हिमचितुवाको आक्रमणबाट १७ खच्चड र घोडा मरे – Nepal Press

हिमचितुवाको आक्रमणबाट १७ खच्चड र घोडा मरे

गोरखा । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चडमाथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका-६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए।

‘चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ’, उनले भने,‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।’

सडक यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमितरुपमा सामान ढुवानी गर्ने गरिन्छ । ‘जेठ अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी क्षेत्रमा पैदल र खच्चड हिँड्ने बाटोसमेत अवरुद्ध छ’, लामाले भने, ‘चरनका लागि लेकमा छाड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छाड्न पनि डर भएको छ ।’

उनले चरनका लागि खर्कमा छाडिएका खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएको बताए । वडाध्यक्ष लामाले स्थानीय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरी मारेको जानकारी दिए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर