शिक्षण पद्धतिमा प्रविधिको प्रयोग, प्रभावकारी बन्दै ‘टिकटक टिचिङ’ – Nepal Press

शिक्षण पद्धतिमा प्रविधिको प्रयोग, प्रभावकारी बन्दै ‘टिकटक टिचिङ’

इटहरी । नौ वर्षीया छोरी बशुधाले टिकटक चलाउन चालेपछि बुवा बद्री ढुंगेललाई पनि चासो लाग्यो । इटहरीको जनता बहुमुखी क्याम्पसका उपप्राध्यापक ढुंगेलले टिकटकमा चासो दिनुको कारण थियो, टिकटकबारे बुझ्नु र विकृतिबाट छोरीलाई जोगाउनु ।

सुरुसुरुमा उनी टिकटकप्रति नकरात्मक थिए । जब बुझ्दै गए उनको धारणा परिवर्तन भयो । टिकटक आफैंमा नराम्रो नभए पनि केही प्रयोगकर्ताले दुरुपयोग गरेको उनको बुझाइ छ । टिकटक कला प्रस्तुत गर्ने प्रभावकारी माध्यम भएको ठम्याइपछि उनी अहिले ‘टिकटक टिचिङ’ गर्न थालेका छन् ।

टिकटक टिचिङप्रति विद्यार्थीको उल्लेख्य आकर्षण

त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी गरेका ढुंगेलले इटहरीको जनता बहुमुखी क्याम्पसमा पढाउन थालेको २०६१ सालदेखि हो । उनी प्लस टू विज्ञान संकायका प्रमुख हुन् । वाणिज्यशास्त्रका विभिन्न गणितजन्य पाठ्यपुस्तक पनि उनी पढाउँछन् । क्याम्पस कक्षामा पढाउँदा सामान्यतया ७० देखि ७५ विद्यार्थी हुन्छन् । कहिलेकाहीं अरु सेक्सनका समेत मिसिए भने एक सयसम्म पुग्छन् ।

टिकटक टिचिङमा आएपछि ढुंगेलका विद्यार्थी बढेका छन् । देशभरबाट विद्यार्थीहरु टिकटक पढ्न आउँछन् । साँझ साढे सात बजेबाट नियमित लाइभ अनलाइन टिकटक कक्षा सञ्चालन गर्छन् उनी ।

कक्षा कहिलेकाही दश बजेसम्म पुग्छ । कक्षामा औसत दुइ सय हाराहारी सहभागी हुन्छन् । धेरैमा अहिलेसम्म एक हजार चालिससम्म पुगेको ढुंगेलको अनुभव छ । ढुंगेलको टिकटक टिचिङको तारिफ गर्छन्, जनता बहुमुखी क्याम्पस इटहरीका प्राध्यापक अर्जुन उप्रेती । उनी भन्छन्, ‘उहाँ स्टार टिकटक टिचर हो । नयाँ पुस्तासँग पुग्नलाई नयाँ प्रविधिको समयमै सही प्रयोग गर्नुभयो ।’

टिकटक टिचिङले ढुंगेलको दायरासमेत बढेको छ । जनता बहुमुखी क्याम्पसका विद्यार्थी भन्दा चार गुणा धेरै फलोअर छन्, उनको टिकटकमा । जनता बहुमुखी क्याम्पसमा पनि अनलाइन कक्षा हुन्छ । कक्षामा धेरैमा १७८ विद्यार्थीहरु सहभागी हुन्छन् । क्याम्पसका विद्यार्थीभन्दा धेरै व्याक्तिगत टिकटकमा पढ्न आउनेहरु हुन्छन् ।

इटहरी-१ कंचन चोकको घरबाट टिकटक टिचिङमा आउने ढुंगेलले जुम पनि लगइन गर्छन् । टिकटकमा दुई-तीन जना मोडरेटर बनाउँछन् । कमेन्टमा चासो राख्नेलाई मोडरेटरहरुले जुमको लिंक दिन्छन् । जुममा ल्यापटपबाट र टीकटक मोबाइलबाट लगइन भएर अनलाइन कक्षा हुन्छ । पछिल्ला दिनमा ढुंगोलले म्याट्रिक्स कक्षा चलाएका छन । भन्छन, ‘बीबीएसको परिक्षा आउँदैछ । विद्यार्थीको माग अनुसारका कक्षाहरु गर्ने गरेको छु ।’

ढुंगेलको टिकटक टिचिङ हरेक साँझ साढे सात बजेबाट नियमित जस्तै हुन्छ । कहिलेकाहीं बिहान सात बजेदेखि त कहिले ११ बजेदेखि दिउँसो ४ बजेसम्म बढाउँछन् । ‘मैले कुनै गिफ्ट र आर्थिक आशामा यस्तो टिचिङ गरेको होइन’, ढुंगेल भन्छन्, ‘मेरो विशुद्ध सहयोग हो ।’

आफ्नो टिकटक कक्षा निकै प्रभावकारी भएको उनको बुझाइ छ । उनी अहिले आफूजस्तै अरु शिक्षकको पनि खोजीमा छन् । कोभिड–१९ महामारीले सबै कक्षाहरु नियमित नभएको समयमा यस्ता कोर्ष धेरै प्रभावकारी भएको उनको अनुभव छ । धेरै विद्यार्थीहरु फेल हुने गणित, विज्ञानदेखि अर्थशास्त्र र अंग्रेजीका कक्षाहरु संचालन भए विद्यार्थीलाई सहज हुने उनी बताउँछन् ।

प्रविधिको विकाससँगै शिक्षण पद्धतीलाई पनि परिमार्जन गर्नुपर्नेमा उनी जोड दिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर