कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित – Nepal Press

कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ बाट नेपाल प्रहरी अस्पतालमा अहिलेसम्म एक सय २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।

प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार प्रहरी अस्पतालमा उपचारका क्रममा आठजना प्रहरी, २७ जना पूर्वप्रहरी, २६ जना प्रहरीका परिवार र ५९ जना सर्वसाधारणको ज्यान गएको छ । यद्यपि, कोरोना नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रूपमा खटिएर सफलता प्राप्त गर्न सफल भएको प्रहरी प्रवक्ता कुँवरले दावी गरे ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० हजार पाँच सय ४१ जना प्रहरी कर्मचारीमा कोभिड-१९ को संक्रमण भएको छ । जसमध्ये १० हजार तीन सय ८ जना कोरोना संक्रमणमुक्त भइसकेका, १७ जनाको मृत्यु भएको र दुई सय १६ जना उपचाररत रहेका छन् । अहिलेसम्म नेपाल प्रहरीका ६० हजार पाँच सय ९७ जना प्रहरी कर्मचारीले पहिलो चरणको र ४८ हजार चार सय ४५ जनाले दोस्रो चरणको खोप लगाइसकेका छन् ।

नेपाल प्रहरी अस्पतालमा दुई हजार आठ सय ६६ बहालवाला प्रहरी कर्मचारी र सात हजार सात सय १८ जना सर्वसाधारण नागरिक तथा पूर्वप्रहरी कर्मचारी गरेर १० हजार पाँच सय ८४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि नेपाल प्रहरीका ४१ हजार दुई सय ९२ जना परिचालित भएकामा ११ हजार दुई सय ७२ अहिले पनि खटिएका छन् । कोरोना रोकथामका लागि सीमानाकामा नेपाल प्रहरीका तीन सय ९४ वटा चेकपोष्टमा तीन हजार तीन सय ९४ जना प्रहरी कर्मचारी खटिएका र सात सय ९७ वटा हेल्थ डेस्क स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

कोभिड-१९ सम्बन्धी ३२ हजार छ सय २४ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट १७ लाख १३ हजार सात सय ९५ जनालाई सचेत गरिएको छ । गैरस्वास्थ्य क्षेत्र र प्रयोजनमा प्रयोग भएका चार हजार ४३ भरेको र छ हजार छ सय ८४ वटा खाली गरेर जम्मा १० हजार सात सय २७ थान अक्सिजन सिलिण्डर संकलन गरेर वितरण गरिएको छ ।

२०७८ वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा अवज्ञा गर्ने चार लाख ३६ हजार २५ जनालाई होल्ड गरेर छोडिएको र निषेधाज्ञा अवज्ञा गरी सवारी चलाउने एक लाख ९० हजार आठ सय ९६ वटा सवारीसाधनलाई कारवाही गरिएको छ ।

नेपाल प्रहरी अस्पतालको एक सय ५० बेड क्षमताबाट स्तरोन्नती गरी तीन सय बेड क्षमतापछि दुई सय ६४ बेड कोभिड डेडिकेटेट आईसोलेसन बेड, ८० बेड क्षमताको एचडीयु, २० वटा भेन्टिलेटरसहित ३० बेड क्षमताको आईसीयू तयार गरी सेवा प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर