हेलम्बु र मेलम्ची क्षेत्रमा फेरि बाढी दोहोरिन सक्ने विज्ञ टोलीको निष्कर्ष – Nepal Press

हेलम्बु र मेलम्ची क्षेत्रमा फेरि बाढी दोहोरिन सक्ने विज्ञ टोलीको निष्कर्ष

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा शनिवार राति एक्कासी बाढी आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस क्षेत्रको हवाई निरीक्षण गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसहितको विज्ञ टोलीले हवाई निरीक्षणबाट फकिएलगत्तै प्राधिकरणको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै पाँचपोखरी थाङपाल, हेलम्बु र मेलम्ची क्षेत्र अझै जोखिममा रहेको जनाएको छ ।

स्थानीय जनप्रतिनिधि र विज्ञसहित प्राधिकरणको टोलली आइतबार मेलम्ची खोलाको मुहानसम्म निरीक्षण गर्दा ​मेलम्चीमा आएर मिसिने याङ्ग्री र लार्के खोला तथा मेलम्ची खोलाको मुहानमा ठुलो मात्रामा गेग्रिन माटो रहेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘त्यहाँका माटोको स्याम्पल परीक्षण गर्न दिएका छौँ, नदीको मुहान क्षेत्रमा चुनको मात्रा धेरै भएको गेग्रिन रहेको पाइएको छ ।’

थोरै पानीले पनि गलाउने गेग्रिन मुहानमा भएको हुनाले गेग्रिन लेदो बनेर बग्दा तल्लो भागमा धेरै कटान गरेको विज्ञ टोलीले निष्कर्ष निकालेको छ । खानि तथा भूगर्भ विभागका विज्ञ शिव कुमार बाँस्कोटाका अनुसार मुहानमा विमानस्थल जत्रो आकारमा गेग्रिन जमेर बसेको हुनाले अबको दुई महिना पानी पर्दा उक्त भाग बगेर फेरी तल्लो भागमा क्षति हुनसक्ने अनुमान गरे । उनले भने, ‘यस्तो बाढी यसै वर्ष मात्र होइन अर्को वर्ष पनि दोहोरिन सक्छ ।’

प्राधिकरणले असार एक गते बाढी आएपछि अन्तर्राष्ट्रिय एजेन्सीसँग समन्वय गरेर मेलम्ची, याङ्ग्री र लार्के खोलाको माथिल्लो भागमा ड्रोन मार्फत सर्वेक्षण गरेको पनि जनाइएको छ । ‘हिमालय रेन्जमा यत्ति ठुलो डेब्री फ्लो हामीले बेहोरेका थिएनौँ, दोलालघाट र त्यसभन्दा तलसम्म पर्ने बाढीको प्रभावको अध्ययन सुरु गरेका छौँ ।’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।

स्थलगत भ्रमणबाट फर्किएका पुल्चोक इन्जिनियरिङ क्याम्सका प्राध्यापक डा. विष्णु पाण्डेले थोरै पानी हुँदा पनि ऊर्जा उत्पन्न हुनसक्ने खोलाको बनोटले गर्दा मेलम्ची र हेलम्बु क्षेत्रमा कटान धेरै भएको बताए । उनले भने, ‘त्यो पहिरोले थुनेर आएको बाढी होइन । किनभने पहिरोले बहावलाई धेरै समय थुन्न सक्दैन ।’

पुरानो समयदेखि थुप्रिएको गेग्रिन फेरी सक्रिय भएको पुल्चोक क्याम्पसकै अर्का प्राध्यापक डा. वसन्त अधिकारीले बताए । उनले भने, ‘खोला बग्दाबग्दै गेग्रिन मिक्स भएर आएको जस्तो छ । ऊर्जावान् बाढीले तल्लो भाग खियाइरहेको छ ।’

स्थलगत अनुगमन पछि छ जना सहतिको विज्ञ टोलीले मेलम्ची क्षेत्रको चनौटेमा सबैभन्दा धेरै कटान भइरहेको पनि जनाएको छ । विज्ञले त्यस क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्ने सुझाव पनि प्राधिकरणलाई दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर