सुकुम्बासीका लागि सैनामैनामा तयार भयो नमूना वस्ती, दशैंमा हस्तान्तरण गरिने – Nepal Press

सुकुम्बासीका लागि सैनामैनामा तयार भयो नमूना वस्ती, दशैंमा हस्तान्तरण गरिने

रुपन्देही । घरबारबिहीनलाई राख्नका लागि रुपन्देहीको सैनामैनामा नमुना बस्ती तयार भएको छ । दशैंमा दिने गरी सैनामैना नगरपालिकाले यी घर तयार गरिएको हो ।

तराई मधेस समृद्धि कार्यक्रम र सैनामैना नगरपालिकाको लागत सहभागितामा वडानम्बर–११ को बरौलीमा नमुना बस्ती तयार भएका हुन् । नमुना बस्तीमा १० वटा घर बनेका छन् । जसमा दुईवटा बेडरुम, एउटा भान्छा कोठा, एटेच बाथरुम रहेको छ । २ वर्ष लगाएर नमुना बस्ती सम्पन्न भएको हो ।

सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले निर्माण सम्पन्न भएका घरहरु दसैंसम्ममा विस्थापित परिवारलाई वितरण गर्ने जानकारी दिए । नमुना बस्ती एउटा घर निर्माणको लागि १८ लाख रुपैयाँ खर्च भएको छ । जस अनुसार सबै १० वटा घर निर्माणको लागि १ करोड ८० लाख र विजुली, धारा लगायत जडान गर्दा २ करोड जति खर्च भएको नगरप्रमुख कार्कीले बताए ।

‘सञ्चालनको मोडालिटी, मर्मतको मापदण्ड बनाएर दसैंसम्म वितरण वितरण गर्छौं,’ उनले भने ‘ठूला विकास निर्माणका कामबाट विस्थापित परिवारहरु, बाढी पहिरो लगायत प्रकोपबाट विस्थापित, सैनामैना स्थायी बसोबास गरेको तर घर व्यवहार विग्रेर, सडकमा आएको परिवारलाई त्यहाँ व्यवस्थापन गर्छौं ।’

वस्तीका प्रत्येक घरमा रहेका परिवारका सदस्यमध्ये एक जनालाई रोजगारीको व्यवस्था गर्ने नगरप्रमुख कार्कीले बताए । रोजगारी दिन नसकेमा कमाएर खाने केही कठ्ठा जग्गा उपलब्ध गराउने उनको भनाइ छ ।

त्यस बाहेक कम्पाउण्ड वालको लागि एक करोड बढी लागेको छ । बस्तीको बीचको बाटो पनि टायल विच्छाएर आकर्षक बनाइएको छ । नमुना बस्ती कञ्चन खोलाको किनारमा रहेको छ ।

बस्ती बनाउनु अघि कञ्चन नदीमा तटबन्ध गरिएको थियो । तटबन्ध गर्नको लागि साढे २ करोड रुपैयाँ खर्च भएको छ । कञ्चन नदिमा गरिएको तटबन्धनले नमुना बस्तीलाई मात्र नभई आसपासका धेरै बस्तीलाई जोगाएको छ । तटबन्धले नमुना बस्तीलाई मात्र नभइ आसपासका ताली, बरौली लगायत ठाउँहरुको पनि संरक्षण भएको नगरप्रमुख कार्कीको भनाइ छ । ‘कञ्चन नदीको कारण वडानम्बर ११ को ६० प्रतिशत भुभाग डुवानमा पथ्र्यो । ती सबैको लागि संरक्षण भएको छ,’ उनले भने ।

वस्ती भएको क्षेत्रमा अझै डेढ सयदेखि २ सय घर बनाउने योजना रहेको नगरप्रमुख काकीले बताए । ‘त्यहाँ पर्याप्त ठाउँ भएकाले नगरपालिका भरकै विस्थापित परिवारलाई बसाल्ने गरी घरहरु बनाउन पुग्छ,’ उनले भने ।

यहाँ बनेका घरहरु विपतहरुबाट पनि सुरक्षित रहेको सैनामैना नगरपालिकाका सव इन्जिनियर अरुण खनालले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *