ओलम्पिकमा आज २२ स्पर्धाको फाइनल, पदकमा चीनको अग्रता यथावत – Nepal Press

ओलम्पिकमा आज २२ स्पर्धाको फाइनल, पदकमा चीनको अग्रता यथावत

एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज २२ स्पर्धाको फाइनल हुँदैछ । आज महिला फुटबलको सेमिफाइनललगायत २१ खेलका फाइनलबाहेकका स्पर्धाहरु हुँदैछन् ।

आज एथलेटिक्ससहित ९ खेलका २२ स्पर्धाको फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।आर्टिस्टिक जिम्न्यास्टिकको रोकिएका खेलहरु आज हुनेछ । पुरुष रिङ, महिला फ्लोर र पुरुष भल्ट स्पर्धाको फाइनल हुन बाँकी छ ।

एथलेटिक्समा पुरुष लङ जम्प, महिला १ सय मिटर हर्डल्स, महिला डिसकस, पुरुष ३ हजार मिटर स्टिपलचेस र महिला ५ हजार मिटर दौडको स्वर्ण छिनोफानो आज हुनेछ । ब्याडमिन्टनमा महिला डवल्स र पुरुष सिंगल्सको फाइनल आज हुनेछ ।

साइक्लिङमा महिला टिम स्प्रिन्ट, घोडचढीमा इभेन्टिङ टिम र इभेन्टिङ एकल, सेलिङमा पुरुष र महिला टिम तथा शुटिङमा पुरुष २५ मिटर र्‍यापिड फायर पेस्टोल र पुरुष ५० मिटर राइफलको फाइनल हुनेछ ।

भारोत्तोलनतर्फ महिला ८७ केजी र ८७ केजीमाथि स्पर्धाको फाइनल आज हुनेछ । आजैदेखि सुरु हुन लागेको कुस्तीमा महिला फ्रिस्टाइल ७६ केजी, पुरुष ग्रेसो रोमन ६० केजी र १ सय ३० केजी स्पर्धाको स्वर्ण छिनोफानो हुनेछ ।

दशौं दिनसम्म आउँदा चीनले पदकमा आफ्नो अग्रता यथावत राखेको छ । १ सय ८० स्वर्णको छिनोफानो हुँदा चीन २४ स्वर्णसहित शीर्ष स्थानमा छ । २० स्वर्ण जितेको अमेरिका दोस्रो स्थानमा छ । तर पदक संख्याको हिसावमा चीनभन्दा अमेरिका अगाडि छ । १४ रजत र १३ कांस्यसहित चीनले ५१ प्दक जितेको छ भने २३ रजत र १६ कांस्यसहित अमेरिकाले ५९ पदक जितेको छ ।

आयोजक जापान १७ स्वर्णसहित तेस्रो स्थानमा छ । अष्ट्रेलियाले १४ स्वर्ण जितेको छ । रुस ओलम्पिक कमिटीले १४, ग्रेट ब्रिटेनले १० स्वर्ण जितेका छन् । फ्रान्स र दक्षिण कोरियाले समान ५ स्वर्ण जितेका छन् । पाँचवटा देशले ४ स्वर्ण, तीनवटा देशले ३ स्वर्ण र सातवटा देशले २ स्वर्ण जितेका छन् । एउटा मात्र स्वर्ण जित्ने देशको संख्या ३० छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर