फेरि लकडाउनको हल्लाले उद्योगी चिन्तित, कोरोना खोप लगाएर व्यवसाय सन्चालन गर्न पाउनुपर्ने माग – Nepal Press

फेरि लकडाउनको हल्लाले उद्योगी चिन्तित, कोरोना खोप लगाएर व्यवसाय सन्चालन गर्न पाउनुपर्ने माग

काठमाडौं । पहिलो र दोस्रो चरणको लकडाउनले थला परेको अर्थतन्त्रमा सकारात्मक सुधारको आश गरिरहेकै बेला कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएर फेरि लकडाउन हुने हल्ला चलेसँगै उद्यागी व्यवसायी चिन्तामा परेका छन् ।

उद्योगी, व्यवसायी र मजदुरले कोरोनाविरुद्धको खोपसमेत नपाइरहेका बेला तेस्रो चरणको लकडाउन हुने हल्लाले व्यवसायीहरु चिन्तित भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संगठनहरुले कोरोनाको खोप माग गरिरहेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निजी क्षेत्रले कोरोनाविरुद्धको खोप मागेका थिए । ओलीले प्रधानमन्त्रीबाट हट्नुभन्दा एक दिनअगाडि राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले केही खोप ल्याएको र देशका लागि आवश्यक थप खोप पनि नेपालले ल्याउने प्रक्रियामा रहेको बताएका थिए ।

विश्वासको मत लिने बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथामिकतामा कोरोनाविरुद्धको खोप भएको बताएका थिए । तर उद्योगी, व्यवसायी र मजदुरले अझैसम्म खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनसँगको १६ लाख डोज खोप नयाँ सरकार आएपछि चीनले दिने प्रतिवद्धता गरेको बताए । उनले भने, ‘पहिलेको सरकारले नै पहल गरेको कोरोनाविरुद्धको खोप ल्याउने कामले निरन्तरता पाइरहेको छ । पहिले नै सरकारले चीनसँग किनेको ६० लाख, जापानबाट १६ लाख र भुटान तथा भारतबाट पनि कोरोनको खोप ल्याउन पहल भइरहेको छ । विभिन्न देशले दिने भनेको खोप नेपालले प्राप्त गर्दा चैतसम्ममा सबैलाई खोप लगाइ सकिने छ ।’

कोरोनाको कारणले विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, रात्रिकालीन व्यवासाय र पर्यटन क्षेत्र बन्द छन् । उद्योगधन्दा कलकारखाना, उत्पादनमूलक क्षेत्र र व्यापार समय तोकेर सञ्चालनमा आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबैलाई कोरोनाविरुद्धको खोप लगाएर अर्थतन्त्रलाई चलायमान राख्नुपर्ने बताए ।

गोल्छाले भने, ‘अहिले नेपाल मात्रै होइन विश्व नै कोरोनाले क्रसित छ । नेपालमा कोरोनाविरुद्ध खोप सबैलाई लागाएर देशको अर्थतन्त्र चलायमान बनाउनु पर्छ । कोरोना सुरु भएपछि बन्द भएका उद्योगहरु अझै पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पर्यटनलगायतका केही क्षेत्र उठ्नै गाह्रो भइरहेको छ । सरकारले निजी क्षेत्रलाई प्राथामितामा राखेर खोप दिनु पर्छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाविरुद्धको खोपलाई व्यापक बनाएर लैजानुपर्ने बताए । मल्ले भने, ‘जहाँबाट सजिलै कोरोनाविरुद्धको खोप ल्याउन सकिन्छ, त्यहाँबाट खोप ल्याएर सबैलाई खोप लगाइदिउँ । विश्वमा ठूला अर्थतन्त्र भएका देशले समेत आफ्नो आर्थिक क्रियाकलापलाई चलायमान नै राखेका छन् । हामीले कोरोना संक्रमण वृद्धि हुँदै जाँदा स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ ।’

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना नगरेका कारण अहिले कोरोना संक्रमण वृद्धि भएको उनको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर