लेटरप्याड दुरुपयोग गरी भ्रम फैलाउनेलाई कारवाही गर्न माओवादीको माग – Nepal Press

लेटरप्याड दुरुपयोग गरी भ्रम फैलाउनेलाई कारवाही गर्न माओवादीको माग

काठमाडौं । पार्टीको छाप र लेटरप्याड प्रयोग गरी अफवाह फैलाउन खोजिएकोमा नेकपा माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर रहेको उक्त पत्रमा एमसीसी कार्यान्वयन गर्ने, अफ्ताव आलम छुटाउन पहल गर्ने, माओवादीका ४९ जना सांसदलाई कुनै न कुनै निकायमा नियुक्ति दिलाउने लगायत छन् ।

तर, माओवादी केन्द्रले ‘५ दलीय गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ’ यस्तो सूचना प्रवाह गरेको बताएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘केही अपराधिक, अराजक एवम् प्रतिगामी तत्वहरुले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लेटर प्याड, पार्टीको छाप र अध्यक्ष कमरेड प्रचण्डको नक्कली हस्ताक्षर राखी सिंगो पार्टी पंक्ति, ५ दलीय गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल विस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको छ ।’

यस्तो झुठो प्रचारको भ्रममा नपर्न आग्रह गर्दै माओवादी केन्द्रले अनुसन्धान गरी कडा कारवाहीको माग गरेको छ । ‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरू र आम जनसमयुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरु माथि यथाशीघ्र अनुसन्धान गरी कडा कारवाहीको माग गर्दछौं ।’

यस्तो छ माओवादीको नाममा निकालिएको विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *