सरकारको न्यूनतम कार्यक्रम- संविधान संशोधनदेखि ओली सरकारका नियुक्ति खारेजीसम्म – Nepal Press

सरकारको न्यूनतम कार्यक्रम- संविधान संशोधनदेखि ओली सरकारका नियुक्ति खारेजीसम्म

काठमाडौं । सरकारलाई सहयोग गर्न गठित सत्तारुढ गठबन्धनको कार्यदलले न्युतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । कांग्रेस महामन्त्री पूर्णवहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको मस्यौदा शीर्ष नेताहरूले अध्ययन गरेपछि एक दुई दिनमै सार्वजनिक गरिने भएको छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित डा. मिनेन्द्र रिजाल र रमेश लेखक छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टीबाट महीन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन् ।

कार्यदलले जसपाको माग सम्बोधनका लागि संविधान संशोधनदेखि केपी ओली सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेजीसम्मका विषयहरूलाई मस्यौदामा समेटेको एक सदस्यले बताए । ओलीका नियुक्ति खारेज गर्दा अदालतबाट पुनर्वहाली हुन नसक्ने उपाय समेत खोजी भइरहेको छ ।

यसअघि एउटा सरकारले गरेका नियुक्ति अर्को सरकार आएर खारेज गरे पनि सम्बन्धित व्यक्ति अदालतबाट पुनर्वहाली भएर आउने गरेकाले यसपटक अदालतबाट अन्तरिम आदेश आउन नदिने गरि उपाय खोजी भइरहेको हो ।

जिल्लादेखि केन्द्रसम्म विभिन्न निकायमा ओली सरकारले राजनीतिक नियुक्ति गरेको छ । ती ठाउँमा गठबन्धनका सयौं नेता कार्यकर्तालाई समेट्नका लागि हटाउने उपायको खोजी भइरहेको छ । राजनीतिक नियुक्तिमा एमालेको माधव नेपालले पनि भाग पाउँनेछ ।

त्यस्तै संविधान संशोधनको लागि कार्यदल बनाउने वा कसरी जाने भन्ने बारेमा पनि मस्यौदामा उल्लेख हुनेछ । यसअघि केपी ओली सरकारका पालामा जसपाको महन्थ ठाकुर पक्ष समेटर संविधान संशोधन कुन-कुन विषयमा गर्ने भन्ने कार्यदल बनेको थियो ।

सरकारका कामहरु प्रभावकारी र जनताले महशुस गर्ने खालका कसरी बनाउने भन्ने विषयमै न्युनतम साझा कार्यक्रम केन्द्रित रहने नेताहरुले बताएका छन् । मिनेन्द्र रिजाल, देव गुरुङ र राजेन्द्र श्रेष्ठले मस्यौदालाई अन्तिम रूप दिएपछि कार्यदलले निर्णय गरेर शीर्ष नेतालाई दिने छ ।

शीर्ष नेताहरूको बैठक आजै बस्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर