महिला तथा सामाजिक समितिले सरकारलाई दिएका ७१ प्रतिशत निर्देशन कार्यान्वयन – Nepal Press

महिला तथा सामाजिक समितिले सरकारलाई दिएका ७१ प्रतिशत निर्देशन कार्यान्वयन

काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक समितिले तीन वर्षको अवधिमा सरकारलाई दिएका निर्देशनमध्ये ७१ प्रतिशत निर्देशन सरकारले कार्यान्वयन गरेको छ । समितिको सोमबार बसेको बैठकमा समिति गठन भएको मिति २०७५ साउन १७ गतेदेखि २०७८ जेठ सात गतेसम्म समितिले आफ्नो कार्यक्षेत्र भित्र रहेर विभिन्न निकायलाई निर्देशन, मार्गदर्शन तथा ध्यानाकर्षण लगायतको कार्यान्वयनको अवस्थाका विषयमा छलफल गर्दा यस्तो पाइएको हो ।

समितिका सभापती निरुदेवी पालले निर्देशन कार्यान्वयनको अवस्था अध्ययनका लागि औपचारिक रुपमा समितिलाई प्राप्त पत्र, विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार तथा जानकारी र अनौपचारिक माध्यमबाट समेत प्राप्त सूचना, जानकारी समेतका आधारमा समितिले दिएका निर्देशन ७१ प्रतिशत कार्यान्वयन भएको बैठकमा जानकारी गराएकी हुन् ।

उनका अनुसार समितिले सुरुदेखि अहिलेसम्म विभिन्न शिर्षकमा रहेर विभिन्न १८ वटा निकायलाई मुख्य मुख्य रुपमा करिव एक सय ८३ बुदाँमा निर्देशन गरेको थियो । ती निर्देशनमा २१ वटा निर्देशन दोहोरिएका, त्यस्तै समग्र एवम औषतमा ७१ प्रतिशत निर्देशन कार्यान्वयन भएका तथा अन्य दीर्घकालिन एवम नीतिगत निर्देशन कार्यान्वयनको चरणमा रहेको सभापति पालले जानकारी गराएकी छन् ।

उपलब्ध तथ्यांकलाई विश्लेषण गर्दा समितिका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजकन नै रहेको पाइएको समितिले ठहर गरेको छ । विभिन्न समसामयिक, सामाजिक, सांस्कृतिक एव. परम्परागत कुरीति, विभेद न्यूनीकरण गर्ने लगायतका विषमया दिएको निर्देशन कार्यान्वयनको सुनिश्चितता एवम त्यो सँग सम्बन्धित प्रतिवद्धतामा दृढता एवम स्पष्ट रणनीति, कार्यानीति र योजनाको अभाव देखिएको समितिले जनाएको छ । यसको समाधानका लागि कार्यान्वयन गर्ने निकायको प्राथमिकता एवम कार्यान्वयन योग्य कार्यक्रम र बजेटको सुनिश्चत अनिवार्य देखिएकाले यस सम्बन्धमा समितिले आगामी दिनमा थप पहल गर्ने पनि जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *