म सिरियसली भन्छु- ओलीबाहेकको मात्रै एमाले हुन्छः मेटमणी चौधरी – Nepal Press
नेपाल टक

म सिरियसली भन्छु- ओलीबाहेकको मात्रै एमाले हुन्छः मेटमणी चौधरी

हाम्रो समूहका वार्ताकारहरू शक्ति राष्ट्रको प्रभावमा परे

नेकपा एमालेको माधव नेपाल समूहभित्रका ‘हार्ड लाइनर’ नेताका रूपमा चिनिन्छन् मेटमणी चौधरी । वार्ता कार्यदलमा रहेका नेताहरूलाई माधव नेपालले विश्वास गर्न छाडेपछि चौधरी सो समूहको आधिकारिक व्यक्तिका रूपमा हाइलाइटमा आएका छन् ।

केही समयअघि नेपाली कांग्रेसका एक प्रदेश सांसदले तत्कालीन प्रधानन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्ने कुरा गर्दा चौधरीले उनको खुला समर्थन गरेका थिए । अहिले पनि उनी ओलीको उग्र विरोध गर्दै आइरहेका छन् । हामीसँगको कुराकानीमा चौधरीले ओलीमुक्त एमाले बनाउने दावी गरे ।

आफ्नो समूहका वार्ताकारहरूलाई विभिन्न आरोप लगाउँदै चौधरीले उनीहरू विदेशी शक्तिराष्ट्रको प्रभावमा आएको समेत आशंका गरेका छन् । पार्टी एकताका लागि गरिएको सहमति तुहिएको भन्दै उनले एमाले नेतृत्वमा केपी ओली हुँदासम्म एकता नहुने बताए ।

प्रस्तुत छ, एमाले केन्द्रीय सदस्य तथा सांसद चौधरीसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :-

– एमालेजनहरू पार्टी जुट्छ कि फुट्छ भनेर व्यग्र प्रतीक्षामा छन् । तपाईंहरू न मिल्न सकिरहनुभएको छ, न फुट्न । एमालेको यो संक्रमणकालीन अवस्थालाई कहिलेसम्म टुंग्याउनुहुन्छ ?

केपी ओलीको अपराधकै कारण एमाले यहाँसम्म आइपुगेको हो । त्यसकारण एमालेलाई ठीक ठाउँमा ल्याउने भूमिका पनि उनले नै निभाउनुपर्छ । अहिले पनि ओली आफूले गरेको अपराध चाहिँ पुनरावलोकन गर्न चाहँदैनन् । अहिले पनि आफूले गरेको कामलाई ठीक हो भनेर ‘जस्टिफाइ’ गर्न कोसिस गरिरहेका छन् ।

ओली आफूलाई जति चाँडै ‘करेक्सन’ गर्छन्, त्यति चाँडै यो संक्रमणकालीन अवधि छोटो हुन्छ । तर, गलत काम गर्ने, अपराधिक काम गर्ने, अनि त्यो विषयमा सच्चिन नखोज्ने, नचाहने । उल्टो अरुलाई आममाफी दिएँ भन्ने । मानौं उनी श्री ५ महाराजधिराज हुन् । उनी त्यो तरिकाले प्रस्तुत हुँदा अझैं नेकपा (एमाले) को संक्रमणकालीन अवधि लम्बिन्छ जस्तो म देख्छु ।

– तर, पछिल्लो समय त ओलीले लचकता देखाएकै होइन र ?

छैनन् । उनी अरुलाई आममाफी दिने, कारवाही हुँदैन भन्ने तहसम्म त पुगेका छन् । तर, यीनले राष्ट्रविरुद्ध, संविधानविरुद्धको अपराध गरेका छन् । समग्र नेपाली जनता जो कम्युनिष्ट आन्दोलनलाई सकारात्मक कोणबाट हेर्छ, त्यो जनताप्रति र सर्वोच्च अदालतविरुद्ध अपराध गरेका छन् । यस विषयमा उनी ‘एक्सक्यूज’ हुनै पर्छ । आफूले गल्ती स्वीकार नगर्ने अनि अरुलाई आममाफी भनेर हुँदैन । उनी आफैंले देश, संविधान, कानूनका विपक्षमा जे जति काम गरेका थिए, त्यो सबै जान-अन्जानमा भएको थियो । यदि अन्जानमा भए मलाई माफी गर्नुहोस्, म क्षमायाचना गर्न चाहन्छु, सबै जनतासँग माफी माग्न चाहन्छु भन्ने पोजिसनमा उनी पुगे भने नेकपा (एमाले) मिल्छ ।

एउटा गन्तव्य प्राप्तिका लागि हिँडियो भने त्यो ठाउँसम्म पुग्नुपर्छ । बीचमै हराउने, बीचमै तुहाउने जत्तिको राजनीतिक अपराधी अरु कोही हुन सक्दैन । सर्वोच्चमा गएर देउवालाई प्रधानमन्त्री बनाउन सिग्नेचर गर्ने, अनि विश्वासको मत दिने बेला भाग्ने कुरा हुन्छ ? यो भगुवा, राजनीतिक अपराधीबाहेक केही हुन सक्दैन ।

– माफी कोसँग माग्ने ? पार्टी कमिटीभित्र कि आम जनतासँग ?

उनले पार्टी प्रणाली वा नेकपा (एमाले) को कमिटीभित्र पनि माग्न परेन । नेपाली जनताको अगाडि सार्वजनिक रूपमा मागे पुग्छ । तर, उनी त्यो गर्न तयार छैनन् । आफूले जे अपराध गरेका थिए, त्यसलाई इतिहासमा दर्ज गराउन चाहँदैनन् । उनी माफी माग्दैनन् । माफी नमाग्दासम्म एमाले मिल्ने ठाउँमा पुग्दैन ।

– तपाईंकै समूहबाट कार्यदलमा बसेका नेताहरू त अब पार्टी मिल्नै आँट्यो, विवाद गर्नुपर्ने विषय नै छैनन् भन्नुहुन्छ । तपाईंहरू बीचमै तालमेल नमिलिरहेको हो ?

एउटा पार्टीमा दर्शन र विचारको छलफल त हुन्छ । आफ्नो समूहभित्र, आफै भित्र पनि ठीक, बेठीक भन्ने कुरा आउन सक्छ । उहाँहरूलाई कुनै तरिकाले विश्वास लाग्न सक्छ, आत्मविश्वास बढ्न सक्छ । र, कुनै कारणले नेकपा (एमाले) मिलाउनुपर्छ भन्ने ठाउँमा पुग्नुभएको होला । तर, सरसर्ती हेर्दा एमाले मिल्ने पोजिसनमा, मिल्ने ठाउँमा छैन । १० बुँदेभित्र पनि एमालेलाई सग्लो राख्नेगरी सहमति, सम्झौता त भएको छैन । फेरि १० बुँदे एउटा मस्यौदा न थियो ।

मुख्य नेता भनेको कि त केपी ओली हुन्, कि त माधवकुमार नेपाल हुन् । अरु त होइनन् । त्यो नभएपछि त्यो ‘ड्राफ्ट’ लाई दुवैजनाले हेर्ने र फाइनल हुन त सकेको छैन । उहाँहरूले प्रारम्भिक सस्यौदा चाहिँ तयार पार्नुभयो । त्यसमा सुधार गर्नुपर्ने देखियो । र, त्यो अन्तिम चरणमा नजाँदै बीचमै तुहिएको छ । उहाँहरू (कार्यदलमा रहेका सदस्यहरू) ले आफ्ना तर्क त राख्न सक्नुहुन्छ, तर यो फाइनल भएको थिएन ।

केपी ओली नेकपा (एमाले) मा रहँदासम्म मिल्ने कुरा हुँदैन । अब हामीले दुईटा काम गर्छौं- कि केपी ओलीलाई १५/२० दिनभित्र संसदीय दलबाट हटाउँछौं, कि केन्द्रीय कमिटीबाट अध्यक्षबाट हटाउँछौं ।

हामीले नेकपा (एमाले) भनिरहेका छौं । मलाई के लाग्छ भने नेकपा (एमाले) भन्ने पार्टी यो दुनियाँमा अथवा मुलुकमा छैन । कि केपी ओलीको एउटा समूह छ । कि माधव नेपालको समूह छ । नेकपा (एमाले) हुनका लागि २०७५ जेठ २ मा फर्किनुपर्छ । त्यस बेलाको कमिटी २०३ जनाको हो । त्यो कमिटीमा आइसकेपछि मात्रै नेकपा (एमाले) मा फर्किने कुरा हुन्छ ।

तर, १० बुँदामा के छ भने जेठ ३ गते थपिएका ४४ जना, फागुन २८ गते थपिएका, एमालेसँग कुनै पनि प्रकारको साइनो नभएका २३ जना सबै एमाले हुन् । सबैलाई समावेश गरेर २ सय ६४ जनाको कमिटी बनाउनुपर्छ भन्ने छ । एकातिर सर्वोच्चले जेठ २ गतेतिर फर्क भनेको छ, त्यतिबेलाको कमिटीतर्फ फर्क भनेको छ । अनि १० जना कमरेडहरूले एमाले नै मास्नेगरी अर्को सहमति गर्ने हैसियत राख्नुहुन्न । सबथोक उहाँहरू त होइन नि त ।

त्यसैले हामी संविधान मान्ने, कानून मान्ने, जनताको बहुदलीय जनवाद मान्नेहरूका लागि सबैभन्दा ठूलो भनेको सर्वोच्च अदालत हो । सर्वोच्चले जे फैसला गरेको छ, त्यसैलाई मध्यनजर गरेर, त्यसैलाई केन्द्रविन्दु बनाएर एमालेको शुरूआत गर्नुपर्छ ।

– त्यसोभए तपाईंहरूको समूहबाट कार्यदलमा जानुभएका नेताहरूले माधव नेपाललाई धोका दिएर सहमति गर्नु भएको हो ?

माधव नेपालले उहाँहरूलाई वार्ताका लागि पठाइसकेपछि उहाँहरूले प्रत्येक दिन माधव नेपालसँग समन्वय गरेर सहमति गर्ने ठाउँमा पुग्नुपर्थ्यो । तर, उहाँहरूले केपी ओलीको निर्देशनमा माधव नेपाललाई घेर्ने काम गर्नु भयो । सहमति, सम्झौता त लिने-दिने हो । तर, एकलौटी निर्णय गर्ने कुरा, एकलौटी सहमति अथवा एउटै नेताको पक्षमा सहमति गराउने र अर्कालाई घेर्ने कुरा राम्रो हुँदैन ।

कमरेडहरूले पहिले त राम्रै गर्नुभएको थियो । पछि १० बुँदामा आएर उहाँहरू धेरै चुक्नु भएको छ । १० बुँदे अन्तिम कुरा पनि थिएन । उहाँहरूले हस्ताक्षर गर्नु भएको थिएन । त्यसैले त्यो अमान्य भयो । केही करेक्सन गरेर जाउँ भन्ने कुरा थियो, त्यो बीचमै तुहियो । अहिले कार्यदलसमेत विघटन भइसकेको छ ।

– यसअघि जसलाई माधव नेपालले सबैभन्दा बढी भरोसा गर्नुहुन्थ्यो, उहाँहरूले नै माधव नेपाललाई विश्वासमा नलिई अघि बढ्नुभयो ?

उहाँहरूले विश्वासघात गर्नुभयो । कि त साथीहरूले माधव नेपालको मनोविज्ञान बुझेर अगाडि बढ्नुपर्थ्यो, कि त राजीनामा गर्नुपर्थ्यो । यतिसम्म निकृष्टता देखाइरहनुभएको छ कि विघटन भएको कार्यलको पनि बैठक बसिरहनुभएको छ ।

यसमा ‘हिडन इन्ट्रेस्ट’के छ, त्यो पछि नै थाहा होला । तर, नेकपा (एमाले) मिलाउने भनेको केपी ओली र माधव नेपालबीचको व्यक्तिगत लडाइँ होइन । यो कुरा स्पष्टसँग बुझ्नुपर्छ । यो भनेको मुलुकको प्रणालीलाई जोगाउने या ‘कोल्याप्स’ गर्ने ? मुलुकको संविधानलाई नष्ट गर्ने या त्यसलाई जोगाएर अघि बढ्ने ? यो दुईटा विचारबीचको लडाइँ हो । यो लडाइँमा १० जना कमरेडहरूले आफ्नो इन्ट्रेस्ट राखेर अथवा आफूलाई सेभ गरेर जुन सहमति गर्नु भएको छ, यो बेठिक थियो । संविधानलाई बीचमा राख्नुपर्थ्यो, कम्युनिष्ट आन्दोलनलाई बीचमा राख्नुपर्थ्यो ।

– जो नेताहरू विगतमा हार्डलाइनरका रूपमा चिनिनुहुन्थ्यो, केपी ओलीको असाध्यै विरोध गर्नुहुन्थ्यो, अहिले लचक भएर मिल्ने हतारो देखाउनुको कारण के होला ?

पहिलो, जब मान्छेको मनमा लोभ पलाउँछ, तब आफ्ना अडान सबै छोड्ने काम हुन्छ । दोस्रो कुरा, उहाँहरूलाई कुनै न कुनै शक्तिराष्ट्रले या त लोभ देखाएको हुन सक्छ या त प्रेसर गरेको हुन सक्छ । केपी ओलीको सरकार टिकाउनका लागि भारतले हदैसम्मको प्रयास गरेको छ । नेपालको कम्युनिष्ट पार्टीको सरकारलाई टिकाउन भारत किन लाग्यो ?

हो, ४० प्रतिशत पुर्‍याएर अर्को पार्टी बनाउँछौं । त्यसपछि हामी बृहत् एकीकरणको प्रक्रियामा छिर्छौं । एमालेमा रहेर कम्युनिष्ट आन्दोलनलाई कोल्याप्स गर्ने कि बृहत्तर कम्युनिष्ट एकीकरण गरेर फेरि मुलुकको ठूलो पार्टी बनाउने ?

एक दिनको बसाइले अथवा भारतीयहरूसँगको बसाइले उहाँहरू यति धेरै किन परिवर्तन हुनुभयो त्यो त पछि नै थाहा होला । तर, सबैथोक १० जना मात्रै होइन । उहाँहरूको कुरा नै मान्न सकिन्न । प्रणालीमा नल्याउने, आफ्नो स्वार्थका लागि काम गर्ने, अनि त्यसलाई मानिदिनुपर्ने कुरा हुँदैन ।

– तर, कार्यलदमा रहेका भीम रावल र घनश्याम भुसालहरू एमाले फुटाउन देशी-विदेशी लागे, एमाले विभाजित भए देशको सार्वभौमिकतामा समेत खतारमा पर्छ भनिरहनुभएको छ त ?

यो पूरै बेठीक कुरा हो । यात उहाँहरू स्वार्थलिप्सामा हुनुहुन्छ, यात उहाँहरूमा दृष्टिभ्रम छ । संसारको कुन कम्युनिष्ट आन्दोलन विभाजन भएर सकिएको छ ? एउटा पनि त्यस्तो उदारण छैन । बरु के देखिएको छ भने नेताहरूको कारणले, बेठिक नेतृत्वको कारणले कम्युनिष्ट आन्दोलन सकिएको छ ।

भारतकै पश्चिमबंगाल, केरलालगायत धेरै प्रान्तमा कम्युनिष्टकै सरकार थियो । तर, त्यो पार्टी आज एउटा पनि क्षेत्र जित्न नसक्ने अवस्थमा किन पुग्यो ? त्यो विभाजन भएर होइन, अथवा त्यहाँका नेताहरूबीच लडाइँ भएर होइन । एकीकृत थिए, एकताबद्ध थिए तर उनीहरूले जनताको पक्षमा राम्रो नीति ल्याउन सकेनन्, जनताको मनोविज्ञानमा राम्रो प्रभाव पार्न सकेनन् ।

२५/३० वर्ष कम्युनिष्ट शासन सम्हालेको कम्युनिष्ट आन्दोलनलाई टुकी बालेर खोज्नुपर्छ । रसियामा ७१ बर्ष कम्युनिष्ट पार्टीको सरकार चल्यो । त्यहाँ कम्युनिष्ट पार्टी विभाजन भएर विघटन भएको होइन । यति नराम्रोसँग विघटन भयो, ७ करोड पार्टीको संगठित सदस्य थिए । रसियन पार्टी विघटन हुँदा एकजना मान्छे सकडमा आएनन् । सबैले त्यसको सर्मथन गरे । त्यसैले जब नेता बिग्रिन्छ अथवा नेता बेठिक हुन्छ, सिद्धिनलाई विभाजन हुनुपर्दैन ।

नेपालमा पनि एमाले हामी एक ठाउँमा रह्यौं रे । के एमाले एक ठाउँमा रहेर हामीले कम्युनिष्ट आन्दोलन र एमाले जिताउने छौं ? तपाईं लेखेर राख्नुहोस्, हामी एउटा निर्वाचन क्षेत्र जित्न सक्दैनौं । नेकपा एमालेको पक्षमा भोट हाल्ने मान्छे छन्, मान्छे थिए । तर, आज केपी ओलीले जसरी पटक-पटक प्रतिनिधिसभा विघटन गरे र अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे यसको ‘जस्टिफाइ’ त हामी राजनीतिक रूपमा गर्न सक्दैनौं ।

हामीलाई जनताका बीचमा प्रश्न गर्छन् नि । प्रतिनिधिसभा भंग गर्नुपर्ने छ भने किन तपाईंहरूलाई भोट हाल्ने ? दुई तिहाईको कम्युनिष्ट सरकारलाई टिकाउन नसक्ने पार्टीलाई किन भोट हाल्ने ? यो प्रश्न त उठ्छ नि ।

तपाईं मलाई १ सय ६५ निर्वाचन क्षेत्र देखाइदिनुहोस्, हामी कुन क्षेत्रमा जित्छौं ? संसदीय फाँटमा हामी गइसकेपछि हामी प्रतिनिधिसभा जित्न नसक्ने, प्रदेशसभा जित्न नसक्ने, स्थानीय तह जित्न नसक्ने । अनि त्यो कम्युनिष्ट पार्टी जिवित रहन्छ ? बरु हामीले अर्को कम्युनिष्ट पार्टी बनाउने, उपेन्द्र यादवसहितको एकिकृत कम्युनिष्ट पार्टी बनाउने हो भने बरु, हामी फेरि पनि मुलुकमा सबैभन्दा ठूलो पार्टी हुन सक्छौं । फेरि कम्युनिष्ट पार्टीको मान्छेलाई प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री बनाउन सक्छौं । तर, एमालेमा रहेर, ओली अध्यक्ष रहेर एउटा क्षेत्र पनि जित्न सक्दैनौं ।

मुख्य कुरा मुद्दा हो, एजेन्डा हो । लाखौं, करौंडौ मान्छेले समर्थन गर्दा पनि यदि तपाईंसँग राम्रो इस्यू, राम्रो एजेन्डा भएन भने सकिने नै हो ।

– आफैंले हिजो प्रतिगमनकारी भनेका केपी ओली नसच्चिइ, अथवा उनले आफ्नो कदममा आत्मआलोचित नभइ जनतामाझ के भनेर जाने भन्ने तपाईंहरूको संकोच हो ?

हामीले ५० वर्षपछि पनि यसको जवाफ दिनुपर्छ । त्यसैले केपी ओली नेकपा (एमाले) मा रहँदासम्म मिल्ने कुरा हुँदैन । अब हामीले दुईटा काम गर्छौं- कि केपी ओलीलाई १५/२० दिनभित्र संसदीय दलबाट हटाउँछौं, कि केन्द्रीय कमिटीबाट अध्यक्षबाट हटाउँछौं ।

– त्यो कसरी सम्भव हुन्छ, तपाईंहरू त एउटा सानो समूहमा हुनुहुन्छ ?

सानो समूह होइन । केन्द्रीय कमिटीमा हामी हाराहारीकै पोजिसनमा छौं । केपी ओलीले गरेका बेठीक कामको विषयमा धेरै सन्तुष्ट छन् । केन्द्रीय कमिटीका सदस्यहरू सन्तुष्ट छैनन् । सन्तुष्ट नभएपछि हामी बहुमतको आधारमा हटाउन सक्ने पोजिसनमा पुग्छौं ।

– संस्थापन पक्षबाट पनि तपाईंहरूलाई साथ दिन आउँछन् ?

आउँछन् ।

– सांसदहरू पनि बहुमत पुग्नेगरि आउँछन् ?

धेरै सम्भावना छ । अहिले पनि हामी सबै एक ठाउँमा हुँदा ४०/४५ को हाराहारीमा त छौं । हामीलाई चाहिएको संख्या भनेको ४८ हो । अझैं आउन चाहेका २५/३० जना छन् । त्यसैले संसदीय दलमा हाम्रो बहुमत पुग्छ ।

संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाएर ओलीमुक्त एमाले बनायौं भने जनताको बीचमा पुग्न सक्छौं । त्यसपछि जस्टिफाइ हुन्छ- ओलीले बेठीक गरेका थिए, उनलाइ हटाएम । हामी आएका छौं भन्ने ठाउँ त रहन्छ ।

– तपाईंहरू अध्यक्ष ओलीले बोलाएको बैठकमा पनि जानुहुन्न । त्यो काम गर्नलाई पनि त कुनै कमिटी, प्रणालीमा जानुपर्ला ?

ओलीले कसको बैठक बोलाउँछन् ? ओलीले बैठक बोलाउने भनेको बादलसहितको हो । हामी त्यो बैठकमा जानेबित्तिकै ओलीलाई स्वीकार गरेको हुन्छ ।

अहिले सर्वोच्च अदालतले समेत ओलीको पार्टीलाई खारेज गरिसकेको छ । अनि सर्वोच्चले समेत खारेज गरिसकेको, संविधान मान्ने हामी पार्टीका मान्छेहरू खारेज गरिसकेको पार्टी अध्यक्षले बोलाएको बैठकमा जानुहुन्छ ?

-संसदीय दल होस् या केन्द्रीय कमिटी, ओलीलाई हटाउनुपर्छ भन्ने ‘होमवर्क’ तपाईंहरू गरिरहनु भएको छ ?

नहटाई कुनै उपाय नै छैन नि । कि त अर्को पार्टी बनाउनुपर्‍यो, कि त ओलीलाई हराउनुपर्‍यो । त्यसैले यसको पनि तयारी भइरहेको छ । अर्को पार्टी निर्माणको पनि तयारी भइरहेको छ । र, एकीकृत कम्युनिष्ट पार्टी, बृहत् कम्युनिष्ट एकीरकरणको पनि तयारी भइरहेको छ ।

– तपाईंको भनाइअनुसार ओलीसँग वा ओलीसहितको एमाले एकता भनेको चाहिँ बेकारको कुरा हो भन्ने सार निकाल्दा हुन्छ ?

एउटामात्रै कुहिएको आलु राख्ने हो भने अरु सबै आलु पनि कुहिन्छ । ओलीलाई नेकपा (एमाले) भित्र राखेर अगाडि बढ्यो भने आउँदो चुनावमा धुलोपिठो हुने नै हो । एमाले धुलोपिठो हुनेबित्तिकै सिंगो कम्युनिष्ट आन्दोलन सक्किने हो । त्यसैले म सिरियसली भन्छु- ओली बाहेकको मात्रै एमाले हुन्छ ।

– त्यसो हो भने तपाईंहरूले एक्सन चाहिँ किन लिन सक्नुभएको छैन । तपाईंहरू अलमलमा रहेको जस्तो देखियो नि ?

होइन, हामी स्पष्ट छौं । फेरि भन्छु- सकिन्छ ओलीलाई दुवै ठाउँ (पार्टी अध्यक्ष र संसदीय दल) बाट हटाउन । त्यसका लागि १५/२० दिन समय लाग्छ । यदि सकिन्न भने अर्को पार्टी बनाउने ।

– त्यो भनेको ४० प्रतिशत पुर्‍याएर एमाले फुटाउने पनि हो ?

हो, ४० प्रतिशत पुर्‍याएर अर्को पार्टी बनाउँछौं । त्यसपछि हामी बृहत् एकीकरणको प्रक्रियामा छिर्छौं । एमालेमा रहेर कम्युनिष्ट आन्दोलनलाई कोल्याप्स गर्ने कि बृहत्तर कम्युनिष्ट एकीकरण गरेर फेरि मुलुकको ठूलो पार्टी बनाउने ?

– तपाईंकै साथीहरू त फुट्नेतिर जानुहुँदैन, हाम्रो राजनीतिक भविष्य सकिन्छ भनिरहनु भएको छ नि ?

उहाँहरूले त चुनाव, टिकट र सांसदमात्रै देख्नु भएको छ । यस्ता मान्छेहरू अवसरवादी हुन् । संसारका जति कम्युनिष्ट आन्दोलन सकिएको छ, त्यसको इतिहास उहाँहरूले पढ्नु भएको छैन । उमेरको हिसाबले पहिले जन्मिनुभयो । कोही उपाध्यक्ष हुनु भएको छ, कोही स्थायी कमिटी सदस्य हुनु भएको छ । तर, अध्ययन र विश्लेषण पुग्दो छैन भन्ने मलाई लाग्छ ।

आन्दोलन विभाजन भएर सकिदै सकिन्न, मुख्य नेताहरूका कारण सिद्धिन्छ । यो कुरा उहाँहरूले बुझ्नुपर्छ ।

– कार्यदलमा जो जानु भएको थियो, अब चालिने कदममा उहाँहरू तपाईंहरू सँगसँगै हुनुहुन्छ ?

उहाँहरू सँगै रहनुहुन्छ ।

– माधव नेपाललाई अन्तिम समयमा पनि साथ दिनुहुन्छ ?

साथ दिनुहुन्छ ।

– अर्को पार्टी बनाउने अवस्थामा पनि उहाँहरूले साथ दिनुहुन्छ ?

साथ दिनुहुन्छ, दिनुपर्छ ।

– दिनुपर्छ कि दिनुहुन्छ ?

दिनुहुन्छ । उहाँहरू के स्वार्थले ओली ठीक छ, ओलीसँग मिल्नुपर्छ भनिराख्नु भएको छ । तर, पछि फेरि पनि अलग्गै हुने ठाउँमा, अलग्गै हुने परिस्थितिमा पुगेपछि त उहाँहरू पनि आउनै पर्छ । त्यसको विकल्पै छैन । कित ओलीसँगै नासिनुपर्‍यो । नभए बाँच्ने, जोगाउने छ भने आउनै पर्छ ।

हामी सरकारमा जान्छौं । किनकी देउवालाई प्रधानमन्त्री बनाउका लागि धेरै मेहनत गर्नुपर्‍यो । उनी प्रधानमन्त्री बन्ने अवस्था पनि थिएन । उनलाई प्रधानमन्त्री बनाउन हामीले सर्वोच्च अदालतमा समेत हस्ताक्षर गर्‍यौं । संसदमा विश्वासको मत दियौं । अनि सरकारमा नजाने कुरा हुन्छ ?

– ओली स्वयम् माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको कुरा आइरहेको छ । वास्तविकता के हो ?

दुईटा अध्यक्ष बनाउने व्यवस्था पार्टी विधानमै छैन । कुनै पनि संविधानमा दुईटा अध्यक्ष हुने व्यवस्था नै छैन । कम्युनिष्ट पार्टीको त के, पुँजीवादी राजनीतिक पार्टीमा पनि त्यो हुँदैन । त्यसैले नभएको कुरा गरेर हुन्छ ? यो प्रस्ताव आए पनि माधव नेपाल दोस्रो अध्यक्ष बन्ने अथवा बराबरी हैसियतको अध्यक्ष बन्न जानुहुन्न ।

– त्यो उहाँले स्वीकार गर्नु भएको छैन ?

मान्नै भएन नि । विधानमा नराख्ने, विधानमा नमान्ने । अनि कुनै पनि ठाउँमा त्यसको अभ्यास नुहने । अनि माधव नेपाल फेरि अध्यक्ष बन्न जाने कुरा हुन्छ ? उहाँ जानुहुन्न ।

– माधव नेपालले नै म चाहिँ अध्यक्ष बन्दिनँ, वरिष्ठ नेता झलनाथ खनाललाई बनाए हुन्छ अथवा अध्यक्षमण्डल बनाऊँ भन्नुभएको कुरा आएको छ नि ?

त्यो त उहाँले नपत्याएको कुरा हो । ओलीले गरेको कुरा एक सेकेन्ड पनि टिक्दैन । टिके पनि उनी हैन भनेर भनिदिन्छन् । माने पनि मैले यो कारणले भन्दिएको हुँ भन्छन् । त्यसैले उनको कुरालाई कसैले पत्याएका छैनन् ।

यही कुरा उहाँले झलनाथ खनाल कमरेडलाई पनि प्रस्ताव गर्नुभयो-के तपाईं जानुहुन्छ शक्तिशाली अध्यक्ष हुन । झलनाथ खनालले ठाडै इन्कार गर्नुभयो । ओलीले भनेका कुरा कुनै पनि नेताले स्वीकार गर्ने पक्षमा हुनुहुन्न । किनकी उनले एक दिनमा पाँचवटा त प्रधानमन्त्री बनाउँछन् । यो कुरा सबै नेताले बुझ्नु भएको छ । सबैले बुझेपछि ओलीका कुरालाई सामान्यरूपमा उडाउने कुरा भइरहेको छ, उनको विगतको व्यवहारको कारणले ।

– केपी ओलीले अघि सारेका प्रस्ताव र उनले भनेका कुरामा माधव नेपालको विश्वास छैन ?

विश्वासै छैन ।

– यो सरकार बनाउन तपाईंहरूको पनि महत्वपूर्ण भूमिका थियो । अहिले तपाईंहरूलाई नै पर्खिएका कारण मन्त्रिपरिषद् विस्तार गर्ने कुरा पनि रोकिएको छ । तपाईंहरू सरकारमा जानुहुन्छ कि हुन्न ?

हामी सरकारमा जान्छौं । किनकी देउवालाई प्रधानमन्त्री बनाउका लागि धेरै मेहनत गर्नुपर्‍यो । उनी प्रधानमन्त्री बन्ने अवस्था पनि थिएन । उनलाई प्रधानमन्त्री बनाउन हामीले सर्वोच्च अदालतमा समेत हस्ताक्षर गर्‍यौं । संसदमा विश्वासको मत दियौं । अनि सरकारमा नजाने कुरा हुन्छ ?

सरकारमा किन जानुपर्छ भने प्रतिनिधिसभालाई पूरै कार्यकाल टिकाउनुपर्छ । यदि हामी सरकारमा गएनौं भने फेरि अर्को प्रधानमन्त्री अथवा सरकार फेरिने चक्रमा मुलुक फस्छ । त्यसैले प्रतिनिधिसभालाई पुरै कार्यकाल टिकाउनका लागि सरकारमा हाम्रो सहभागिता हुनुपर्छ ।

यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने, त्यसपछि हाम्रो उपस्थिति हुने अनि जनतालाई हाम्रो सरकार छ, सर्वोच्चले गरेको पुन:स्थापना ठीकै छ भन्ने सन्देश मनोवैज्ञानिकरूपमा दिनुपर्छ ।

– तपाईंहरू सरकारमा सहभागी हुन कसरी मिल्छ ? कि एमालेले निर्णय गर्नुपर्‍यो, कि तपाईंहरूले छुट्टै दल बनाउनुपर्‍यो । कानुनी रूपमा त तपाईंहरू सरकारमा जान मिल्दैन नि ?

कानूनीरूपमा मिल्दैन । कानूनीरूपमा केही व्यवधान छन् । यसलाई हामीले कसरी सम्बोधन गर्ने भनेर सल्लाह गर्दैछौं ।

– तपाईंले सरकारमा जानुपर्छ भनिरहँदा तपाईंहरूकै साथीहरू (जो देउवालाई विश्वासको मत दिँदा अनुपस्थित भए) ले तपाईंहरू सरकारमा जानलाई मरिहत्ते गर्नुभएको छ, त्यसैले पार्टी फुटको पनि प्रवाह नगरी ‘हार्डलाइनर’ बन्नु भएको छ भनेर आरोप लगाइरहनु भएको छ नि ?

हार्डलाइनर र सफ्टलाइनर म भन्दिनँ । तर, कुरा के हो भने एउटा गन्तव्य प्राप्तिका लागि हिँडियो भने त्यो ठाउँसम्म पुग्नुपर्छ । बीचमै हराउने, बीचमै तुहाउने जत्तिको राजनीतिक अपराधी अरु कोही हुन सक्दैन । सर्वोच्चमा गएर देउवालाई प्रधानमन्त्री बनाउन सिग्नेचर गर्ने, अनि विश्वासको मत दिने बेला भाग्ने कुरा हुन्छ ? यो भगुवा, राजनीतिक अपराधीबाहेक केही हुन सक्दैन । हामी त २२ जना छौं ।

हामीले बन्ने मन्त्री भनेको ४/५ जना न हो । २२ जना सबै त हामी मन्त्री बन्दैनौं । फेरि पनि हामी के भनिरहेका छौं भने माधव कमरेडलाई-तपाईंलाई अनुकूल हुने जोसुकैलाई मन्त्री बनाउनुहोस् हाम्रो कुनै दुःखमनाउ हुँदैन । गुनासो हुँदैन ।

– अब १७ महिनापछि हुने चुनावमा तपाईंहरू एमाले भएर चुनावमा जानु होला या छुट्टै दलका रूपमा जानुहोला या कुनै गठबन्धनमा सहभागी हुनुहोला ?

१७ महिना पछाडि उपेन्द्र यादवसहितको कम्युनिष्ट पार्टी बनिसक्छ ।

– माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपा र तपाईंहरूसहितको कम्युनिष्ट पार्टी हो ?

उहाँहरू मात्रै होइन, विप्लव, मोहन वैद्यलगायत पनि ।

– ए, विप्लव पनि आनुहुन्छ ?

सबै आउनुहुन्छ । सबैको एउटा कम्युनिष्ट पार्टी बन्छ ।

– पार्टी बन्छ कि मोर्चा ?

पार्टी नै बन्छ । त्यसपछि हामीले शेरबहादुर देउवालाई जुन-जुन प्रत्यक्ष निर्वाचित सांसदले भोट गरेका छौं, त्यो ठाउँमा कांग्रेसको उम्मेदवार हुँदैन ।

– त्यो भनेको कांग्रेससँग पनि एलाइन्स बन्छ ?

त्यो ठाउँमा कांग्रेसले सहयोग गर्न सक्छ । उम्मेदवार नउठाउन सक्छ । र, फेरि हामी दुई नम्बर प्रदेशमा सतप्रतिशत जित्छौं । लुम्बिनी प्रदेश र त्यस पश्चिमका एउटा निर्वाचन क्षेत्र पनि ओलीवालाले जित्नैनन् । सतप्रतिशत हामी जित्छौं । केही ठाउँ कांग्रेस जित्ला ।

त्यसपछि पूर्वी पहाड पनि हामी जित्छौं । हार्ने अथवा कमजोर हुने भनेको वागमतीको केही ठाउँ होला, केही ठाउँ गण्डकीमा होला । त्यहाँ नजित्ने भनेपछि ओलीवाला नजित्ने होइन, कांग्रेसले जित्ने हो । यी सबै हेर्दा फेरि हामी मुलुकको सबैभन्दा ठूलो दल बन्छौं । फेरि मुलुकमा कम्युनिष्ट पार्टीले देश चलाउने ठाउँमा हामी पुर्याउँछौं । र, ओली धुलोपिठो हुन्छन् ।


प्रतिक्रिया

3 thoughts on “म सिरियसली भन्छु- ओलीबाहेकको मात्रै एमाले हुन्छः मेटमणी चौधरी

  1. निर्वाचित अध्यक्षलाई नमान्ने अराजककाे १० तिर फर्केका दल मिलाउँछु भन्ने बकम्फुसे गफ । छ्या ..छ्या

  2. आफ्नो हैसियतले टोल सुधार समितिमा जित्न नसक्नेले देशको राजनिती बिष्लेषण गरेको देख्दा यो देशले कस्ता कपुत जन्माइएछ भन्ने गुनासो गर्दो हो । दृष्टिकोण मा डडेलो लागेका र स्वार्थ का हल्लुणले यो देश नर्क बनाउने भए ।

Leave a Reply to Bheshraj Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर