कांग्रेस महाधिवेशन : ५ दिनमा विवाद टुंग्याएर नयाँ कार्यतालिका बनाइने – Nepal Press

कांग्रेस महाधिवेशन : ५ दिनमा विवाद टुंग्याएर नयाँ कार्यतालिका बनाइने

काठमाडौं । नेपाली कांग्रेसको बाँकी रहेको क्रियाशील सदस्यता विवाद समाधानका लागि पुनः मापदण्ड बन्ने भएको छ । यसअघि केन्द्रीय समितिले तय गरेको मापदण्डमा नसमेटिएका विषय समाधानका लागि नयाँ मापदण्ड बनाउन शीर्ष नेताहरू सहमत भएका हुन् ।

कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले करिब ९६ प्रतिशत काम सकेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाइसकेको छ । समितिले टुंगो लगाउन नसकेको बारा, सप्तरी, धनुषा ४, सर्लाही २ सहित १ सयभन्दा बढी वडाहरूको विवाद समाधानका लागि नयाँ मापदण्ड निर्धारण हुने कांग्रेस सहमहमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले बिहीबारको बैठकबाट प्राप्त ५ दिनको सीमाभित्र क्रियाशीलको विवाद टुंग्याउने निर्णय समेत गरेको छ । ‘बाँकी विवाद समाधान गर्न सबैलाई समान रुपमा लागु हुनेगरी थप मापदण्ड बनाउदैछौ । ५ दिनको सीमाभित्र क्रियाशील सदस्यताको सबै विवाद टुंग्याउने गरी काम थालेका छौं’,सहमहामन्त्री महतले भने ।

शीर्ष नेताहरूबीच क्रियाशील सदस्यताको टुंगोपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका वा मिति संशोधनबारे छलफल गर्ने सहमति पनि बनिसकेको छ । ‘क्रियाशीलको टुंगो लागेपछि मात्रै नयाँ कार्यतालिकाबारे छलफल गर्ने कुरा भएको छ’, महतले भने ।

बैठकपछि बाहिरिने क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौभित्रै महाधिवेशन सक्नेगरी काम गर्न खोजिएको बताए । ‘जति विवाद बाँकी छ त्यसलाई शीर्ष तहमै समाधान गरेर भदौभित्र महाधिवेशन गरिछाड्ने प्रयास भइरहेको छ’, पौडेलले भने ।

आजको बैठकको सुरुआतमै सभापति देउवाले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न जे गर्नुपर्छ त्यसका लागि तयार रहेको बताए । ‘यो ५ दिनमा सबै विवाद सक्नुपर्‍यो । त्यसका लागि जे गर्नुपर्छ गरौं, महाधिवेशन भदौमै गर्ने हो’, देउवाले बैठकमा भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर