नारायणकाजीलाई रोक्न गोरखाका माओवादी प्रचण्ड निवासमा, हरिलाई मन्त्री बनाउन दबाब – Nepal Press

नारायणकाजीलाई रोक्न गोरखाका माओवादी प्रचण्ड निवासमा, हरिलाई मन्त्री बनाउन दबाब

शिक्षा मन्त्रालयलाई नारायणकाजी गुटले रैथाने बनाउन खोजेको आरोप

काठमाडौं । अध्यक्ष प्रचण्डपछिको दोस्रो नेता तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ आफैं मन्त्री बन्न लागि परेपछि गोरखा माओवादीमा असन्तुष्टी चुलिएको छ ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका श्रेष्ठ राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका छन् । तर श्रेष्ठले आगामी चुनावमा राष्ट्रियसभाबाट राजिनामा दिएर गोरखामै चुनाव लड्ने तयारी समेत गरेका छन् ।

श्रेष्ठ पहिलो चरणमै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेर सरकारमा जान खोजेका थिए । तर अध्यक्ष प्रचण्डले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाएको कुरा सपथग्रहण भन्दा केही बेरअघिमात्र पार्टीका नेताहरुले थाहा पाएका थिए ।

श्रेष्ठ प्रधानमन्त्री र मन्त्रीहरुको सपथग्रहणस्थल शीतल निवासबाट बीचमै उठेर बाहिरिएका थिए । मन्त्री चयन गर्दा पार्टीमा सल्लाह नगरेपछि श्रेष्ठले दुई दिनसम्म प्रचण्डसँग नभेटी अशन्तुष्टी व्यक्त गरेका थिए ।

यसबीचमा श्रेष्ठले शिक्षा मन्त्रालय लिएर सरकारमा जाने कसरत गरेपछि उनलाई रोक्न गोरखाका माओवादी नेताहरु अध्यक्ष प्रचण्डको निवासमा डेलिगेसन समेत गएको एक जिल्ला नेताले बताए । उनीहरुले गोरखाबाट निर्वाचित माओवादी सांसद हरि अधिकारीलाई मन्त्री बनाउन प्रचण्डलाई दबाब दिएका छन् ।

श्रेष्ठले शिक्षा मन्त्री बन्न खोजेको चर्चा चलेपछि गोरखाका माओवादीहरु काठमाडौं आएका छन् । श्रेष्ठ सकेसम्म आफैं हुने र आफू हुन नसक्दा आफ्नो कोटाबाट अन्जना विशंखेलाई शिक्षा मन्त्री बनाउने पक्षमा छन् ।

सरकारमा नारायणकाजी पक्षले प्रायः सधैं एउटा मन्त्रालय पाउने गरेको छ । प्रायः शिक्षा र स्वास्थ्य मन्त्रालय लिने गरेका श्रेष्ठले पछिल्लो समय शिक्षामा जोड गरेका छन् । यसअघि गिरिराजमणी पोखरेल पटक-पटक श्रेष्ठको कोटाबाट शिक्षामन्त्री बनेका थिए ।

यसपटक पोखरेल दोहोरिने सम्भावना नरहेकाले नारायणकाजी समूहको रैथाने मन्त्रालय उनी आफैं वा उनले सिफारिस गरेका व्यक्तिलाई दिनुपर्ने दबाब छ । भागबण्डामा शिक्षा मन्त्रालय कसको भागमा पर्ने भने टुंगो छैन ।

यसअघि श्रेष्ठले आफ्नो कोटाबाट स्वर्गीय धनीराम पौडेललाई पनि शिक्षा मन्त्री बनाइसकेका छन् । श्रेष्ठ सरकारमा माओवादीको तर्फबाट आफ्नो नेतृत्वमा जानुपर्ने लबिङमा छन् । तर माओवादीकै कतिपय नेताले प्रतिनिधिसभा सदस्य पराजित भएको व्यक्ति संविधान बमोजिम यो प्रतिनिधिसभाको कार्यकाल रहेसम्म मन्त्री बन्न नपाउने तर्क गरिरहेका छन् ।

गोरखाका एक माओवादी नेताले भने- प्रचण्डले एक्लै मन्त्री छान्ने जिम्मा पाउँदा हरि अधिकारी पर्छन् । तर शिक्षा मन्त्रालयलाई नारायणकाजी गुटले आफ्नो रैथाने मन्त्रालय बनाउन खोजेको छ । पाए आफू नत्र आफ्नो गुटका मान्छे मन्त्री बनाउने पूरानै परिपाटी यसपटक पनि घुर्कीका रुपमा दोहोरिएको छ ।

माओवादी स्रोतका अनुसार मन्त्री छान्ने जिम्मा प्रचण्ड एक्लैलाई दिन नहुने लबिङ पनि चलिरहेको छ । स्थायी कमिटीले प्रचण्डसहित तीन नेतासम्मलाई मन्त्री चयन गर्ने जिम्मा दिदा श्रेष्ठ सरकारको नेतृत्व गरेर जाने सम्भावना हुन्छ ।

अध्यक्ष प्रचण्डले केही समयअघि माओवादीमा मन्त्री बन्नका लागि जे पनि गर्ने प्रवृति बढेको भन्दै ४९ जना सांसदलाई नै मन्त्री चाहिएको बताएका थिए । माओवादीबाट प्रतिनिधिसभामा प्रचण्ड र अग्नि सापकोटासहित ४९ सांसद छन् । उनीहरु दुई जना मन्त्री बन्ने सम्भावना छैन ।

त्यसो भए ४९ औं व्यक्ति को हो त ? व्यंग्य गर्दै एक माओवादी नेताले भने- त्यो भनेको कमरेड नारायणकाजी श्रेष्ठ (प्रकाश) हुन् । अर्का दाबेदार राष्ट्रियसभाकै रामनारायण विडारी पनि भएकाले ४९ जना भनेका होलान् सिएमले ।

माओवादी स्थायी कमिटीमा सांसद रहेकामध्ये हालसम्म एक पटक पनि मन्त्री बन्न नपाएका देवेन्द्र पौडेलमात्र छन् । यसपटक देवेन्द्रलाई मन्त्री बनाएर पटक-पटक मन्त्री बनेका स्थायी कमिटीका नेता छाडेर अरुलाई अवसर दिन प्रचण्डमाथि दबाब छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर