भाइरसको तेस्रो लहर घातक हुनसक्छ, जोगिन के गर्ने ? यस्ता छन् विज्ञको सुझाव – Nepal Press
शेरबहादुर पुनसँग नेपाल टक

भाइरसको तेस्रो लहर घातक हुनसक्छ, जोगिन के गर्ने ? यस्ता छन् विज्ञको सुझाव

काठमाडौं । एउटा प्रश्न जसको उत्तर दिन अहिले सरकारलाई पनि मुस्किल भैरहेको छ । त्यो हो- अहिले नेपाल कोरोनाभाइरसको दोस्रो लहरमै छ या तेस्रो लहरको प्रारम्भिक चरणमा ? स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेको आसपासमा तेस्रो लहर सुरु हुने प्रक्षेपण गरेको छ । विश्व स्वास्थ्य संगठनले दुई साताअघि विश्व तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको घोषणा गर्‍यो ।

पछिल्लो साता उकालो लागेको संक्रमण, मृत्युदर, सक्रिय संक्रमित संख्याको प्रवृत्ति र गणितलाई सम्भावित तेस्रो लहरको सुरुआतसँग दाँजेर हेर्न विज्ञहरु व्यस्त छन् । डब्लुएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको डेल्टाको कारण दोस्रो लहर आएको र डेल्टा उत्परिवर्तन भएर आएका नयाँ म्युटेसनले तेस्रो लहरलाई संकेत गरेको विज्ञहरुको ठम्याइ छ ।

संक्रामक रोग विशेषज्ञ तथा टेकुस्थित शुक्रराज अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन तेस्रो लहर जोखिमपूर्ण हुनसक्ने आंकलन गर्छन् । जतिसक्दो धेरैभन्दा धेरै खोप लगाउनु नै निर्विकल्प भएको बताउँदै उनी खोप लगाउन कुरा द्रुत गतिमा हुने बताउँछन् ।

‘खोप लगाएका छौं भने दोस्रो लहरमा जति क्षति व्योहोर्नुपर्दैन । लगाउन ढिला भयो भने मानवीय क्षति व्योहोर्न सक्छौं । यो दोस्रो लहरबाट पाठ हो’ पुन भन्छन्, ‘तेस्रो लहरको सम्भावित चुनौतिसँग लड्न अहिलेदेखि नै पूर्वतयारी र सतर्कता अपनाउन जरुरी हुन्छ ।’

निषेधाज्ञा खुकुलो भएपछि संक्रमित हुन बाँकी मानिसहरु र संक्रमित भएका मानिसको जम्काभेट भएकाले जोखिम झनै बढेको उनको भनाई छ । ‘अहिले काठमाडौंमा निषेधाज्ञा नभएजस्तो देखिएको छ । मान्छेले भाइरस हामीसँगै छ भन्ने बुझेका छैनन्’ पुन भन्छन्, ‘दशैं र तिहारजस्ता ठूला पर्वहरु नजिक आउँदैछन् । झन् यो बेलामा थप सतर्क हुनुपर्नेछ ।’

‘मेरो विचारमा निषेधाज्ञा राम्रो हैन । निषेधाज्ञाले संक्रमण विस्तारै कम त भएको होला तर, खोल्ने वित्तिकै ह्वार्र बढ्छ । मानसिक र आर्थिक क्षतिको के अर्थ भयो र ? दुःख गरेर बन्द गर्‍यो । खोल्यो अनि ह्वार्र बढ्यो । यसरी भएन । निषेधाज्ञा गरेको फाइदा उठाउनुपर्छ’ पुनको सुझाव छ, ‘निषेधाज्ञाको समयलाई संक्रमितको पहिचान, कन्ट्क्याट ट्रेसिङमा भरपुर उपयोग गर्नुपर्छ ।’

मिडिया तथा केही विज्ञहरुले तेस्रो लहरमा बालबालिका प्रभावित हुने बताउँदैछन् । ‘बालबालिकालाई तुलनात्मरुपमा अघिल्ला लहरमा कम क्षति भएको छ । तर, पहिलो र दोस्रो लहरको तुलना गर्दा बालबालिका पहिलोभन्दा दोस्रो लहरमा बढी प्रभावित भए । केही समस्या देखिएको छ । यदि त्यसो हो भने आउने तेस्रो वेभमा बालबालिकामा समस्या बढ्छ कि भनेर भन्न खोजिएको हो’ उनी भन्छन् ।

टेकुस्थित अस्पतालमा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउन लामबद्ध सर्वसाधारण । भीडभाडले खोप केन्द्रमा संक्रमण फैलने चिन्ता विज्ञहरुले गर्दै आएका छन् ।

तेस्रो लहरका लागि मुलुकलाई बालरोग विशेषज्ञहरुको आवश्यकता पर्ने चिकित्सक पुनको सुझाव छ ।

दोस्रो लहरमा राजनीतिक कार्यक्रम, भीडभाड र पर्वजस्ता गतिविधिले संक्रमण बढाएको र त्यसलाई नियन्त्रण गर्न नसक्नु गल्ती भएको उनको ठम्याइ छ । ‘तेस्रो लहरमा सिक्नुपर्ने कुरा धेरै आउन सक्छ । हामीभन्दा भाइरस एक कदम अगाडि छ । जुन दिन हामी भाइरसभन्दा एक कदम अगाडि गएर बाटो ब्ब्लक गर्छौैं, तब हामी विजयी हुन्छौं । भाइरसको हर्कतबाट सिकेर नियन्त्रण गर्दै जानुपर्छ’ पुनको कथन छ ।

डेल्टा प्लसजस्तै शक्तिशाली भेरिएन्ट आयो भने त्यो चिन्ताको विषय हुनसक्ने उनको भनाई छ । दोस्रो लहरमा भएको गल्तीबाट पाठ सिक्ने मौका रहेको बताउँदै पुन तत्काल शैय्या र अक्सिजनको व्यवस्थापन, अस्पतालहरुमा स्पेसको सिर्जना तथा जनस्वास्थ्यका मापदण्ड पालनामा कटिबद्ध हुनुपर्ने सुझाव दिन्छन् । ‘दोस्रो लहरको गल्तीबाट सिकिएन भने तेस्रो लहर हाम्रा लागि थप चुनौतिपूर्ण बन्न सक्छ’ उनको भनाई छ ।

नेपालमा बिहीबार थप ३३६५ जना संक्रमित थपिएका छन् र संक्रमणको झन्डै आधा जनसंख्या राजधानी काठमाडौं उपत्यकाकै छन् । मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । २४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा बढी छ । संक्रमण दर झन्डै २० प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर