वार्ता टोलीसँग माधव नेपालको बटमलाइन-१० बुँदे जान्दिनँ, ओलीलाई अध्यक्ष मान्दिनँ – Nepal Press

वार्ता टोलीसँग माधव नेपालको बटमलाइन-१० बुँदे जान्दिनँ, ओलीलाई अध्यक्ष मान्दिनँ

‘वार्ता टोलीका नेताहरू ओलीको जालमा परे, अर्को पार्टी बनाउन तयार छु’

काठमाडौं । दुई अध्यक्षको अन्तरिम व्यवस्था गरेर भए पनि एमालेको एकता कायमै राख्ने दोस्रो तहका नेताहरूको प्रयास लगभग असफल भएको छ । केपी ओली र माधव नेपालबीच वार्ता गराउन निरन्तर लागेका नेताहरूले यस्तो निष्कर्ष सुनाएका छन् ।

विघटित कार्यदलका सदस्यहरूबीच शनिवार सिंंहदरवारमा भएको छलफलमा माधव नेपालको बटमलाइनको ब्रिफिङ भएपछि नेपालसहितको एमाले एकताको अध्याय लगभग समाप्त भएको छ ।

दुवै पक्षका नेताहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गरिरहँदा केपी ओली काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै थिए भने माधव नेपाल अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै थिए ।

कार्यदलमा भीम रावल, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको बटमलाइन सुनाइरहँदा नयाँ बजारबाट ओलीको घोषणा आयो- माधव नेपाल जस्ता आन्दोलनविरोधी, देशद्रोहीलाई एमालेमा कुनै स्थान छैन । उता माधव नेपालले पनि ओलीलाई फेरि प्रधानमन्त्री बन्न सक्छु भन्ने जालझेल नगर्न चुनौती दिँदै थिए ।

सिंहदरबारमा त्यो ब्रिफिङ

अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएपछि त्यसअघि एकताको उपाय खोज्न विघटित कार्यदलका नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए । १० बुँदे सहमति र दुई अध्यक्ष मानेर एमाले एकता कायम गर्नेबारे छलफल भएको एमाले सचिव गोकर्ण विष्टले बताए ।

तर, विष्टले बताए जस्तो ब्रिफिङ अनौपचारिक छलफलमा भने भएन । विघटित कार्यदलका एक सदस्यका अनुसार माधव नेपालले दश बुँदेमा आफ्नो सहमति नरहेको प्रष्ट पारेका छन् । उनले यो कुरा आफू पक्षधर वार्ता टोली संयोजक भीम रावल र केपी ओली पक्षधर संयोजक सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रष्ट रुपमा बताएका छन् ।

‘माधव कमरेडले दश बुँदे सहमति मैले भने अनुसार छैन त्यसलाई म मान्दिन भन्नुभयो । उहाँले म मिल्न तयार छु र अलग हुन पनि तयार छु । मिल्ने हो भने केपी ओलीले अध्यक्ष छाड्नुपर्छ भन्नुभयो । यो भनेको लगभग माधव नेपालसहितको एकताको च्याप्टर क्लोज हो’ छलफलमा सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।

अनौपचारिक छलफलमा ओली पक्षका नेताहरूले माधव नेपालको बटमलाइन आइसकेको भन्दै ‘अब तपाई हामी के गर्ने हो ?’ भन्ने प्रश्न गरेका छन् । नेपाल पक्षका नेताहरूले अझै जवाफ दिएका छैनन् । उनीहरू दुई अध्यक्षमा माधव नेपाललाई मनाउन सकिन्छ भन्नेमा अझै लागेकाले एमालेको वारपार हुन एक दुई दिन थप लाग्ने देखिएको छ ।

यसबीचमा केपी ओलीले भीम रावललाई बोलाएर माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको भन्दै चाँडो टुंगो लगाउन आग्रह गरे । ओलीसँग भेटेपछि रावलले नेपाललाई भेटेर अर्को अध्यक्षमा सहमत हुन आग्रह गरे पनि नेपालले उल्टै रावलमाथि ओलीसँग मिलेमतो गरेको आरोप लगाएको चर्चा चलेको छ ।

माधव नेपालले भने- ओली भन्दा तल बन्दिनँ

नेपाललाई यसबीचमा सुवास नेम्वाङ र विष्णु पौडेलले पनि भेट गरेर अध्यक्ष ओलीसँग संवाद गर्न सुझाए । तर दुवै नेतालाई वरिष्ठ नेता नेपालले आफू ओलीलाई अध्यक्ष मानेर एमालेमा नफर्किने बताएका छन् । उनले अर्को अध्यक्ष पनि आफू नबन्ने प्रष्ट पारेका छन् । यहि कुरा उनले रावललाई पनि बताइसकेका थिए ।

रावलले माधव नेपालको बटमलाइन बुझे पनि नेपाल पक्षकै कतिपय नेताले अझै पनि अर्को अध्यक्षमा मनाउन सकिने आशा राखेका कारण एमाले एकताको नामका वार्ता अझै केही दिन चल्ने सम्भावना छ । ओली पक्षले भने माधव नेपालसहितको एकताको सम्भावना देखेको छैन ।

वार्तामा संलग्न एक नेताले भने-माधव कमरेडले म केपी ओलीको अन्तर्गत बस्दिनँ, दोस्रो अध्यक्ष पनि खान्नँ र म आउदिनँ भन्नुभयो । उहाँले १० बुँदे पनि मान्दिन भन्नुभयो । उहाँ आफ्नो अडानमा प्रष्ट हुनुहुन्छ तर उहाँसँग जोडिएका केही नेताहरू अझै अन्योलमा भएका कारण आज भोलिमै वारपार नहोला ।

माधव नेपाललाई तपाईकै सहमतिमा बनेको कार्यदलले तयार पारेको १० बुँदे मान्दिनँ मिल्छ ? भन्न प्रश्न यसबीचमा केही नेताले गरेका छन् । तर नेपालले जवाफमा भनेका थिए- म किन मान्छु ? मैले यो यो कुरा सच्यानु र यो थप्नु भनेको थिएँ खै सच्याएको ? तिनीहरू (कार्यदलका आफ्ना सदस्य) केपी ओलीको जालमा परे ।

आफ्नैप्रति अविश्वास

वरिष्ठ नेता नेपाल पछिल्लो समय कार्यदलमा पठाएका आफ्नै सदस्यहरूप्रति समेत सन्तुष्ट छैनन् । त्यसैले उनले तेस्रो र चौथो तहका नेता कार्यकर्ताको भर पर्न थालेका छन् । शनिबारको अखिल फोर्सको भेलामा पनि नेपाल र रामकुमारी झाँक्रीले सम्बोधन गरे तर दोस्रो तहका नेतालाई बोलाइएन ।

झाँक्रीले त माधव नेपाललाई धोखा दिएर दोस्रो तहका नेताहरू अर्कैतिर मिल्न गएको आशंका समेत व्यक्त गरिन् । कार्यदलको बैठकमा पनि सुवास नेम्वाङ लगायतका नेताहरूले माधव नेपाल पक्षधर नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न सुझाव दिएको दिएका छन् ।

सम्भवत: शनिवारबाटै एमालेले अब आफ्नो निर्णय गरेर अघि बढ्नेछ । तर नेपाल पक्षधर नेताहरूलाई अझै केही दिन पर्खिने सोचमा ओली छन् । उनले यसबीचमा माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरूलाई व्यक्तिगत रूपमा बोलाएर भेटघाट गरिरहेका छन् ।

आफूले विश्वास गरेका दोस्रो तहका नेताहरूप्रति उनको भरोसा टुटेको छ । पछिल्लो भेला र छलफलहरूमा माधव नेपालले भन्दा सांसद र केन्द्रीय सदस्यहरूले ती नेताहरूको चर्को विरोध गरिरहेका छन् । भीम रावल र सुरेन्द्र पाण्डे जस्ता नेताहरूले अन्तिममा घोखा दिएको निष्कर्ष नेपाल पक्षको छ ।

उनले केही नेताहरूसँगको छलफलमा अब नयाँ पार्टीमा बरु डा. विजय पौडेललाई महासचिव बनाउने तर दोस्रो तहका भनिएका नेताहरूको विश्वास नगर्ने बताएका छन् । पौडेल पछिल्लो समय माधव नेपालको प्रतिनिधित्व गर्दै सत्तारुढ गठबन्धनका बैठकमा जाने गरेका छन् ।

नेपालले भने आफू निकट स्थायी कमिटी सदस्यहरूसँगको छलफल पातलो बनाएका छन् । बरु उनी आफूलाई विश्वासको मतका बेला साथ दिने २२ सांसदसँग नजिक छन् । नेपालमाथि सरकारमा जान पनि दबाब छ । सम्भवत: नेपाल पक्षका केही मन्त्रीले चाँडै सपथग्रहण समेत गर्नेछन् ।

यदि नेपालले सरकारमा मन्त्री पठाएमा एमाले एकताका लागि भन्दै विश्वासको मतका बेला संसद छाडेका नेता र सांसदहरूले औपचारिक रूपमा माधव समूहबाट आफ्नो आबद्धता तोड्नेछन् । नेपाल निकट सांसद झपट रावलले माधव नेपालले त्यस्तो कदम नचाल्ने अपेक्षा व्यक्त गरे ।

रावलले भने- हामीले संसद जोगाउन अदालत गयौं र हाम्रै कारण संसद जोगियो । अब हाम्रो प्राथमिकता भनेको एमाले जोगाउने हो । एमाले जोगाउनका लागि माधव नेपाल र केपी ओलीबीच संवाद हुनुपर्छ । तर, माधव नेपालले सरकारमा सहभागी हुने कुरा एमाले एकताको बाधक हुनेछ, यो कुरा हामीले भनेका छौं ।

तर, मन्त्रिपरिषद् विस्तार रोकिएकै माधव नेपालले अन्तिम निर्णय नगरेर मात्र हो । अब लगभग त्यो बेला आएको छ । उनले केपी ओली निकट नेताहरूसँग प्रष्ट शब्दमा ‘एमाले मिल्ने हो भने ओलीले अध्यक्ष छाड्नुपर्छ’ भनेका छन् । तर त्यो सम्भावना छैन । त्यही विन्दूबाटै माधव नेपालको बाटो अलग भएको छ ।


प्रतिक्रिया

4 thoughts on “वार्ता टोलीसँग माधव नेपालको बटमलाइन-१० बुँदे जान्दिनँ, ओलीलाई अध्यक्ष मान्दिनँ

  1. बुर्जुवा खेमालाई थाहा थियो, केपी ओली नढाली सत्तामा पुग्न सकिंदैन। फेरि ओलीलाई ढाल्न बाहिरबाट सम्भव पनि छैन्। यसका लागि हिजो नेकपा र आज नेकपा एमाले हुँदा त्यसभित्रका ओली विरोधीहरूलाई प्रयोग गर्नुपर्छ। त्यही रणनीतिबमोजिम माझण्ड समुह बनाएर ओलीका विरूद्ध गतिविधिहरू गरिए, परमादेश आयो, देउवा प्रम भए। शंकर पोखरेल भन्छन्, ‘केपी ओलीलाई सत्ताबाट हटाउन जे जे भन्नु आवश्यक थियो भनियो, तर सत्य अर्कै थियो। अब क्रमशः प्रकट हुँदै जानेछ र जाँदैछ।’

  2. यो बिहारी को के कुरा गर्नु यहि संसद पद भए सम्म उचालिन्छ चुनाब पछि पत्ता साफ

Leave a Reply to matrix Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर