संगठनभित्र देखिएका कमजोरीलाई सुधार गर्दै जाने प्रहरी प्रवक्ता कुवँरको प्रतिवद्धता – Nepal Press

संगठनभित्र देखिएका कमजोरीलाई सुधार गर्दै जाने प्रहरी प्रवक्ता कुवँरको प्रतिवद्धता

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र केही कमजोरी भएको र यसलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाएका छन् । बुधबार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी कुँवरले प्रहरीको गलत क्रियाकलाप विरुद्धमा आलोचनात्मक सुझावलाई ग्रहण गरेर सुधार गर्दै जाने प्रतिवद्धता जनाएका हुन् ।

एसएसपी कुँवरले भने, ‘कतिपय हाम्रा काम जानी नजानी गलत पनि भएका छन् । त्यस सन्दर्भमा भएका सूचना वा कुनै क्षेत्र जुन हामीले गर्नुपर्ने थियो तर संगठनले ध्यान पुर्‍याउन सकिरहेको छैन । त्यस्ता क्रियाकलापमा प्राप्त हुने सुझाव हामीले सधै प्राप्त होस् भनेर लागिरहेका छौँ । तपाईहरुबाट प्राप्त हुने सबै आलोचनात्मक सुझावलाई हामी स्वागत गर्छौं । संगठनको तर्फबाट त्यस्ता समस्या, गुनासा, क्रियाकलाप छन् भने त्यसलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’

प्रवक्ता कुँवरले प्रहरीले गत आर्थिक वर्ष २०७७-०७८ मा गलत क्रियाकलापमा संलग्न करिव दुई हजार प्रहरी कर्मचारीमाथी कारवाही भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनका अनुसार गत वर्ष एक हजार नौ सय ८२ प्रहरी कर्मचारीलाई कारवाही गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा एक हजार नौ सय ७४ प्रहरी कर्मचारीमाथी कारवाही भएकोमा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा थप आठ जनामाथी कारवाही गरिएको हो ।

एसएसपी कुवँरले भने, ‘कारवाहीको तुलनामा पुरस्कृत हुने प्रहरीको संख्या धेरै रहेको छ । गत आर्थिक वर्ष चार हजार चार सय ३० जना पुरस्कृत भएका छन् भने अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा चार हजार नौ सय ५१ जना पुरस्कत भएका छन् ।’

प्रहरी प्रधान कार्यालयले गत आर्थिक वर्ष २०७७-०७८ मा १५ हजार २४ जनालाई घुम्ति अनुशिक्षण गरेको छ भने अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा १४ हजार दुई सय २२ जना र त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा २५ हजार एक सय आठ जनालाई घुम्ति अनुशिक्षण दिएको छ ।

यस्तै गत आर्थिक वर्ष २०७७÷०७८ मा १८ हजार सात सय ४७ जनाले वृति विकासको तालिम लिएका छन् भने अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा १४ हजार सात सय ९४ जना र त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा २१ हजार एक सय ५८ जनालाई वति विकासको तालिम लिएका छन् ।

नेपाल प्रहरीले अपराध अभिलेखको व्यवस्थापनतर्फ राष्ट्रिय अपराध सूचना केन्द्रको सफ्टवेयर निर्माणको काम पनि सम्पन्न गरेको प्रवक्ता एसएसपी कुवँरले जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर