अर्थमन्त्री-कोरियाली राजदूत भेट : भाषा परीक्षा पास गरेकालाई काम गर्ने वातावरण बनाइदिन आग्रह – Nepal Press

अर्थमन्त्री-कोरियाली राजदूत भेट : भाषा परीक्षा पास गरेकालाई काम गर्ने वातावरण बनाइदिन आग्रह

काठमाडौं । दक्षिण कोरियाली राजदूत पार्क चोङ सक र अर्थमन्त्री जनार्दन शर्माबीच दक्षिण कोरियाली कामदारका विषयमा भेटवार्ता भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेको जनाइएको छ ।

‘इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु” मन्त्री शर्माले भने ।

जवाफमा राजदूत पार्कले रोकिएको इपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरुको मिहेनत र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।

नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति अर्थमन्त्रीले आभार व्यक्त गरे ।

दक्षिण कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ । कोरियाली लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना गर्दैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ ।

भेटमा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखेका थिए । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर