै थिएनन् । अहिले हठात् सन्न्यासको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ ।

गत अप्रिलमा घरेलु मैदानमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको थ्रि नेसन्स कप चोटका कारण पारसले गुमाएका थिए । गत वर्षको मार्चमा एसीसी इटर्न रिजन अन्तर्गत थाइल्यान्डविरुद्धको खेल नै पारसको अन्तिम अन्तर्राष्ट्रिय म्याच भएको छ ।

सामाजिक सञ्जालमार्फम सन्न्यासको घोषणा गरेका पारसले कारण केही खुलाएका छैनन् । यद्यपि, नेपाली क्रिकेटका लागि अझै धेरै गर्न बाँकी रहेको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट हात झिकेका पारसलाई घरेलु क्रिकेटमा भने अझै देख्न पाइने छ ।

पछिल्लो डेढ दशक पारस नेपाली क्रिकेटकै पर्यायका रूपमा रहे । उनले नेपाली क्रिकेटलाई आजको उचाइमा पुर्‍याउन निकै योगदान गरेका छन् । सन्दीप लामिछानेको उदयअघि अन्तर्राष्ट्रिय क्रिकेट जगतले चिन्ने नेपाली नाम पारस खड्का नै थिए ।

पारसले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि वामे सर्दैछन् ।’

आफ्नो सन्न्यास वक्तव्यमा पारसले सबैलाई धन्यवाद दिइँरहँदा नेपाल क्रिकेट संघ (क्यान) को नाम भने कतै उच्चारण गरेका छैनन् । ‘सरोकारवालाहरू’ मात्र भनेका छन् । लामो समयदेखि क्यानसँग उनको सम्बन्ध सुमधुर थिएन । क्यानसँगको असन्तुष्टीकै कारण उनले तीन वर्षअघि कप्तानीबाट राजीनामा दिएका थिए ।

केही दिनअघि एभरेष्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले पारसलाई समेत जोड्दै एउटा विवाद निकालेका थिए । गैरनाफामूलक अभियान ‘बलियो नेपाल’ को कार्यक्रममा क्रिकेट संघका सदस्यदेखि पारस, कप्तान ज्ञानेन्द्र मल्ललगायतका खेलाडीहरू अनुचित तरिकाले आवद्ध भएको भन्दै उनले अनुसन्धानका लागि क्यान पदाधिकारीलाई इमेल गरेका थिए । उनले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पनि उजुरी गर्ने चेतावनी दिएका थिए ।

पारसले सामाजिक सञ्जालमार्फत अख्तरले लगाएको आरोपको खण्डन गरेका थिए । कुनै प्रमाणबिना आफूलाई बदनाम बनाउनकै निम्ति कपोलकल्पित आरोप लगाइएको भन्दै उनले दुख व्यक्त गरेका थिए । यसलाई लिएर क्यानले कुनै प्रतिक्रिया जनाएको छैन ।

अविस्मरणीय यात्रा

पछिल्लो डेढ दशक पारस नेपाली क्रिकेटकै पर्यायका रूपमा रहे । उनले नेपाली क्रिकेटलाई आजको उचाइमा पुर्‍याउन निकै योगदान गरेका छन् । सन्दीप लामिछानेको उदयअघि अन्तर्राष्ट्रिय क्रिकेट जगतले चिन्ने नेपाली नाम पारस खड्का नै थिए । नेपालमा क्रिकेट समर्थकको सवैभन्दा बढी माया पाएका खेलाडी हुन् उनी ।

नेपाललाई डिभिजन ५ देखि एक दिवसीय मान्यताप्राप्त राष्ट्रमा उकाल्ने सबैभन्दा ठूलो श्रेय पारसलाई जान्छ । साथै, उनकै नेतृत्वमा नेपालले पहिलोपटक सन् २०१४ मा टी-२० विश्वकप खेल्ने अवसर पायो । उनले आफ्नो १७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा कैयन म्याचविनिङ पारीहरु खेलेका छन् । पारसको ब्याटिङ र बलिङ मात्र होइन चतुर कप्तानीले पनि नेपाललाई धेरै म्याच जिताउन मद्दत गरेको छ । संयोगले सन् २०१८ मा आजकै दिन नेपालले एकदिवसीयमा पहिलो जित हासिल गरेको थियो ।

पारसका नाममा राष्ट्रिय किर्तिमानका चाङ छन् । एकदिवसीय र टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्यम्सान हुन् उनी । उमेर समूहको क्रिकेटबाटै पारसले आफ्नो प्रभाव देखाउन सुरु गरेका थिए । नेपालले अन्डर-१९ विश्वकप प्लेट च्याम्पियनसीप जित्दा टिमका महत्वपूर्ण सदस्य थिए उनी ।

सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका पारस सन् २००९ मा विनोद दासलाई प्रतिस्थापित गर्दै कप्तान नियुक्त भए । उनले अनवरत ९ वर्ष राष्ट्रिय टिमको कप्तानी गरे । उनको कप्तानी भूमिकामा कहिल्यै कुनै प्रश्न उठेन । तथापि, २०१८ मा आईसीसीले नेपाल क्रिकेट संघमाथिको प्रतिबन्ध फुकुवा गरेलगत्तै पारसले कप्तानी त्याग गरेका थिए ।

भावी योजना ?

पारसले नेपाली क्रिकेटसँग आफ्ना धेरै सपनाहरू बाँकी रहेको बताएका छन् । अब उनी कुन भूमिकामा नेपाली राष्ट्रिय क्रिकेटसँग जोडिएलान् भन्ने कौतुहल छ ।

पारस नेपाल क्रिकेट संघकै नेतृत्वमा आउन चाहन्छन् भन्ने पहिल्यैदेखि हुने गरेको छ । यद्यपि, आफ्नो भावी योजनाबारे उनी अहिलेसम्म खुलेका छैनन् । समर्थकहरू उनलाई घरेलु क्रिकेटरका रूपमा मात्रै सीमित रहेको हेर्न चाहँदैनन् ।

क्रिकेट संघको नेतृत्वमा आउने हो भने पारसले कम्तिमा दुई वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ । क्रिकेट संघको विधानअनुसार राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको दुई वर्षपछि मात्रै संघको निर्वाचनमा भाग लिन सक्ने प्रावधान छ । क्रिकेट संघको निर्वाचन हरेक तीन वर्षमा हुन्छ ।

भावी योजना जे भए पनि पारसले लिएको निर्णयलाई हतारकै मान्न सकिन्छ । खेलाडीकै रुपमा उनले नेपाली क्रिकेटलाई अझै केही समय योगदान गर्न सक्थे । उनको अनुपस्थितिले आगामी दिनमा नेपाली क्रिकेटमा विशाल रिक्तता पैदा गर्ने छ ।

अन्तर्राष्ट्रिय खेल जगतमा कैयन खेलाडीहरूले सन्यास घोषणा फिर्ता लिएर मैदानमा फर्केका उदाहरणहरू छन् । भावुकतावस सन्न्यास घोषणापछि समर्थकको दबाबमा फिर्ता लिनेमा विख्यात फुटबल खेलाडी लियोनल मेस्सी पनि पर्छन् । पारसलाई पनि यस्तो दबाब पर्न सक्छ । उनले आफ्नो भावुक निर्णय परिवर्तन गरुन् भन्ने चाहना आम क्रिकेटप्रेमीले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर