‘राता मकै’ को नाम मात्रै, यस्तो छ वैद्य माओवादीले झण्डा गाडेको जग्गाको कथा – Nepal Press

‘राता मकै’ को नाम मात्रै, यस्तो छ वैद्य माओवादीले झण्डा गाडेको जग्गाको कथा

चितवन । वैद्य माओवादीले हिजो माडी-३ पौवारीस्थित प्लटिङ गरिएको जग्गा कब्जामा लिएको घोषणा गर्यो मिडियामा कलाकार किरण केसी ‘राता मकै’ को जग्गा कब्जा भएको भनेर समाचार आए । यद्यपि, यसको यथार्थ अलि फरक छ ।

‘जमिनमाथिको खण्डीकरण बन्द गर, भू-माफियाहरुलाई कारवाही गर’ लेखेको ब्यानरसहित वैद्य माओवादीले जग्गा कब्जामा लिएको थियो । कलाकार केसीले यो जग्गा आफ्नो नभएको बयान दिइसकेका छन् । जग्गा प्लटिङमा संलग्न ‘ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलर्स प्रालि’ ले पनि केसी यो जग्गाको ‘ब्रान्ड एम्बेसडर’ मात्र भएको बताएको छ ।

आज केही राजनीतिक दलहरुले सो क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन् । जग्गा कब्जा गर्दै नेकपा (क्रान्तिकारी माओवादी) चितवनले राज्यसत्तासँग मिलेर तस्कर तथा माफियाले गरिव जनताको जग्गा कौडीको भाउमा खरिद गरेर प्लटिङ गरेको आरोप लगाएको थियो ।

वैद्य माओवादीले कब्जा गरेको सो जग्गामा राखिएको व्यानर र झण्डा केहीबेरमै प्रहरीले हटायो । ट्वान्टी वान ग्रुपलाई पौवारी क्षेत्रको करिब ४० विघा जग्गाको १ सय ३१ वटा कित्ता प्लटिङ गर्न दिनेगरि नगरपालिकाले सिफारिस गर्न खोज्दा जग्गा उपयोगिता विश्लेषण प्राविधिक सहयोग समितिका केही सदस्यहरुले हस्ताक्षर नगरेपछि रोकिएको थियो । तर, यही ग्रुपले कार्तिक २८ गते बघौडा २ ‘क’ अन्तर्गतको २० वटा कित्तामा रहेको करिब १६ विघा जग्गा प्लटिङ गर्ने अनुमति पाइसकेको थियो ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले पौवारी क्षेत्रमा प्लटिङ गर्ने गरी सिफारिस नगरिएको जीकिर गरे ।

‘उहाँहरुले जग्गा खरिद गर्नुभएको छ, तर हामीले कित्ताकाट गर्न अनुमति दिइसकेका छैनौँ,’ उनले भने, ‘कसले किने, कसले बेचे त्यो अलग कुरा हो ।’

मेयर ढकालले विज्ञप्ति जारी गर्दै अरुको स्वामित्वमा रहेको जग्गा कब्जा गर्ने कार्यको घोर निन्दा र भत्र्सना गरेका छन् ।

आगामी दिनमा व्यक्तिगत सम्पत्ति, कम्पनीहरुको नीजि सम्पत्ति, संघसंस्थाको सम्पत्ति, नगरक्षेत्रभित्रका कुनै पनि सार्वजनिक सम्पत्ति पार्टीको नामबाट कब्जा गर्ने कार्य नदोहोर्‍याउन विज्ञप्तिमा आग्रह गरिएको छ । नगरपालिकाले जग्गा कब्जा घटनाबारे सर्वदलीय छलफलसमेत गरेको थियो ।

कांग्रेस माडी नगर समितिका सभापति कोमलनाथ भुषालले ट्वान्टी वान ग्रुपले विगतका शर्त पालना नगरी थप जग्गा कित्ताकाट गर्न खोजेकाले विवाद आएको बताए ।

‘सोमेश्वरमा आवास भवन, पौवारीमा २ विघामा पार्क बनाउने, अन्यत्र केही विकास निर्माणमा सघाउने शर्तहरु पालना गरेको पाइएन,’ उनले भने, ‘विज्ञको अध्ययनविना कित्ताकाट नगर्न नगरपालिकालाई सुझाएका छौँ ।’

माडीमा क्रियाशील राजनीतिक दलहरु कांग्रसको अगुवाईमा र नगरपालिकाको आव्हानमा दुईपटक आजै छलफलमा बसेका थिए । ‘पार्टीले जग्गा कब्जा गर्ने कार्यको विरोध गर्नेमा सहमति जुट्यो,’ उनी भन्छन्, ‘कित्ताकाटबारे थप बुझेर मात्रै प्रक्रिया रोक्ने वा बढाउने भन्ने बहस चल्यो, फेरी छलफलमा बस्ने छौँ ।’

ट्वान्टी वान ग्रुप प्रोपटी डिलर्स प्रालिका अध्यक्ष राज केसीले करिब ३० विघा जग्गा कित्ताकाट गर्न मागिए पनि सुनवाई नभएको बताए ।

‘मगुईको बगरमा पर्ने पौवारी खेतीयोग्य जमिन होइन, तटबन्धन गरेर जग्गा विकास गरेका थियौँ,’ उनी भन्छन्, ‘अहिले पनि किसानकै नाममा जग्गा छ, हामीले बुक गर्ने काम गरेका छौँ, बिक्रि गरिएको छैन ।’

डेढ लाखदेखि साढे ३ लाखसम्ममा खरिद गरेर ६ लाखमा जग्गा बेच्न खोज्दासमेत लगानी नउठ्ने अवस्था रहेको उनले दाबी गरे । उनका अनुसार पौवारीको मगुई खोलामा करिब १ करोड २० लाख खर्चेर तटबन्धन गरिएको छ ।

दुई वर्ष पहिल्यै माडी छाड्न लागेका बेला यहीँ काम गर्न आग्रह गरेपछि जग्गा विकासमा लागेको उनको दाबी छ ।

‘बगर, नदी उकासका जग्गालाई हामीले संरक्षण गरी आवास क्षेत्र बनाउन खोजेका हौँ,’ उनले भने, ‘खेती योग्य जग्गा मासिएको छैन, किसानहरु खुशी भएर हामीलाई जग्गा बेचेका छन् ।’

उनका अनुसार दुई विघामा रमणीय पार्क बनाएर नगरपालिकालाई हस्तान्तरण गर्ने र २ विघामा ट्वान्टी वान होटल बनाएर पर्यटन विकासमा लाग्ने सोच ग्रुपले लिएको छ ।

‘हामी भूमाफिया होइनौँ, प्लटिङ गरेर फुत्त भाग्दैनौँ,’ उनले भने, ‘व्यवस्थित शहर बसाउने योजना हो, बाहिरी जिल्लाबासीलाई माडी भित्र्याउने सपना हो ।’

ग्रुपको स्वामित्वमा रहेका सबै जग्गाको कारोबार पुरा भएमा माडी नगरपालिकालाई ३ करोडभन्दा बढी खर्चेर ५० शैयाको अस्पतालसमेत हस्तान्तरण गर्ने दाबी गरे ।

ट्वान्टी वान ग्रुपमा हास्यकलाकार किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुलाको साग), सन्दीप क्षेत्री रहेको चर्चा भएपनि उनीहरु आवद्ध नरहेको अध्यक्षकेसीको दावी छ ।

‘रातामकै हाम्रो कम्पनीको ब्राण्ड एम्बेसडर हो, तर विवाद आउन थालेपछि ४ महिना पहिले छाड्नुभयो,’ उनले भने, ‘हामीसँग कलाकारहरु निकट भएपनि ग्रुपमा कलाकारहरु हुनुहुन्न ।’

यो ग्रुपले माडीको शिवद्वार होमस्टेमा सोलार, एसी राख्ने, सडकहरुमा सोलार जडान गर्ने, माडीका विपन्न विद्यार्थीलाई पढाउने, अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्ने जस्ता कामहरु गर्दै आएको छ । ४ वर्ष पहिले माडीको पाचपाण्डव, सेरुवा, धोवाहा, शिवद्वार, घाँघर लगायतका ठाउँमा काठमाडौंबाट आएका केही व्यक्तिले प्लटिङ गरेका थिए ।

यो पनि पढ्नुस

किरण केसी भन्छन् – कब्जा गरिएको जग्गा मेरो होइन, चरित्रहत्या भयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर