संथापनइतर युवा नेताको एकस्वर : सरकारमा सम्मानजनक स्थान नपाए देउवालाई एक्लै चलाउन दिउँ – Nepal Press

संथापनइतर युवा नेताको एकस्वर : सरकारमा सम्मानजनक स्थान नपाए देउवालाई एक्लै चलाउन दिउँ

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरुले सम्मानजनक सहभागिता निश्चित नभए सरकारमा सहभागि हुन नहुने निष्कर्ष निकालेका छन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल गर्न बोलाएको बैठकमा एक दर्जन युवा नेताहरुले सम्मानजनक अवस्था नरहे प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई एक्लै सरकार चलाउन दिनुपर्ने धारणा राखेका छन् ।

महामन्त्री कोइरालाले काठमाडौंको होटल शाम्बलामा संस्थापनइतर समूहका नेताहरुलाई सोमबार छलफलका लागि बोलाएका थिए । छलफलमा केन्द्रीय सदस्यहरु दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, प्रदीप पौडेल, कल्याण गुरुङ, किरण यादव, सरिता प्रसाइँ लगायत सहभागि थिए ।

बैठकमा सहभागि सबैजसो नेताले प्रतिनिधिसभा विघटनपछि आफ्नो समूहले लिएको राजनीतिक अडानकै बलमा सभापति देउवाको नेतृत्वमा सरकार गठन हुन सम्भव भएको भन्दै मन्त्रिपरिषदमा सम्मानजनक उपस्थिति नभए प्रधानमन्त्री देउवालाई एक्लै चलाउन दिनुपर्ने सुझाव दिएका हुन् ।

‘हामीले लिएको राजनीतिक कार्यदिशाकै बलमा सभापतिजी प्रधानमन्त्री बन्नुभएको हो । यो सरकारमा सम्मान मिल्दैन भने एक दुई थान मन्त्री बनाउन मरिहत्ते गर्नुहुँदैन’, बैठकमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने । घिमिरेले महामन्त्री कोइराला मार्फत शीर्ष नेताहरुलाई समसामयिक राजनीतिबारे सुझाव दिइएको बताए ।

‘महाधिवेशनका सन्दर्भमा जो भएपनि एकजना मात्रै उम्मेदवार बन्नुपर्ने र सरकारका सन्दर्भमा १-२ थान मन्त्रीका लागि भागबण्डा नगर्न सबैले सुझाव दियौ’, घिमिरेले नेपाल प्रेससंग भने ।

बैठकमा सबै जसो नेताहरुले महाधिवेशन नहुनुमा नेतृत्वको असफलता सावित भएको भन्दै अब स्थानीय तह अधिवेशन हुँदा लामो अन्तराल नहुने गरी महाधिवेशनसम्मकै कार्यतालिका बनाउन सुझाव दिएका थिए ।

शशांकले खोजे साथ

बैठकको सुरुमा महामन्त्री कोइरालाले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौभित्र तल्लो तहको अधिवेशन गर्नेगरी शीर्ष तहमा छलफल भएको जानकारी गराएका थिए । आफूले सभापतिमा उम्मेदवार दिने विचार गरेको भन्दै कोइरालाले पार्टीलाई एकतावद्ध बनाउन युवा नेताहरुको सहयोग अनिवार्य रहेको बताए ।

‘सबैलाई समेटेर कांग्रेसलाई एकतावद्ध बनाउन मेरो उम्मेदवारी हो । यसमा तपाईंहरुको साथ खोजेको छु’, कोइरालाको भनाई थियो । बैठकमा सबैजसो नेताले संस्थापनइतर समूहबाट एकजना मात्रै उम्मेदवार बन्नुपर्ने बताए ।

‘हाम्रो समूहबाट तपाईं, रामचन्द्र दाई, प्रकाशदाई लगायत आधा दर्जनले सभापतिमा दावी गर्नुभएको छ । सबैजना लडेर जितिदैन, एक जनामात्रै उम्मेदवार बन्ने हो बरु हामी त्याग्न तयार छौ’, अधिकांश युवा नेताको भनाई थियो ।

युवा नेताको सुझावपछि महामन्त्री कोइरालाले आफूले सबैसंग छलफल गरिरहेको र एकमात्रै उम्मेदवार बनाउन प्रयास गर्ने बताए । ‘म लडेपनि नलडेपनि हाम्रो समूहबाट उम्मेदवार एकजना मात्रै हुनुपर्छ । त्यसका लागि म पनि प्रयास गर्छु, तपाईंहरुपनि प्रयास गर्नुस्’, कोइरालाले भने ।

कोइरालाले आफूले वरिष्ठ नेता पौडेलसहित सबैसंग छलफल गर्ने बताए । ‘मन्त्रिपरिषदमा सम्मानजनक भूमिका नहुने हो भने जानुहुदैन भनेर तपाईंहरुले दिएको सुझावबारे म शीर्ष तहमा सल्लाह गर्छु’, कोइरालाले भने ।

क्रियाशीलमा धाँधली छ : गुरुङ

छलफलमा सहभागि केन्द्रीय सदस्य कल्याण गुरुङले क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएकोले आफूले नोट अफ डिसेन्ट लेखेको बताए । उनले नवीकरणका नाममा प्रक्रिया नपुगेका र पुरानो कागजात नभएका व्यक्तिहरुको नाम आएको भन्दै क्रियाशील सदस्यतालाई हल्का रुपमा नलिन आग्रह गरे ।

‘नवीकरण भनिएको छ तर कागजात पुगेको छैन । विधान विपरीत नयाँ मान्छेको नाम नवीकरणको सूचीमा हालिएको छ । मैले यत्तिकै नोट अफ डिसेन्ट लेखेको होइन ’, गरुङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *