स्वदेशमा निर्मित बाह्रबुँदे सहमति – Nepal Press

स्वदेशमा निर्मित बाह्रबुँदे सहमति

लामो संघर्ष, सैयौं सहिदहरूको बलिदान, हजारौं नेता, लाखौं कार्यकर्ता र देश विदेशमा रहनु भएका आदरणीय जनसमुदायको समर्थनबाट बनेको हाम्रो पार्टी आज इतिहासको गम्भीर मोडमा आइपुगेको छ। देशी विदेशी जनविरोधी तत्वहरूका कारण हाम्रो प्यारो पार्टीमा पटक-पटक फुट पैदा भयो, हाम्रो आफ्‍नो कारणले त कसरी फुट हुन सक्छ र ! जनताले हामीलाई अपार समर्थन गरेकै हुन्‌ र गरिरहने नै छन्।

देशीविदेशी चलखेल रोक्न नसकेकोमा भने हामीले निर्मम समीक्षा गर्नैपर्छ। समयक्रममा हाम्रो पार्टीले यो जरुर गर्नेछ र यसबाट शिक्षा लिनेछ। प्रतिक्रियावादी, जडसुत्रवादी, पुरातनपन्थी, दक्षिणपन्थी, सामन्ती, अन्य र हामीमा यस्तै भिन्नता छन्‌ । हामी जहाँ पनि सिक्न सक्छौं, जसरी पनि सिक्न सक्छौं । हामी आफैबाट सिक्न सक्छौं, अरु चाहिन्नन् । विगतमा पनि पार्टी फुटाएरै हामीले वर्गसंघर्ष कस्तो हुन्छ भनेर सिकेका हौं ।

दलाल, नोकरशाही, पुँजीवादीमा के कस्ता दक्षिणपन्थी सोच पैदा हुन्छन् भनेर आफै आन्तरिक परीक्षण गर्न पार्टीले केही कमरेडहरूलाई ती कर्म गर्न र धन कमाउन पनि लगाएको, छुट दिएकै हो । केही माफिया, डनहरूलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर पनि हामीले मार्क्सवादको नयाँ अभ्यास गर्‍यौं । आदरणीय कमरेडहरू, जनसमुदाय ! हामीले गर्न के बाँकि छ र !

विरोधीमाथि के कसरी प्रहार गर्ने, आलोचना गर्ने, घृणा गर्ने भन्ने तमाम कुरा हामीले आफै पार्टी फुटाएर एकआपसमा गाली गरेर सिकेका हौं । हामीले मार्क्सवादको नेपाल सुहाउँदो प्रयोग गरेर सिक्यौं। अहिले हामीसँग नेपाली क्रान्तिबाट सिर्जित मौलिक शब्दभण्डार छ। जेठ ३ मा एकता गरेर हामीले थप प्रहार गर्न सिक्यौं र यसपटक तिनको त्यो ऊ परीक्षण पनि भयो।

यो देशमा हाम्रा शीर्ष नेताको विकल्प छैन। हामीलाई आवश्यक परे आ-आफै लड्न सक्छौं। अरु हाम्रो विरोधी हुनुपर्दैन। हामी जनतालाई रमिता दिन सक्छौं। हामीले जस्तोसुकै समस्या हल गर्न सक्छौं।

हाम्रो ऐतिहासिक पार्टीका लागि यो पृष्ठभूमी छोटो भएकोमा आत्माआलोचित हुँदै वर्तमान परिप्रेक्षमा प्रवेश गर्छौं।

वर्तमान परिप्रेक्षमा हाम्रो पार्टी ऐतिहासिक मोडमा छ। हामीले तय गर्ने गन्तव्य र निर्धारण गर्ने दिशाले तमाम आदरणीय जनसमुदायको भाग्य फैसला गर्नेछ। (हाम्रो भाग्य त हामी आफै फैसला गर्छौं। जनताले हाम्रो फैसला गर्ने ? ना बाबा ना !)  मुलुक र जनताका लागि हामीले दुई वर्षदेखि जुन ऐतिहासिक, क्रान्तिकारी, प्रगतिशील, कार्यकर्ताको रगत उमाल्ने, जनताको उम्मिद पकाउने, दुनियाँको जग हसाउने सोच, नीति, रणनीति, कार्यनीति, वाकनीति, चलनीति, अचलअटलनीति विधि, पद्धति, अभ्यास गरेका छौं, त्यसलाई हामीले त्यो ऊ सम्झेका छौं। यसलाई हामी आगामी दिनमा ए ऐ गरिरहने छौं।

यसै सन्दर्भमा हामीले एकता कायम राख्‍ने कार्यदल बनायौ। कार्यदलमै फुट पैदा भएपछि समय-सान्दर्भिक निर्णय गर्दै पार्टीले कार्यदललाई एकता गर्ने वा एकता अक्षुण राख्‍ने वा एकतामा समयानुकूल परिवर्तन गर्ने वा त्यो गरी वार्ता गर्न भन्यौ। आफ्नै कमरेडहरू हुन्। विगतमा कत्रा लेनदेन, खत्रा मुद्दा मिलाएका कमरेडहरू छन्। तर कतिपय बैगुनी केटाहरूले शीर्षबाट सिक्नै बाँकि छ। रामशाहपथमा कोचिङ लिन ऊ गरिने नै छ।

कार्यदलले विभिन्न होटल, रेष्ट्रो, महलमा बैठक, वार्ता गरी मार्क्सवादको माटो, बगैंचा, गुट, कौसी सुहाउँदो पुनः मौलिक विश्लेषण गरी ऐतिहासिक एकता सहमति तयार गर्‍यो। हाम्रो ऐतिहासिक पार्टीको ऐतिहासिक दस्तावेजलाई ऐतिहासिक बैठकले स्वीकृत गर्दै वार्तादललाई विघटन गरेको पनि हो तर जनताको पार्टीको सवाल रहेकाले विघटित कार्यदलको बैठक जारी रह्यो।

हाम्रो ऐतिहासिक पार्टीले उक्त विघटित कार्यदले तयार गरेको १२ बुँदे सहमति फेरि स्वीकृत गरेको छ। जो यस प्रकार छः

(१) हाम्रो ऐतिहासिक पार्टीमा एकपटक अध्यक्ष वा सो सरहको पदमा (निमित्त, कामु समेत) रहेको व्यक्ति स्वतः अध्यक्ष हुने, रहिरहने गरी पार्टी एकता कायम गर्ने। केन्द्रीय कमिटीका अध्यक्षको संख्या अध्यक्षले निर्धारण गरेबमोजिम हुने। कुन अध्यक्षले निर्धारण गर्ने भन्ने पनि अध्यक्षले निर्धारण गर्ने ।

(२) हाम्रो ऐतिहासिक पार्टीको केन्द्रीय सङ्गठन संरचना देहाय बमोजिम हुनेछ। केन्द्रीय कमिटीभन्दा माथि स्थायी कमिटी हुने। ६० वर्ष भन्दा माथि उमेरका कमरेडहरू अनिवार्य स्थायी कमिटीमा रहनुपर्ने। अरु उमेरका पनि रहन सक्ने। स्थायी कमिटीभन्दा माथि अध्यक्ष कमिटी हुने। अध्यक्ष कमिटी र स्थायी कमिटी स्थायी अविच्छिन्न असंशोधनीय अविनाशी हुने।

(३) हाम्रो ऐतिहासिक पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्ने नयाँ कमरेडहरूलाई जुन कमिटिमा प्रवेश गर्ने हो सोझै त्यस कमिटिको अध्यक्ष बनाउने। निजलाई अध्यक्ष बन्न रुचि नभए मात्र अरु उपयुक्त पद सिर्जना गरी जिम्मेवारी दिने।

(४) हाम्रो ऐतिहासिक पार्टीको बैठकमा हुने छलफल र हरेक निर्णयमा उखान टुक्का अनिवार्य गर्ने। घोचपेचलाई सँस्कारकारूपमा विकास गर्दै लैजाने। पार्टीका बैठकमा जनचासोका कुरा नभित्र्याउने, बैठकमा उपस्थित कमरेडहरूका व्यक्तिगत चासोका विषयलाई जनतामाझ लैजाने।

(५) यदि कुनै अध्यक्ष कमरेडलाई पार्टीमा वा बैठकमा आफूलाई यथोचित सम्मान भएको छैन भन्ने लागेमा तत्काल बैठक रद्ध गर्न सक्नु हुनेछ। यसपछि हाम्रो ऐतिहासिक पार्टी स्वतः जेठ २ को अवस्थामा जाने। तर सङ्गठन संरचना बुँदा १ र २ बमोजिम नै रहने।

(६) हाम्रो ऐतिहासिक पार्टीले जनताको अनवरत सेवा गर्न पार्टी सत्ता, प्रतिपक्ष जताततै रहने। अन्य राजनितिक दलको छनोटअनुसार हाम्रो पार्टीका सांसदहरूलाई सत्ता वा प्रतिपक्षमा रहन छुट दिने।

(७) हाम्रो ऐतिहासिक पार्टीले आगामी निर्वाचनमा एक निर्वाचन क्षेत्रबाट कम्तिमा २ उम्मेदवार उठाइने छ। निर्वाचनमा उम्मेदवार खडा गरेका अन्य दलको रुचिअनुसार उम्मेदवारले तालमेल गर्नसक्ने नीति रणनीति लिइनेछ।

(८) हाम्रो ऐतिहासिक पार्टीको पहलमा आगामी निर्वाचनमा उम्मेदवारले पाएको मत त्यसै क्षेत्रमा उम्मेदवारी दिएको अर्को उम्मेदवारलाई बिक्री गर्नसक्ने गरी जनमतलाई शेयर प्रणालीमा लैजाने गरी कानुनमा संशोधन गर्ने। सोही पदका लागि अर्को निर्वाचन नभएसम्म सांसद पदका उम्मेदवारले आफूले पाएका मत एक आपसमा खरिद बिक्री गर्नसक्ने व्यवस्था गर्ने। जनमतलाई अवमूल्यन हुन नदिन अघिल्लो मूल्यभन्दा कममा खरिदबिक्री गर्न नपाउने कानुनी व्यवस्था गर्ने। यसमा सर्वदलीय सहमति गराउन गठबन्धन र वार्ता गर्न एउटा स्थायी कार्यदल गठन गर्ने।

(९) हाम्रो ऐतिहासिक पार्टीका विद्यार्थी सङ्गठनमा फोर्स, युवामा निर्यात, वृद्धवृद्धामा जयराम, बुद्धिजीविमा फण्डित, विषय विशेषज्ञमा माफिया, मजदुरमा डन, पत्रकारमा हनुमान आदि संरचना थप गर्ने। अध्यक्षले आफूलाई चाहिँदो समूह बनाउन सक्ने।

(१०) हाम्रो ऐतिहासिक पार्टीका कुनै पनि कमिटीका बैठक पार्टी कार्यालयमा नगर्ने। सकेसम्म पार्टी प्यालेसमा गर्ने। नत्र तारे होटल, रिसोर्टमा गर्ने। त्यो नभए कार्यदल बनाएर त्यसले छानेको ठाउँमा गर्ने।

(११) हाम्रो ऐतिहासिक पार्टीमा अनुशासन विभाग भङ्ग गर्ने। त्यसको सट्टामा ‘स्पष्टीकरण, वार्ता तथा आत्मालोचना विभाग’ गठन गर्ने। मातहतका कमिटीमा पनि यो विभाग रहने। कमरेडहरूले लिने सपथमा कम्तिमा एक वाक्यको आत्मालोचना थप गर्ने। आत्मालोचनामा सङ्गीत भर्न साँस्कृतिक फाँटलाई जिम्मा दिने। पार्टीको अन्तर्राष्ट्रिय धुन बजेपछि एउटा आत्मालोचना धुन बजाउने। उप्रान्त हाम्रो ऐतिहासिक पार्टीका सबै कमिटीका हरेक बैठकमा आत्माआलोचनालाई थप एकीकृत, संस्थागत र सुदृढ गर्दै जाने।

(१२) हाम्रो ऐतिहासिक पार्टीको एकता कायम गर्न सबै कमरेडहरूले विगतमा आफ”बाट भएका कमी कमजोरीको आत्मालोचना गर्ने र तिनलाई बिर्सने। कार्यकर्ता कमरेडहरूलाई सम्बन्धित कमिटीको आगामी बैठकमा सर्वसम्मत आत्मालोचना गर्दै नेतृत्वका पक्षमा दृढ भएर लाग्न निर्देशन दिने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *