नेपालमा हवाई भाडा किन यति महंगो ? – Nepal Press

नेपालमा हवाई भाडा किन यति महंगो ?

काठमाडौं । केही दिनअघि पर्यटन बोर्डले विदेशस्थित नेपाली राजदूतहरुसँग पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्न जुम मिटिङ राख्यो । सो मिटिङमा सबै राजदूतले नेपालको हवाई भाडा महंगो रहेकाले पर्याप्त विदेशी पर्यटक ल्याउन समस्या भएको गुनासो गरे ।

भाडा सस्तो भए पर्याप्त पर्यटक नेपाल ल्याउन सकिने उनीहरूको तर्क थियो । नेपालको हवाई भाडा अन्तर्राष्ट्रियरूपमा अत्यन्त महंगो भएको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टले पनि देखाएको छ । सन् २०१८ मा बेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनले नेपालका अन्तर्राष्ट्रिय र राष्ट्रिय एयरलाइन्सले लिने भाडादर विश्वकै महंगो भएको उल्लेख गरेको थियो । त्यसयता हवाई भाडासम्बन्धी अध्ययन हुन सकेको छैन ।

रोमेटुरीओले गरेको अध्ययन प्रतिवेदनमा नेपालका एयरलाइन्सका साथै यति र बुद्धले लिएको भाडा पनि अत्यन्त महंगो भएको उल्लेख छ । रोमेटुरीओले यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरिकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरिकन डलर बराबरको भाडा लिएको बताएको थियो । यो भाडादर तीन वर्षदेखि परिवर्तन नभएको नेपाल वायुसेवा सञ्चालक संघले नै जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रु भाडादर अन्य मुलुकको तुलनामा निकै महंगो रहेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेल स्वीकार्छन् । उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘नेपालको हवाई भाडा अत्यन्त महंगो हुनुमा केही कुराले प्रभाव पारेको छ ।’

अन्तर्राष्ट्रिय र राष्ट्रिय हवाई भाडा चर्को हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिने सेवाकर शुल्क, उच्च इन्धन मूल्य लागत, लामो दूरीमा साना एयरलाइन्स उडान, हवाई ट्राफिक हुँदा लामो समय आकासमा चक्कर लगाउनु पर्ने बाध्यता लगायतका विभिन्न कारण रहेका छन् । नेपालमा अपरेसन कस्ट र हवाई इन्धन अत्यन्त महंगो भएका कारण अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनी अत्यन्त कम संख्यामा आउने गरेका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्स नेपालमा कम आउँदा एयरपोर्टको आम्दानी पनि घट्छ ।

आम्दानी कम भएका कारण जानीजानी ग्राउण्ड ह्यान्डलिङ गर्ने कम्पनी तथा नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीलाई दिने सेवाको मंहगो शुल्क लिनु पर्ने बाध्यता रहेको बताउँछन् प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री । नेपालको ग्राउण्ड ह्यान्डलिङ, पार्किङ र ल्याण्डिङ शुल्क दक्षिण एसियाली मुलुकको विमानस्थलको भन्दा महंगो रहेको स्वयम् उड्डयन प्राधिकरण पनि स्वीकार गर्छ । प्रवक्ता क्षेत्रीका अनुसार नेपालमा कम मात्रामा अन्तर्राष्ट्रिय हवाई उडान हुने भएकाले पनि एयरपोर्टको अपरेसन लागत महंगो हुन गएको हो ।

नेपालको आन्तरिक उडानमा भने हवाई कम्पनीले सबै खर्च जोडेर हुने रकममा अधिकतम २० प्रतिशत शुल्क बढाएर यात्रुसँग भाडा लिन सकिने गरी सरकारले हवाई भाडादर तोकिदिएको छ । नेपालमा सरकारले आन्तरिकतर्फका लागि तीन वर्षयता हवाई भाडा निर्धारण गरेको छैन ।

इन्धनको चर्को मूल्य

हवाई यातायातमा सबैभन्दा बढी खर्च हुने अर्को स्रोत भनेको इन्धन हो । नेपालमा हवाई यातायातलाई दिइने हवाई इन्धन दक्षिण एसियामा नै सबैभन्दा महंगो भएको वायुसेवा सञ्चालक संघले बताइरहेको छ ।

संघका प्रवक्ता योगराज कँडेलका अनुसार नेपाल आयल निगमबाट लिइने हवाई इन्धनको मूल्य अत्यन्त महंगो छ । महंगो इन्धन चार्जका कारण स्वतः त्यसको असर यात्रु भाडा दरमा पर्ने उनले बताए । आयल निगमले तोकेको हवाई इन्धन महंगो भएका कारण नै अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले नेपालमा अत्यन्त कम मात्रामा इन्धन भर्ने गरेका छन् ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा पर्यटन व्यवसायी र वायुसेवा सञ्चालक संघ र नेपाल एयरलाइन्सले हवाई इन्धन भाडा अत्यन्त महंगो भएको भन्दै घटाउन माग गरेका थिए । आयल निगमले हवाई कम्पनीसँग लिँदै आएको तेलको मूल्यका कारण नेपाली वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग प्रतिस्पर्धासमेत गर्न नसकेको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले बताएका थिए ।

नेपालको हवाई इन्धन महंगो भएको चारैतिरबाट आवाज उठेपछि गत असारमा नेपाल आयल निगमले कोरोना अवधिभरका लागि भन्दै अधिकतम १५ प्रतिशत नाफा राखेर हवाइ मूल्य घटाएको छ । निगमले यसअघि ४० देखि ७० प्रतिशतसम्म नाफा राखेर हवाई इन्धन बिक्री-वितरण गर्दै आएको थियो ।

पर्यटन मन्त्रालयको समन्वयमा आयल निगमले हवाई इन्धनको मूल्य घटाए पनि सधैँका लागि घटाएको होइन । हवाई इन्धनबाट आएको नाफाबाट आयल निगमले एलपी ग्यासको नोक्सानी परिपूर्ति गर्ने गरेको बताएको छ । तर, अहिले निगमको घाटा मासिक एक अर्ब भइरहेको अवस्थामा हवाई इन्धनबाट मात्र नाफा लिनु उचित नभएको भन्दै हवाई भाडा घटाएको बताउँछन् आयल निगमका प्रवत्ता विनितमणी उपाध्याय । उनका अनुसार अहिले हवाई इन्धनबाट मासिक ३ करोड रुपैयाँ नाफा रहेको छ । हवाई इन्धनले आयल निगमको कुल नाफामा ठूलो योगदान नपुर्‍याएका कारण हवाई भाडा घटाइएको उनको भनाइ छ ।

गत असार २३ गते अघि निगमले हवाई इन्धनमा प्रति किलो लिटर ८९३ अमेरिकी डलर लिंदै आएकोमा अहिले प्रति किलो लिटर ७१५ अमेरिकी डलर कायम गरेको छ । तर, यो घटाएको मूल्य पर्याप्त नभएको सम्बन्धित निकायले बताउँदै आएका छन् । यदि आयल निगमले हवाई इन्धन सस्तो गर्ने हो भने नेपाल एयरलाइन्सको अहिले भइरहेको घाटामा पनि फरक आउने बताउँछन् निगमका महाप्रबन्धक पौडेल ।

नेपालको हवाई इन्धन अन्तर्राष्ट्रिय मूल्यभन्दा अत्यन्त महंगो भएपछि कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले नेपालमा इन्धन भर्ने गर्दैनन् । ठूला जहाजले नेपालमा इन्धन भर्नुको सट्टा आफ्नै देशबाट इन्धन लिएर आउने गरेका छन् । एउटा जहाज उडाउँदा उसको मुख्य लागत खर्चमा इन्धन नै पहिला आउने भएकाले पनि मंहगो इन्धन नभर्ने बताउँछन् थाई एयरलाइन्सका कर्मचारी ।

विदेशी पर्यटकलाई असर

२०२० मा नेपालमा २० लाख पर्यटन ल्याउने सरकारको तयारी भइरहेको बेला विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले नेपालको हवाई इन्धनको मूल्य सस्तो हुनुपर्ने माग राखेका थिए ।

नेपालमा अधिक संख्यामा विदेशी पर्यटक भित्र्याउनका लागि भाडा घटाउनुपर्ने उनीहरूको भनाइ थियो । हवाई इन्धनलगायत एयरपोर्टको अपरेसन कष्ट महंगो भएपछि त्यसको प्रत्यक्ष असर यात्रु भाडा दरमा पर्छ । हवाई कम्पनीको सबै खर्च यात्रुले नै बोक्नुपर्ने भएपछि स्वतः हवाई भाडा महंगो हुनेगर्छ ।

हवाई विज्ञका अनुसार विदेशी ठूला कम्पनीले पनि यात्रुलाई कम मूल्यमा नै यात्रा गराउन चाहन्छन् । यदि नेपालले पनि अन्तराष्ट्रिय उडान भर्ने कम्पनीलाई सर्वसुलभ कर तथा इन्धन मूल्य सस्तो गर्ने हो भने नेपालमा पर्यटकको कमी नहुने बताउँछन् पर्यटन व्यवसायी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *