जीर्ण सडक र पुलका कारण तातोपानी नाका ठप्पप्रायः – Nepal Press

जीर्ण सडक र पुलका कारण तातोपानी नाका ठप्पप्रायः

भरियालाई बोकाएर सामान ओसार्न बाध्य व्यवसायी

काठमाडौं । कुनैबेला सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै चीनबाट दैनिक अर्बौ मूल्य बराबरका सामान नेपाल ल्याइन्थ्यो । तातोपानी भन्सार कार्यालयले दैनिक करोडौं राजस्व उठाउँथ्यो । तर अहिले तातोपानी नाका ठप्पप्रायः छ ।

२०७२ सालको भूकम्पपछि तातोपानी नाका राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । जुरे पहिरो र भोटेकोशीमा आएको बाढीपछि नाका बन्द थियो । पछिल्लो समय नाका सञ्चालन भएको भनिएको छ, तर चीनबाट सामान आउन सकेको छैन ।

खासगरी अरनिको राजमार्गको बाह्रविसेदेखि लिपिङसम्मको सडकको स्थिति दयनीय छ । त्यस्तै मितेरी र लिपिङ खोला पुल पनि जीर्ण छ । जसकारण नाकाबाट सामान ल्याउन कठिन छ ।

व्यपार ठप्प हुँदा व्यापारी व्यवसायीसँगै स्थानीय मर्कामा परेका छन् । त्यसभेगका अधिकांश स्थानीय नाकाबाट सानो–ठूलो व्यापार गर्थे । ठूला व्यपारीले केरुङलगायत अन्य बाटो हुँदै व्यापार गरिरहेका छन्, तर साना व्यापारी र स्थानीयको स्थिति नाजुक बनेको छ ।

व्यापारी र स्थानीयसँगै हजारौं मजदुर पनि मारमा परेका छन् । सामान लोड, अनलोड गर्नेदेखि कन्टेनरका मजदुरको बिचल्ली भएको तातोपानी नाकाका श्रमिक इन्जार्ज विनय थापाले बताए ।

गत असार २ गते आएको बाढीले लिपिङ खोलाको पुलमा थप क्षति गरेको छ । उनका अनुसार अहिले लिपिङ खोलाको पुल जीर्ण अवस्थामा छ । जसको मर्मत नेपाल सरकारको सडक विभागले गरिरहको भएपनि अत्यन्त सुस्त गतिमा भएको उनको भनाइ छ ।

चीनबाट केही सामान आएपनि मितेरी पुलसम्म आउने र लिपिङ खोला पारिबाट भरियालाई बोकाएर तारिरहेको थापाको भनाइ छ । ठूला र मेसिनरी सामान भने अहिले नेपाल आएका छैनन् ।

‘हामी स्थानीयको मुख्य पेसा नै तातोपानी भन्सारमा काम गर्नु हो । अहिले सामान चीनबाट आउन नसक्दा हाम्रो दैनिक ज्याला मजदूरी रोकिएको छ,’ उनले भने । थापाका अनुसार केही समयअघिसम्म तुइनबाट पनि लिपुङ खोला तारेर सामान ल्याउने गरिएको थियो । तर, त्यो अहिले बन्द भएको छ ।

भरियालाई सामान बोकाएर ल्याउँदा खर्च र समय बढी लागेको बताउँछन् व्यापारी विजय शेर्पा । साथै, कार्टुनमा आउने सामान पानीले भिजाएर नष्ट हुने गरेको पनि उनले बताए । ‘पुल मर्मतमा ढिलासुस्ती हुँदा व्यापारी र स्थानीयलाई धेरै गाह्रो भएको छ,’ उनले भने ।

‘देशको मेरुदण्ड नाकाका रुपमा रहेको नेपाल–चीन सीमाको पुलको यो हाल हुँदा पनि राज्यपक्षको ध्यान किन नगएको होला ?’, भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पा प्रश्न गर्छन् ।

सडक विभागले कछुवाको गतिमा पुल मर्मत गरिरहेको उनको भनाइ छ । ‘राज्य र सडक विभागको मौनता र लापरवाहीका कारण अहिलेको परिस्थिति जन्मिएको हो’, उनी भन्छन्, ‘४५ दिनदेखि ठूला सामान चीनबाट आउन सकेको छैन । आएको सामानलाई पानी परेका कारण भरियालाई बोकाउन पाइएको छैन । ल्याएका कतिपय सामान नष्टसमेत भएका छन्, यसको क्षतिपूर्ति कसले दिने ?,’

सडक विभागले यस्तै गतिमा काम गर्ने हो भने पुल निर्माण हुनलाई अझै दुई महिना कुर्नुपर्ने उनको भनाइ छ ।

सडक विभागले भने द्रूत गतिमा काम गरिरहेको बताएको छ । तातोपानी सडक विभागका प्रमुख विजयकुमार गुप्ताका अनुसार एकदुई दिन भित्रमा पुलको तल्लो भागको ढलान सकिने र १० दिन भित्रमा माथिल्लो भागको सम्पूर्ण काम सकिनेछ ।

‘हामी ढलान गर्दैछौं’, उनी भन्छन्, ‘पुल मर्मतका लागि मेसिन लाने ठाउँ नभएकाले मजदुरबाट मात्र काम गराउनुपर्ने भएकाले अलि ढिला भएको छ ।’

नाका राम्ररी सञ्चालन नहुँदा राजस्व संकलन प्रभावित भएको बताउँछन् तातोपानी नाकाका प्रमुख नारद गौतम ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर