भाइरल ज्वरोको बिरामी बढे, भरिन थाल्याे अस्पतालकाे बेड – Nepal Press

भाइरल ज्वरोको बिरामी बढे, भरिन थाल्याे अस्पतालकाे बेड

महोत्तरी । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको हो ।

उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । उनका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय-समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा. साहले बताए ।

उनले मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए ।

यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन डा साहले सबैलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *