पारिबाट हेरिरहेका थिए श्रीमान, कर्णालीमा बगिन् धनसरा – Nepal Press

पारिबाट हेरिरहेका थिए श्रीमान, कर्णालीमा बगिन् धनसरा

कैलाली । आइतबार बिहान २४ दिनको छोरालाई खोप लगाउन धनसरा सलामीमगर र उनका श्रीमान् प्रेम सलामीमगर स्वास्थ्यचौकीतिर लागे । बच्चालाई खोप लगाएर बेलुका फर्केर घरको काम भ्याउनुपर्ने हतारोमा समेत थिए उनीहरू ।

करिब १० बजे उनीहरू मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ बिरौरा हिँडे ।
धनसरा र प्रेमसहित टोलीमा १७ जना थिए । उनीहरू बिजौरा जान कर्णाली नदी तर्नु पर्ने हुन्थ्यो । नजिक पुल नहुँदा काठको डुंगा तर्ने योजना बनाए ।

संख्या धेरै भएको हुँदा प्रेमसहित ७ जनाले पहिलो चरणमा नदी पार गरे। त्यसलगत्तै बाँकी रहेका १० जना लिन डुंगा फर्कियो । १० जनामा एक गर्भवतीसहित चार महिला, तीन शिशु र तीन पुरुष थिए ।

प्रेम पारि पुगिसक्दा धनसरा वारि नै थिइन् । धनसराको काखमा २४ दिनको शिशु कर्ण सलामी मगर पनि थिए । डुंगा चडेलगत्तै नदीमा बेग बढ्यो । हेर्दा हेर्दै डुंगा पल्टियो । १० जना भीषण भेलमा बगे ।

‘म पारि पुगेको थिएँ । अरु आउँदै थिए । मैले हेर्दाहेर्दै उनी बगिन्,’ विक्षिप्त बन्दै प्रेमले नेपाल प्रेसलाई सुनाए ‘नदीमा फाल हनेर बचाउन पनि सकिनँ ।’

नदीपारि रहेका ७ जना घटनास्थलसम्म पुग्न करिब अढाइ घण्टा लागेको थियो । त्यो बेलासम्म डुंगा पल्टिएकोबारे वरपर हल्लाखल्ला भइसकेको थियो । उद्धारका लागि युवाहरू पुगिसकेका थिए ।

धनसरालाई बगेको स्थानबाट करिब १ सय मिटर पर एक युवकले उद्धार गरे । त्यो बेलासम्म उनको अवस्था गम्भीर भइसकेको थियो । तर, बच्चा भने सकुशल थियो ।

‘१५ वर्षका एक किशाेरले आमाछोरा दुवैलाई पौडेर बचाएका थिए,’ मोहन्याल स्वास्थ्य चौकी प्रमुख जयानन्द जैशीले भने, ‘त्यो बेला आमा गम्भीर हुनुहुन्थ्यो । छोरा ठीक थियो ।’

यहाँबाट प्रत्येक महिनाको १७ गते स्थानीय गर्भवती महिला तथा शिशुहरुलाई खोप लगाउन सुर्खेत लैजानु पर्ने बाध्यता छ । नदीमा पुल नहुँदा यसरी जोखिम मोल्न बाध्य रहेको धनसराका ससुरा गोरबहादुर सलामीमागर बताउँछन् ।

‘यसरी सधैँ जोखिम मोलेर यहाँबाट वारपार गर्नुपर्ने बाध्यता थियो, आज यही कारणले ज्यान गयो ’ उनले भने, ‘पुल नहुँदा अझै कतिले ज्यान गुमाउनु पर्ने हो थाहा छैन ।’

नदीमा बगेका १० जनामध्ये दीपेन्द्र आले, श्रीमती हर्चना आले र ४ महिनाको छोरा शुसान्त आले थिए । उनीहरू तीनैजना भने सकुशल छन् । स्वास्थ्य चौकी प्रमुख जैशीका अनुसार दीपेन्द्रले डुंगा चलाइरहेक थिए । डुंगा पल्टिएपछि श्रीमान् र श्रीमतीले पौडेर बच्चाको ज्यान जोगाएको उनले बताए ।

कर्णाली नदीमा उर्मिला सलामी मगर र उनको १० दिनको छोरी प्राप्ति बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरू सँगै गर्भवती भएर टीटी खोप लगाउन हिँडेकी पार्वती थापा मगर पनि बेपत्ता छन् ।

विद्यार्थी पनि जोखिममा

यहाँका ४० जना भन्दा बढी विद्यार्थी नियमित पढ्न सुर्खेतको बिजौरामा रहेको जगन्नाथ माध्यामिक विद्यालय जाने गरेका छन् । उनीहरू प्रत्येक दिन यही डुंगामा जोखिम मोलेर जानुपर्ने बाध्यता रहेको स्थानीय पलमबहादुर भुलले जानकारी दिए ।

वर्षासँगै नदीमा भेल बग्ने हुनाले डुंगाबाट वारपार गर्ने जोकोही पनि बेलुका घर फर्केलान् कि नफर्केलान् भन्ने त्राहीत्राही हुन्छ । यहाँ अहिले नदी वारपारका लागि तीन वटा काठको डुंगा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *