रवीन्द्र मिश्रको प्रस्तावबारे किशोर थापाः घरघरमा बहस आवश्यक छ, विचारसँग कोही आत्तिनुपर्दैन – Nepal Press

रवीन्द्र मिश्रको प्रस्तावबारे किशोर थापाः घरघरमा बहस आवश्यक छ, विचारसँग कोही आत्तिनुपर्दैन

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको एक प्रस्तावलाई लिएर सामाजिक सञ्जालमा ठूलो समूह उनीविरुद्ध खनिएको छ । पार्टीभित्रकै एउटा धारका नेताहरु उनीसँग चरम असन्तुष्ट बनेका छन् ।

विवेकशील साझाका केन्द्रीय सदस्य तथा पूर्वाधारविद् किशोर थापा भने अहिले उत्पन्न भएको प्रतिक्रियाको आँधीलाई अतिरञ्जित ठान्छन् । बहसका लागि जनतामाझ ल्याइएको विचारसँग कोही पनि आत्तिनु नपर्ने उनको भनाइ छ । मिश्रको प्रस्ताव व्यक्तिगत भएको भन्दै यसले पार्टीलाई विभाजनतर्फ नलैजाने विश्वास उनले व्यक्त गरे ।

थापाले नेपाल प्रेससँग भने, ‘उहाँले जुन विचार अघि सार्नुभएको छ, त्यो उहाँको व्यक्तिगत हो भन्ने स्पष्ट नै छ । राजनीतिमा जनतालाई वेवकुफ बनाउनेगरी अनेक नौटंकी गर्नुभन्दा विचारहरू स्पष्ट रूपमा ल्याएकै राम्रो हो ।’

यस प्रस्तावले अत्यावश्यक बहसको लागि ढोका उघारेको उनी बताउँछन् । यस्तो बहसले लोकतन्त्रलाई नै बलियो बनाउने उनले तर्क गरे ।

‘हाम्रो पार्टीको कुरा मात्रै होइन यो । यस्ता मुद्दामा आम नेपाली समाजमै छलफल आवश्यक हुन्छ । छलफल, चिन्तन, मनन गर्दै, जनताका कुराहरु बुझ्दै माथि आयो भने ठिक छ नि । लोकतन्त्र भनेकै यही होइन र ? गाउँ-गाउँमा, शहर-शहरमा, घर-घरमा छलफल गरौं न । त्यसले लोतन्त्रलाई बलियै बनाउँछ नि,’ थापाले भने ।

सामाजिक सञ्जालमा आएका उग्र प्रतिक्रियाहरूले नेपाली राजनीति र समाजको यथार्थ चित्र प्रस्तुत गरेको उनले बताए ।

थापाले भने, ‘हामी लोकतन्त्र, लोकतन्त्र भन्छौं । तर, कसैले आफ्नोभन्दा फरक विचार राख्नासाथै उसलाई प्रतिगमनकारीको विल्ला लगाइहाल्छौं । लोकतान्त्रिक समाजको चरित्र यस्तो हुनु नपर्ने हो । कसैले आफूलाई मन परेको कुराजति अग्रगमन, मन नपरेको प्रतिगमन मानेर हुन्छ र ?’

उनले अमेरिकाको उदाहरण दिए, ‘अमेरिकाजस्तो देशमा पनि कम्युनिष्ट पार्टी छ । त्यहाँ कम्युनिष्टहरुले भाषण गर्दा प्रतिगमनकारी भनेर गाली गरिएको सुनिँदैन । हाम्रोजस्तो विभिन्न जाति, भाषा र धर्म भएको बहुल समाजमा यस्तो संस्कार झन् आवश्यक हुन्छ ।’

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा तपाईंको व्यक्तिगत धारणा चाहिँ के हो ? नेपाल प्रेसको यो जिज्ञासामा उनले कुटनीतिक जवाफ दिए ।

उनले भने, ‘पार्टीले लिने मुद्दा तथा विचारहरू समयसापेक्ष हुन्छन् । देशकाल, समय र परिस्थितिअनुसार विचारहरू परिमार्जन गर्दै जानुपर्छ । सधैँ यही ठीक र यही बेठीक हुँदैन । जस्तो २०३६ सालमा जनमत संग्रह भयो र पञ्चायतले जित्यो । तर, त्यसको १० वर्षपछि जनआन्दोलनको बलमा पञ्चायत पराजित भयो । त्यसकारण जनभावना नै सबैभन्दा महत्वपूर्ण कुरा हो । थोरै मान्छेले सामाजिक सञ्जालमा लख्दैमा त्यो जनअभिमत हुँदैन ।’

अध्यक्षको विचार पार्टीमा स्थापित हुन सक्ला त भन्ने प्रश्नमा थापाले जवाफ दिए, ‘सर्वप्रथम त पार्टीमा उहाँले यो प्रस्तावलाई प्रवेश गराउनुभएकै छैन । शुरूमा केन्द्रीय कमिटीमा जानुपर्‍यो, केन्द्रीय कमिटीले महाधिवेसनमा लैजाने निर्णय गर्नुपपर्‍यो, अनि महाधिवेशनबाट पारित हुनुपर्‍यो । त्यसपछि बल्ल पार्टीले अपनत्व लिने हो । अहिलेसम्म यो उहाँको व्यक्तिगत विचार मात्र हो ।’


प्रतिक्रिया

5 thoughts on “रवीन्द्र मिश्रको प्रस्तावबारे किशोर थापाः घरघरमा बहस आवश्यक छ, विचारसँग कोही आत्तिनुपर्दैन

  1. हो नि, विचारसंग डराउन पर्दैन। छलफलले के खराब गर्छ र? छलफल गर्दा मान्छेका हातखुट्टा भाचेर रुखमा झुन्डाउन पर्दैन त!

  2. If the thought brings positive change in the society , in the nation and for the welfare of the citizen
    it should be kindly accepted…

  3. These leaders should come with vision to develop the country after replacing autocratic monarchy. But very sad to say some peoples are already started to think their superiority in the society is gradually deteriorating and they are now prioritising by all means to restores what they think is lost.

  4. यस्ता बिसयमा जनमत गराउन सक्ने राजनैतिक पार्टी हरुको सहमती हुनु जरुरी भैसकेको छ यदि साच्चै नै जनता को अभिमत बुझ्ने हो भने ! एउटा पार्टी ले अर्कालाई दोस लगाउने , यौटाले अर्कालाई दोस लगाउने यहाँ को चलन नौलो हैन ! बिरोध को कुनै औचित्य छैन !

Leave a Reply to परदेशी कान्छो Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर