महिलाका पाठेघरमा पनि तिम्रै नियन्त्रण ? – Nepal Press

महिलाका पाठेघरमा पनि तिम्रै नियन्त्रण ?

कैलालीकी उनी कमाएर बुवाआमालाई सुख दिने सपना साँचेर कुबेत उडिन् । छोरी कमाउन कुबेत जाँदा बाबुआमा खुसी थिए । छोरीको कमाइले परिवारको गरिबी घट्ने आशा थियो उनीहरुलाई । परिवारका अरु भाइबहिनीलाई पनि उनले पढाउँछिन् भन्ने आशा पालेर बसेका थिए ।

कुबेत गएको वर्षदिनसम्म त उनी ठिकै थिइन् । घरमा पैसा पनि पठाइरहन्थिन् । पछि एक वर्ष गुमनाम जस्तै भएकी छोरी भारी जिउ लिएर नेपाल आइन् । छोरी विदेसिँदा फुरुङ्ग बाबुआमा अविवाहित छोरी गर्भवती भएर फर्किएको देखेर आत्तिए , हतासिए । त्यसपछि उनीहरुलाई छोरीभन्दा ‘इज्जत’ ठूलो लाग्यो ।

पीडामा हुँदा सन्तानले आमाबुवाको साथ खोज्छन् । काख रोज्छन् । तर, नेपाली समाजमा पाठेघरसँग जोडिएको ‘चरित्र’ नामको कुनै अप्ठ्यारोमा परिन्, उनी । घर, नातसम्बन्ध अनि समाजबाटै परित्यक्त हुन पुगिन् । र कुनै संस्थाले सञ्चालन गरेको आश्रयगृहमा पुगिन् । त्यहीं सन्तान जन्माइन् । सन्तान आश्रयगृहकै जिम्मामा छाडेर केही महिनापछि उनी एक्लै घर फर्किइन् ।

०००

चितवनकी एक किशोरी सामूहिक बलात्कारमा परिन् । बलात्कारपछि गर्भवती बनेकी उनलाई परिवारबाट पर एक आश्रयगृहमा राखियो । गर्भ फाल्न नमिल्ने अवस्था थाहा भएकाले उनलाई आश्रयगृहमै सन्तान जन्माउने व्यवस्था मिलाइयो । दुःख–सुख नौ महिना कोखमा गर्भ हुर्काइन् । तर, विवाहअघि त्यो पनि विनाइच्छाको सन्तान परिवारले कहाँ स्वीकार गर्नु ! एक भेटमा उनले भनेकी थिइन्, ‘नौ महिना कोखमा राखेको बच्चाको माया त लाग्छ नि ! विवाहअघि जन्मिएको यसलाई समाजले कहाँ स्वीकार्छ र !’

उनको बच्चा पनि आश्रयगृहकै सहारामा छ । उनी अर्कै आश्रयगृहमा बस्छिन् । अनिच्छा नै सही, विवाहअघि भरिएको कोख आफ्नो भन्नसक्ने उनको अवस्था छैन ।

०००

माथिका दुई घटना नेपाली समाजमा दोहोरिरहने प्रकृतिका हिंसाका हुन् । बलात्कार, अनिच्छाको सम्बन्धपछि गर्भ रह्यो भने आफ्नो कोखमा हुर्किरहेको भ्रुणलाई ती आमाले आफ्नो भन्न सक्दिनन् । एक त सामाजिक बहिस्कार, अर्को पहिचानको लागि बावु देखाउनुपर्ने हाम्रा सामाजिक र सरकारी संयन्त्रहरुको जञ्जालले पनि महिलालाई सन्तानको एकल अभिभावक भन्नसक्ने आत्मविश्वाससमेत प्रदान गरेको छैन ।

‘मेरो शरीर, मेरो अधिकार’को अभियान पनि पछिल्ला समय चलिरहेको छ । सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारसम्बन्धी ऐनले पनि महिलालाई प्रजनन् अधिकारको हक दिएको छ । तर, आममहिलाका लागि यी हक नाम मात्रैको लेखोट जस्तै हो ।

आम्दानी र सामाजिक हैसियतको हिसाबले आममहिलाभन्दा केही माथि उठेका महिलाले एकल आमा बन्नको लागि इच्छुक रहेको अभिव्यक्ति पनि दिँदै आएका छन् । केही समयअघि नायिका तथा मोडल नम्रता सापकोटाले विवाह नगरी बच्चा जन्माउन अथात् ‘सिंगल मदर’ बन्न चाहन्छु भनेर सञ्चारमाध्यममा अभिव्यक्ति दिएकी थिइन् । समाजिक सञ्जालमा उनको अभिव्यक्तिलाई नाना तरहले ट्रोल बनाइयो । उनलाई बाबुविनाकोे सन्तानको परिकल्पना गरेको भनेर हाइफाई व्यक्तिहरुले नै टिप्पणी गरे, गरिरहेका छन् । उनले आफ्नै शरीरमा रहेको एक अंगलाई आफ्नो तरिकाले उपयोग गर्छु भन्दा भद्दा टिप्पणी सहनुपर्यो ।

हुन त सर्वोच्च अदालतले आजभन्दा २३ वर्षअघि अर्थात् २०५५ साल मंसिरमा अन्नपूर्ण राणाको मुद्धाको फैसलामा महिलालाई एकल आमा बन्न सक्ने गरी नजिर स्थापित गरिदिएको छ । ‘केटीले आफूखुसी कतै सकैसँग यौन सम्पर्क राख्न पुगी र त्यसबाट बच्चा पैदा भयो भन्दैमा त्यो केटीले त्यो केटासँग विवाह गरेको हो भनी स्वतः भन्न मिल्ने होइन’ भनी फैसलामा व्याख्या गरिएको थियो ।

सर्वोच्चले थप व्याख्या गर्दै भनेको छ, ‘विवाह नभएकन पनि यौन सम्पर्क तथा बच्चा हुनसक्ने वास्तविकतालाई समेत लिएर मूलुकी ऐन अंश्वण्डाको ७ नं मा कुनै खास लोग्ने नतुल्याई बसेकी स्वास्नीबाट जन्मेको सन्तानले बावुको ठेगाना नलागेमा आमाको सम्पत्तिमा मात्र अंश पाउँछन् भन्ने व्यवस्था भएको हुनुपर्छ ।’

सर्वोच्च अदालतले एकल आमालाई स्वीकार गर्ने नजिर स्थापित गरेको फैसलाको १७ वर्षपछि बनेको नेपालको लोकतान्त्रिक संविधानले व्यवस्था गरेको नागरिकतासम्बन्धी व्यवस्थाले नेपाली महिलाको एकल पहिचान स्वीकार नगर्ने निरंकुशतापूर्ण व्यवस्था गरेको छ । विदेशीसँग विवाह गरेकी नेपाली महिलाले आफ्नो सन्तानलाई वंशजको नागरिकता दिन नसक्ने व्यवस्था संविधानले नै गरेको छ । जसमा हाम्रा राजनीतिज्ञहरुको महिलाप्रतिको विभेदपूर्ण व्यवहार छर्लङ्ग देखिन्छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारसम्बन्धी ऐनले भने स्वास्थ्य संस्थामा जन्म भएका सन्तानको हकमा बावु वा आमाको नाम राखी जन्मको प्रमाणपत्र दिनसक्ने व्यवस्था गरेको छ । यौनसँग सम्बन्धित हिंसामा परे ती महिलालाई जबरजस्त भएपनि त्यही पुरुषको जिम्मा लगाउने हाम्रा सामाजिक प्रवृत्तिलाई झल्को दिनेगरी केही कानूनी व्यवस्था भएका छन् । जसले महिलाको एकल कोखलाई स्वीकार गर्दैन । त्यहीमध्ये एक हो, घटनादर्ता सम्बन्धी व्यवस्था । जहाँ बालबालिकाको जन्मदर्ता हुँदा उनीहरुको ठेगाना बावुकै ठेगाना हुने व्यवस्था छ । यसले पनि आमाको एकल कोख स्वीकार नगरेको देखिन्छ ।

मथिका केही उदाहरण र कानूनी व्यवस्थाले के प्रतिबिम्बित गर्छ भने नेपाली समाज, यहाँको कानून अझै पनि महिलाका हकमा निरंकुश नै छन् । ढुंगे युगको समाज परिवर्तन हुँदै उत्तरआधुनिक युगमा आइपुग्दा समेत महिलाको एकल पहिचान स्वीकार नगर्ने अवस्थामा नै छ नेपाली समाज । कानून बनाउने तहमा रहेका यहाँका राजनीतिज्ञहरु महिलाको यौनिकतामा अंकुश लगाउनुलाई गौरव ठान्छन् ।

परिवारका सदस्यहरु महिलाका पहिचान आफूबिना अपुरो रहेको भन्ने स्थापित गर्नुमा उँचो महसुस गर्छन् । सबै प्रवृत्तिका एकीकृत स्वरुप हो, बाबुको पहिचानबिना सन्तान जन्माउन महिलालाई रोक लगाउने प्रवृत्ति । पितृसत्ताको एउटा विशेषता नै हो, महिलाको शरीरमाथि प्रभुत्व जमाइरहनु । पितृसत्ताका हिमायतीहरु विभिन्न नाममा महिलालाई ‘कठै’का पात्र बनाइरहन पाउनुमा गर्वबोध गर्छन्, आफ्नो पुरुषत्व स्थापित हुने ठान्छन् र महिलाका शरीर आफ्नो नियन्त्रणमा राखिरहन चाहन्छन् । अनि महिलाका पाठेघरमाथि नियन्त्रण जमाएर त्यही पाठेघर भएकै कारण महिलालाई कमजोर करार गरिरहन चाहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *