अमेरिकी विदेशमन्त्री दिल्लीमा : मोदीलाई भेटेपछि आजै संयुक्त पत्रकार सम्मेलन हुँदै – Nepal Press

अमेरिकी विदेशमन्त्री दिल्लीमा : मोदीलाई भेटेपछि आजै संयुक्त पत्रकार सम्मेलन हुँदै

दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन पहिलो भारत भ्रमणको सिलसिलामा आज दिल्ली पुगेका छन् । जहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।

ब्लिंकेनले भ्रमणको पहिलो दिन निर्वासित तिब्बती नेताहरुलाई भेटेका छन् । दलाई लामा निकट बौद्ध भिक्षु गेसे दोर्जी दाम्दुल लगायतलाई भेटेर उनले चीनलार्ई सन्देश दिने प्रयास गरे ।

लगत्तै उनले भारतीय नागरिक समाजका प्रतिनिधिसँग पनि भेट गर्दै लोकतन्त्र कहिलेकाहिँ खराब हुने र कहिलेकाहिँ दुःखदायी हुने समेत बताएका छन् ।

आजै भारतीय समकक्षी जयशंकरसँग द्धिपक्षीय चासोका विषयमा छलफल हुने जनाइएको छ । अपरान्ह जयंशकर र ब्लिंकेनले संयुक्त पत्रकार सम्मेलन समेत गर्नेछन् ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत भ्रमणका क्रममा ब्लिंकेनले मोदी र जयशंकरसँग कोभिड-१९ महामारी रोकथाम, इन्डो-प्यासिफिक इन्गेजमेन्ट, क्षेत्रीय सुरक्षा, लोकतान्त्रिक मूल्य र जलवायु परिवर्तनबारे छलफल गर्ने जनाएको छ ।

बुधबार बेलुका ब्लिंकेन कुवेत भ्रमणमा निस्कने कार्यक्रम छ । मंगलबार बेलुका भारत टेक्नेवित्तिकै उनले नेपाली प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गर्दै बधाई तथा शुभकामना दिएका थिए । दुई नेताबीच १० मिनेट संवाद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर