खीर: मीठो स्वाद, स्वास्थ्यवर्द्धक र मौलिक साँस्कृतिक खाना – Nepal Press
सन्दर्भः साउन १५

खीर: मीठो स्वाद, स्वास्थ्यवर्द्धक र मौलिक साँस्कृतिक खाना

‘असार १५ दही–चिउरा खानू, साउनको १५ खीर’ यो नेपाली समाजको छुट्टै र सामूहिक पहिचान हो । नेपाली समाजमा मात्र विद्यमान यो प्रचलनले नेपालीलाई एकताको सुत्रमा बाध्न महत्वपूर्ण भूमिका निभाएको छ ।

हरेक बर्ष साउन १५ गतेका दिनलाई खीर खाएर रमाइलो गर्दै सांस्कृति पर्वकै रुपमा मनाउने गरिन्छ । आज साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।

साउन १५ मा खीर खाने परम्परा कुनै धार्मिक महत्वको नभएर सांस्कृतिकरुपमा चलनमा ल्याइएको हो । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन हाम्रो समाजमा रहेको छ ।

दूधको एक परिकार भएका कारण थोरै खाएर धेरै पोषण प्राप्त गर्ने हुदा स्वास्थ्यको लागी एकदमै लाभदायक रहेको चिकित्सकहरुको भनाइ छ ।

नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्पराको विकास भएको हो । यो कुनै धार्मीक पर्व होइन । यसको साँस्कृतिक संगै वैज्ञानिक महत्व पनि बोकेको छ ।

साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोषिलो खीरले धेरै मद्दत गर्दछ भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भएको छ ।

खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । वर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ ।

नेपाली समाजमा वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई खाने चलन रहेको छ । आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् ।

खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

अर्कोतर्फ हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपूजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । त्यसले पनि खीरको महत्व बढेको हो ।

उता साउन महिना गर्मी पनि महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ ।

यसप्रकार सामाजिक प्रचलनले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्शाउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामीप्यतालाई अझ प्रगाढ बनाउँछ । यसले देशको फरक पहिचान बढाउनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याउँछ ।

विभिन्न सांस्कृतिक परम्परा नै हाम्रो देशको मौलिक पहिचान हो । यस्तो संस्कृति कतै पनि छैनन् । हाम्रा मौलिक पहिचानको जर्गेना गर्नु सबैको कर्तव्य हो तर पछिल्ला दिनमा यो कार्य ठूलो चुनौती बन्दै गएको छ ।

यसमा आमजनताको चासो रहन आवश्यक छ । हाम्रा समाजका सबै सांस्कृतिक परम्पराको जर्गेना र पहिचान रक्षामा सबैले हातेमालो गर्नु जरुरी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *