सिन्धुपाल्चोक प्रहरी वागमती प्रदेशकै उत्कृष्ट, देशकै पहिलो हुने लक्ष्य – Nepal Press

सिन्धुपाल्चोक प्रहरी वागमती प्रदेशकै उत्कृष्ट, देशकै पहिलो हुने लक्ष्य

सिन्धुपाल्चोक । कार्यसम्पादन मूल्यांकनमा वागमती प्रदेशभित्रका १० जिल्ला प्रहरी कार्यालयमध्ये सिन्धुपाल्चोक पहिलो हुन सफल भएको छ । वागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्षको सुरुवातमा नै सबै जिल्ला प्रहरी कार्यालय सँग कार्यसम्पादन सम्झौता गरेको थियो ।

वागमती प्रहरी कार्यालयसँगको सम्झौताअनुसार तोकिएको कार्य पूरा गरेकाले सबै प्रहरी इकाइमध्ये उत्कृष्ट हुन सफल भएको हो ।

वागमती प्रदेश प्रहरी कार्यालयले गत वर्षदेखि मातहातका सबै प्रहरी युनिटसँग मासिक मूल्यांकन मापदण्ड २०७७ लागू गरेको थियो । सोही मापदण्डअनुसार ९३ दशमलब जिरो दुई प्रतिशत ल्याउँदै जिल्ला प्रहरी कार्यालय पहिलो भएको हो ।

वागमती प्रदेश कार्यालयले विभिन्न ५० वटा सूचकहरु राखेर मातहातको प्रहरी कार्यालयहरुको मूल्यांकन गर्ने गरेको थियो । त्यो सबै सूचकहरुमा सिन्धुपाल्चोक प्रहरी कार्यालयले पूरा गरेकाले उत्कृष्ट हुन सफल भएको वागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

समुदायमा प्रहरी परिचालन, फरार अपराधी पक्राउ, महिला हिंसा न्यूनीकरण,अनुसन्धानमा प्रविधिको प्रयोग, विभिन्न सरकारी कार्यालय र संघ संस्थाहरुसँगको समन्वय लगायतका सूचकहरुमा प्रदेश प्रहरी कार्यालयले मूल्यांकन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

‘तोकिएका सबै काम पूरा गरेकाले उत्कृष्ट हुन सफल भएका छौं । अब हाम्रो लक्ष्य देशभरकै प्रहरीमध्ये उत्कृष्ट हुने हो’, प्रहरी प्रमुख अधिकारीले भने । जिल्ला प्रहरी कार्यालयले गएको आर्थिक वर्षमा अदालतबाट सजायँ पाएर पनि फरार रहेका ६३ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको थियो ।

त्यस्तै फैसला कार्यन्वयनतर्फ १३० लाई पक्राउ गरेर २३ लाख ९३ हजार ७ सय २९ रुपियाँ राजश्व समेत संकलन गरेको थियो भने कैद भुक्तान गर्न बाँकी ८२ बर्ष ७ महिना १५ दिन कैदका लागि कारागार चलान गरिएको प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए ।

आन्तरिक शुद्धीकरण, अवैध रुपमा हुने नदी दोहन नियन्त्रण, प्रहरीको आत्मबल बढाउन सुरु गरिएको अभियान लगायतमा पनि वागमती प्रहरी कार्यालयले मूल्यांकन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सडक दुर्घटना न्यूनीकरण लगायतका कार्यहरुमा पनि आफूलाई अब्बल साबित गरेको छ । प्रहरीको आत्मबल बढाउने उद्देश्यले ‘टि उइथ टिम’ र ‘टि उइथ गेष्ट’लगायतका कार्यक्रमहरु हरेक साता सञ्चालन गर्दै आइरहेको छ ।

विपद् र कोरोना रोकथाममा सुरक्षाकर्मीहरुले खेलेको भूमिका पनि वागमती प्रदेश कार्यालयले मूल्यांकनको आधार बनाएको थियो । मेलम्ची क्षेत्रमा आएको बाढी पहिरोमा आफ्नै आवास ढले पनि प्रहरीहरुले त्यसको कुनै प्रवाह नगरी स्थानीयको जिउधनको सुरक्षाको लागि खेलेको भूमिकाको प्रहरी प्रधान कार्यालयले पनि प्रशंसा गरेको थियो ।

मेलम्ची क्षेत्रको बाढी पहिरोमा झण्डै २ सय बढी प्रहरीहरु दैनिक रुपमा विपद्ग्रस्त क्षेत्रमा खटिएका थिए ।

वागमती प्रदेश प्रहरी कार्यालयको यो मूल्यांकनले आफूहरुलाई थप हौसला मिलेको र काम गर्न अझै उत्प्रेरणा मिलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए ।

‘जिल्ला प्रहरी कार्यालय भित्रका टिम र मातहातका प्रहरी कार्यालयका सबै प्रहरी कर्मचारीहरुको सहयोगले नै हामी सफल भएका छौ’, एसपी अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर