दार्चुला घटनाको छानबिन गर्न सहसचिव गौतमको नेतृत्वमा उच्चस्तरीय समिति गठन – Nepal Press

दार्चुला घटनाको छानबिन गर्न सहसचिव गौतमको नेतृत्वमा उच्चस्तरीय समिति गठन

स्थलगत अध्ययनका लागि उच्चस्तरीय समिति सोमबाट घटनास्थलतर्फ जाने

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको एक विज्ञप्तीमार्फत आइतबार जानकारी गराएको हो ।

समितिको सदस्यमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी पूमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेशका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।

दार्चुला घटनाको अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । साउन १५ गते शुक्रबार तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका थिए ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) का जवानले तुइन काटिदिँदा धामी बेपत्ता भएका जनाइएको छ । तर भारतीय प्रहरी एसएसबीले भने यसलाई अस्विकार गरेको छ । बेपत्ता भएका धामीको बेपत्ता भएको दिनदेखि नै खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

समितिको संयोजकको जिम्मेवारी दिएको पत्र अघि साँझ पाएकाले सोमबारदेखि स्थलगत अध्ययन गरिने उच्चस्तरीय समितिका संयोजक जनार्दन गौतमले नेपाल प्रेससँग बताए । उनले भने, ‘पत्र प्राप्त गरेको छु । सोमबार घटनास्थलतर्फ गएर अध्ययन गर्ने तयारी गरेका छौ । तोकिएको १० दिनमा हामी स्थलगत अध्ययन गरेर सत्य तथ्य विवरण गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर