सांसदले भने- सरकारमा जाउँ, माधव नेपालको जवाफ-एमालेकै हैसियतमा जाँदा ओलीले हटाउँछन् – Nepal Press

सांसदले भने- सरकारमा जाउँ, माधव नेपालको जवाफ-एमालेकै हैसियतमा जाँदा ओलीले हटाउँछन्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्ता र सांसदहरूको सल्लाहअनुसार नै आफू चल्ने बताएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला आफ्नो पक्षमा उभिएका २२ जना सांसदसँगको सामूहिक छलफलमा नेपालले दोस्रो अध्यक्षको प्रस्ताव आएको बताएका थिए ।

केपी ओलीको विश्वास आफूलाई नरहेको भन्दै माधव नेपाल पदलोलुप हो भनेर देखाउन यस्ता प्रस्ताव ल्याएको हुनसक्ने उनको आशंका थियो । नेपालले दोस्रो अध्यक्ष अरु जो बने पनि हुन्छ भन्दै आफूले कार्यदलमा रहेका नेताहरुलाई त्यसमा आफ्नो रुची नभएको बताइदिएको जानकारीसमेत सांसदहरूलाई गराएका छन् ।

वरिष्ठ नेता नेपालसँग २२ मध्ये अधिकांश सांसदहरूले सरकारमा सहभागी हुनुपर्ने बताएका छन् । नेपालले भने मन्त्री बन्ने भए बन्नुस् भन्दै तर केपी ओलीले सांसद पद खाइदिने भएकाले आफूले हतार नगरेको बताएका थिए ।

छलफलमा सहभागी एक सांसदले भने, ‘मन्त्री खाने भए खानुस् तर भोलि केपी ओलीले सांसद पद खाइदिन्छन् भन्नुभयो । हामीमध्ये कतिपय साथीहरूले सांसद हिजो पनि केपी ओलीले खाएकै हुन्, तपाईंले लडेर ल्याउनुभयो । अहिले सरकारमा गएर शक्ति सञ्चय गर्नुपर्छ भन्यौं ।’

छलफलमा सहभागी केही सांसदले सांसद पद गए पनि परवाह नरहेको भन्दै ६/६ महिना पालो गरेर मन्त्री बन्ने सम्मका कुरा गरेका थिए । एकजना सांसदले त एमाले मिलेर माधव नेपाल ओलीसँग सहकार्य गर्न गएमा आफू एमालेमा नफर्किनेसम्मको चेतावनी दिएको स्रोतले जनाएको छ ।

छलफलमा सहभागी सांसद विरोध खतिवडाले सरकारमा जानुपर्छ भन्नेमा लगभग एकमत रहेको बताए । तर, अर्को दल दर्ता नगरी सरकारमा जाँदा कानूनी समस्या आउने भएकाले यसबारेमा चाँडो निर्णय गर्न नेतृत्वलाई दबाब दिइएको छ ।

अर्का सांसदले भने, ‘अब पार्टी एकता गर्ने हो भने पनि चाँडो गरौं । नत्र कानूनी प्रक्रिया पूरा गरेर दल विभाजन गरौं, सरकारमा जाऔं र आउने चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेर गयौं भने एमाले भन्दा ठूलो दल बन्छौं भन्ने कुरा आएको छ । एकताको नाममा कार्यदलका नेताहरुले माधव नेपाललाई कमजोर बनाउन खोजेको कुरा उठ्यो ।’

वरिष्ठ नेता नेपालले अझै पनि आफू पार्टी एकताको पक्षमा रहे पनि केपी ओलीबाट त्यो अपेक्षा नगरेको सुनाएका थिए । नेपाल आफ्नै दोस्रो तहका नेताहरूको कारण दबाबमा देखिएका छन् । २२ सांसदको भेलाले सरकारमा जाने लगायतका निर्णय गर्ने जिम्मा माधव नेपाललाई नै दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर