दोस्रोपटक पार्टी कारबाहीमा परेका जसपाका नेताले भने- अदालतको अवहेलना भयो – Nepal Press

दोस्रोपटक पार्टी कारबाहीमा परेका जसपाका नेताले भने- अदालतको अवहेलना भयो

रूपन्देही । दोस्रोपटक पार्टी कारबाहीमा परेका लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका दुई नेताहरूले अदालतमा रहेको विषयमा कारबाही गरेर अदालतको अवहेलना गरेको बताएका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि बसेको कार्यकारिणी बैठकले मंगलबार पुनः कारबाही गरेको थियो ।

उनीहरूले सर्वोच्चमा किनारा नलागेको विषयमा फेरी पार्टीले कारवाही गर्नुको कुनै अर्थ नहुने बताएका छन् । सर्वोच्चमा मुद्दा चलेको बेला कारवाहीको कुरा उठ्नु भनेको अदालतको अवहेलना भएको उनीहरुको दावी छ।

जसपाको कार्यकारिणी समितिले लुम्बिनीमा मन्त्री भएका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारवाही गर्ने निर्णय गरेको छ। उनीहरूमध्ये मन्त्री पाण्डे सिकिस्त बिरामी परेर अस्पतालमा छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेले सर्वोच्चले सांसद कायमै गरिदिएकाले मुद्दा नटुंगिदासम्म कारवाहीको अर्थ नहुने बताए । ‘अहिले मुद्दा चल्दा चल्दै कारवाही गर्यौ भन्ने के अधिकार हुन्छ उनीहरुको ? यो त अदालतको अवहेलना गरेको हो ।’ पाण्डेले भने ।

सभामुखले कारवाहीको सुचना निकालेमा अवहेलनाको कारवाही भोग्नुपर्ने उनले बताए। वर्तमान प्रधानमन्त्रीजस्तै आफूहरु पनि अदालतको आदेशबाट सांसद रहेको पाण्डेको भनाइ छ ।

त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले कारबाही भनेको प्रचारबाजी मात्र भएको बताए । सूचना टाँसेर होहल्ला र मिडियाबाजी गरेर कारवाही भो भन्ने होला, त्यसको केही अर्थ छैन।’ यादवले भने ।

सोही समूहबाट उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे भने विरामी भएर काठमाडौंमा उपचाररत छन्। उनहरूसँगै राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएर सरकारलाई समर्थन नरहेको बताइसकेकी छन्।

जसपाका संसदीय दलका नेता सहश्रराम यादवले पार्टीको निर्णय विपरीत गएकाले केन्द्रिय कार्यकारिणी समितिबाट कारवाही भएको बताए । यादवले एक दुई दिनभित्रै प्रदेश सभाबाट कारवाहीको सूचना जारी हुने बताए ।

मन्त्री भएका ३ जनालाई कारवाही भएमा प्रदेश सभा ८० सदस्यीयमा झर्नेछ । मुख्यमन्त्रीको पक्षमा एमालेसँग ३९ सांसद मात्र हुनेछन् । नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रसँग १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चासँग १ गरि विपक्षी गठबन्धनसँग ४१ सांसद हुने छन्। आफ्नो पक्षमा बहुमत पुग्ने देखेपछि विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *